नेभिगेशन
राजनीति

माओवादी र सत्तापक्षबीच सहमति, रास्वपाको नाराबाजीकै बीच संसद सञ्चालन

​भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग सहमति गरे पनि विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध जारी राखेका छन् ।

शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले वेल घेरेर नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् । 

माओवादी केन्द्र र सत्तापक्षबीच भने संसद बैठक सञ्चालन गर्ने विषयमा दुई बुँदे सहमति भएको छ । जसमा भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनलाई सरकारले सहयोग गर्ने उल्लेख छ । 

त्यस्तै अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिवद्धता सरकारले गर्ने सहमति भएको छ ।

Mao-uml-sahamati-1749815701.jpg
 

तर राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले यो सहमति मानेका छैनन् । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले आफूहरुको आन्दोलन जारी रहेको बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा राजीनामा दिनु गृहमन्त्रीको नैतिकताको विषय मात्र नभई राष्ट्रकै प्रतिष्ठाको विषय भएको बताए ।

प्रमुख प्रतिपक्षी दलसँग सहमति भएपछि रास्वपा र राप्रपाको विरोधका बाबजुद प्रतिनिधि सभा बैठक सञ्चालन गरिएको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका छन् ।

गृहमन्त्री रमेश लेखकले बोलुन्जेल राप्रपा सांसदहरु आफ्नो सिटमा उठिरहे । रास्वपा सांसदहरुले भने वेल घेरेर नाराबाजी गरिरहे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति