नेभिगेशन
राजनीति

संसदीय समितिमा रमिता, टेबल ठोकाठोक र बाझाबाझ

संसद मात्र होइन, संसदीय समितिमा पनि बहस, छलफल हुनु स्वभाविक हो । 

सामान्यतया संसदीय समितिमा सांसदहरु दलगत रुपमा त प्रस्तुत हुँदैनन्, तर उनीहरु दलको प्रतिनिधि भएकाले दलगत धारणाको छनक आउनुलाई अस्वभाविक मानिँदैन । 
तर कुनै सांसदले आफू बाहेक सबै सांसद निरीह र लाचार हुन् भनेपछि के होला ? 

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा त्यही भयो । सांसदहरुले टेबल ठोकाठोक गरे, बाझाबाझ गरे । अझ भनौं, राम्रै रमिता देखाए । 

समितिले बुधबार श्रम सम्झौता भएको यूएईमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाबारे छलफल राखेको थियो । 

बैठकमा सांसदहरु पालैपालो बोलिरहेका थिए । जब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको पालो आयो, उनले अहिले चर्चामा रहेको भिजिट भिसा प्रकरणको विषय उठाए । 

भिजिट भिसाबाट पठाउने र प्रिपेड घुस लिने गरेको विषय भएकाले सांसद पराजुलीले यसलाई जोड्नु स्वभाविक थियो । 

तर बोल्ने क्रममा उनले समितिमै भएका सांसदहरुमाथि प्रश्न उठाए । राज्यका सबै निकाय मिलेर जनतालाई ठग्ने काम गर्दै गर्दा चुप लागेर बस्नुपर्ने, अनि जनताप्रति उत्तरदायी छौं भन्ने ? उनले सांसदहरुलाई प्रश्न गरे ।

उनले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिनको मुद्दा रास्वपाको मात्र हो भनेर प्रश्न गरे । यो मुद्दामा अरु सांसद दलको अगाडि निरिह भएको भनेर आरोपित गरे । 

त्यसपछि सत्तारुढ नेपाली कांग्रेसका सांसद राजु थापाले छलफल विषयवस्तुभन्दा बाहिर गएको भन्दै प्रश्न उठाए । तर पुराजुली रोकिएनन् । त्यसपछि भने विवाद बढ्यो । 

अरु सांसदहरुले पनि पराजुलीमाथि प्रश्न उठाए । तर पुराजुलीले आफ्नो समयमा बोल्न पाउनुपर्ने भन्दै जंगिए । 

सभापति अब्दुल खानले कार्यसूचीका विषयवस्तुमा रहेर धारणा राख्न आग्रह गरे । तर सांसद पराजुलीले आफूले समयभित्र आफ्ना कुरा राख्दा अरुलाई किन आपत्ति भन्दै स्पष्टीकरण खोजे । त्यसपछि कांग्रेस सांसद थापाले निरीह भनेकामा आफूहरुको आपत्ति रहेको बताए । र, यो शब्द रेकर्डबाट हटाउन माग गरे । 

पराजुलीको सामुन्नेमा रहेका एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठ पनि जंगिए । भिजिट भिसाको विषयमा रास्वपाले मात्र विरोध गरेको छ ? भन्दै उनले टेबल ठोके । 

रास्वपा सांसद गणेश रोकिएनन् । उनी उच्च स्तरीय छानबिनका लागि तयार हुनुहुन्छ त भनेर कराइरहे । अरु सांसदहरु पनि बोलेकाले बैठक कोलाहलपूर्ण भयो । 

त्यसपछि समिति सभापति खानले रोके । विषय भन्दा बहिर गएर बोलेकाले यस विषयमा छानबिन गर्ने बताए । तर फेरि माओवादी र अरु दलका सांसदहरु सभापति खानमाथि खनिए । केको छानबिन समिति ? भनेर प्रश्न गरे । 

सभापति खानले सांसद पराजुलीले बोलेको विषयमा अरुको आपत्ति रहेकाले छानबिन गरौं भनेको बताए । तर पराजुलीले प्रतिवाद गरे । उनले मानव तस्करीका विषयमा छानबिन गर्ने कि आफूले बोलेको विषयमा भनेर सभापतिलाई प्रश्न गरे । 

जवाफमा सभापति खानले बढी नबोल्न आग्रह गरे । समितिमा पार्टीगत कुरा नराख्न आग्रह गरे । विवाद भएको विषयमा के गर्ने भनेर उपसमितिमा छलफल गर्ने भन्दै आफूलाई सच्याए । तर रास्वपा सांसद पराजुलीले रोकिने छाँट देखाएनन् । उनले छानबिन समिति बनाउने भनेर सभापतिले बोलेको विषय फिर्ता लिनुपर्ने बताए ।

त्यसपछि भने सबै सांसद पराजुलीमाथि खनिए । उनी आफू र आफ्नो दल मात्र ठीक, अरु सबै गलत भन्ने जसरी प्रस्तुत भएको भन्दै विरोध जनाए । अरुलाई मनपरी नबोेल्न आग्रह गरे । माओवादी सांसद सूर्यमान दोङले अब पराजुलीलाई बोल्न दिने हो भने आफूहरु सबै बैठक छाडेर जाने चेतावनी दिए । 

एकीकृत समाजवादीका सांसद श्रेठले पनि प्रतिवाद गरे । त्यति हुँदा पनि रास्वपाका सांसद पराजुलीले रोकिने छाँट देखाएनन् । उनले भिजिट भिसाको विषयमा छानबिन गर्न समिति बनाउन प्रस्ताव गरे । अरुले संसदमा छलफल भइरहेको विषय ल्याएर समिति बैठक नबिथोल्न आग्रह गरे । 

त्यसपछि भने उनी शान्त भए । सभापतिले एक मिनेट समय दिए, उनले बाँकी कुरा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति