संसदमा रास्वपाको 'निलो क्रान्ति'
भिटिज भिसा प्ररकण सार्वजनिक भएदेखि नै रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिन समितिलाई बटमलाइन बनाएको छ ।
माओवादीले साथ दिँदासम्म संसद बैठक अवरुद्ध भयो । तर माओवादी र सत्तारुढ दलहरुबीच दुई बुँदे सहमति भएपछि सभामुख देवराज घिमिरेले पेलेरै बैठक चलाउन थाले ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आन्दोलनका क्रममा सांसदहरुलाई निश्चित जिम्मेवारी दिएको छ ।
प्रमुख दलहरुसँग सम्वादको जिम्मा कार्यबाहक सभापति डीपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई दिइएको छ । संसदमै भएका अरु दलसँग छलफल गर्ने जिम्मा प्रमुख सचेतक सन्तोष परियार र सांसद शिशिर खनाललाई दिइएको छ ।
कसैलाई लजिस्टिक त कसैलाई फ्लोर लिड गर्ने जिम्मेवारी दिइएको छ । संसद बैठक अगाडि र पछाडि बैठक बसेर समीक्षा पनि हुन्छ ।
मंगलबारको संसद बैठक अगाडि पनि रास्वपा सांसदहरु यसरी नै छलफलमा जुटेका थिए । त्यसक्रममा निलो रिबन लगाएर संसदमा जाने विषय उठ्यो । रास्वपाले आफ्नो राजनीतिक उपस्थितिलाई निलो क्रान्ति भन्दै आएको छ । त्यसलाई संसदमा प्रतिकात्मक रुपमा देखाउन निलो रिबन लगाए के हुन्छ भन्ने छलफल भयो ।
त्यसमा डा. तोसिमा कार्कीले निलो रिबन त मानव तस्करीविरुद्ध अन्तर्राष्ट्रिय रुपमा नै प्रयोग हुने जानकारी गराइन् । उनका अनुसार संयुक्त राष्ट्रसंघले २५ वर्ष अगाडि नै निलो रिबनलाई मानव तस्करीविरुद्ध प्रयोग गर्ने निर्णय गरेको थियो ।
रास्वपाले भिजिट भिसा प्रकरणलाई मानव तस्करी नै भन्ने गरेको छ । एकातिर पार्टीले झण्डामा प्रयोग गर्दै आएको रंग, अर्कोतिर मानव तस्करीविरुद्ध पनि प्रयोग हुने भएपछि रास्वपा सांसदहरु निलो रिबन लगाएर संसद भवनमा जाने तयारीमा जुटे ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार मंगलबार संसदमा निलो रिबन लगाएर वेलमा जाने, तर नाराबाजी नगर्ने रणनीति थियो ।
किनकी मंगलबार नागरिकता र निजामती विधेयक पेश गर्ने कार्यसूची थियो । यसबेला नारा लगाउँदा सत्तारुढ दलहरुले नागरिकता विधेयक नै रोक्न खोजेको आरोप लगाउन सक्थे ।
पूर्व योजना अनुसार रास्वपाका सबै सांसद निलो रिबन लगाएर संसद भवन पुगे । बैठकमा प्रवेश गर्नु अगाडि संसद भवन अगाडि उभिएर सामूहिक तस्वीर खिचे । अनि, संसद बैठक कक्षतिर लागे ।
बैठक सुरु हुनासाथ रास्वपा सांसदहरु उभिए । सभामुखले बोल्न समय दिए । डा. चन्दा कार्कीले गृहमन्त्रीको राजीनामा मागिन्, संसदीय वा न्यायिक छानबिन समिति बनाउनुपर्ने माग गरिन् ।
त्यसपछि सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिए । रास्वपा सांसदहरु भने नाराबाजी गर्दै वेल घेराउ गर्न गए ।
घिमिरेले भने रास्वपा सांसदहरुले घाँटीमा भिरेको निलो रिबनमाथि प्रश्न उठाए । संसदमा मर्यादित पोशाक लगाउनुपर्ने र नलगाउनेलाई बैठक कक्षबाट निष्कासन गर्नुपर्ने संसद नियमावलीको व्यवस्था स्मरण गराए ।
कांग्रेसका सांसदले आफूहरुमाथि प्रश्न उठाएपछि रास्वपा सांसदहरु मौन बस्न सकेनन् । उनीहरुले पनि नाराबाजी जारी राखे ।
त्यसपछि सभामुखले बैठक स्थगित गरे । आधा घन्टाका लागि भनेर स्थगित गरिएको संसद सूचना टाँसेर पर्सि मात्र बस्ने गरी स्थगित भयो ।
रास्वपा कार्यबाहक प्रवक्ता झा भने आफूहरुको विरोधका कारण मात्र संसद अवरुद्ध नभएको बताउँछन् । उनको दाबी छ कि जलस्रोत विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णयले सत्तारुढ दलहरुमा विवाद आएको छ ।
नागरिकता विधेयकमा पनि विवाद भएकाले आपसी सहमति खोज्न सत्तारुढ दलहरुले नै संसद रोकेका छन् । रास्वपाको विरोधलाई बहाना मात्र बनाएका हुन् ।
-1754133271.jpg)
रेशम चौधरीको महत्वाकांक्षाले पार्टी नै तहसनहस

शेखरको मुभ कत्तिको परिपक्व ?

बागमतीमा लामाले मुख्यमन्त्री नछाडे के हुन्छ ?

मुख्यमन्त्रीलाई हराउँदै दल नेता बने बानियाँ

बागमतीका मुख्यमन्त्रीले गुमाए पार्टीभित्रै बहुमत
