नेभिगेशन
राजनीति
कांग्रेस सांसदको आक्रोश

‘०८४ मा प्रकाशमान र विष्णु पौडेलले चुनाव नजितुन्’

बजेटमाथिको छलफलका क्रममा आइतबार कांग्रेस सांसद कान्छाराम तामाङ उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलप्रति आक्रोशित देखिए । 

रामेछापबाट निर्वाचित सांसद तामाङले आफ्नै पार्टीका नेता सिंहले सम्हालेको शहरी विकास मन्त्रालयको बजेटमाथि छलफलमा भाग लिएका थिए । 

त्यस क्रममा उनले शहरी विकास मन्त्रालयले काठमाडौंमा मात्र ३ करोड भन्दा माथिका २०७ योजना राखेको र रुपन्देहीमा ७९ वटा राखेकामा आपत्ति जनाए । 

‘शहरी विकास मन्त्री र अर्थमन्त्रीको मितको चिनो साटेको हो ? अरु ७७ जिल्लामा माननीय जितेको छैन ? ११० वटा समानुपातिक सांसद छैन ? के क्याल्कुलेसन गर्नुभएको छ ? यही हो राज्य चलाउने तरिका ? चल्छ राजनीति ?’ उनले दुबै उपप्रधानमन्त्रीमाथि प्रश्न उठाए । 

काठमाडौं उपप्रधानमन्त्री सिंहको जिल्ला हो भने रुपन्देही अर्का उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको जिल्ला हो । उनले बजेटजति आफ्नो क्षेत्रमा केन्द्रित गरेको भन्दै उपप्रधानमन्त्रीमाथि आक्रोश पोखेका थिए  ।

‘तपाईहरु मात्र अघाउनुपर्ने, तपाईंहरुलाई मात्र चुनाव जित्नुपर्ने ? तपाईंहरुलाई मन्त्री हुनुपर्ने ? व्यवहारिकता भन्ने कुरा तलदेखि माथिदेखि हुनुपर्छ ।’  

दुबै उपप्रधानमन्त्रीले मन्त्रिपरिषदमा ३ करोड भन्दा साना योजना नराख्ने भनेको पनि उनले स्मरण गराए । तर काठमाडौंमा मात्र २ करोडसम्मका १५० योजना राखेको सांसद तामाङले बताए ।

‘डेढ लाख–दुई लाखको योजना के आधारमा राख्नुभयो ? के तपाईंको जिल्लालाई मात्र बजेट लान खोजेको हो ? यहाँहरुले देश बनाउन सक्नुहुन्न जस्तो लाग्छ’, सांसद तामाङले भने । 

सांसद तामाङ अर्थमन्त्री पौडेल भन्दा आफ्नै दलका नेता तथा शहरी विकास मन्त्री सिंहप्रति बढी आक्रोशित थिए । उनले आफूले शहरी विकासको बजेटबारे कांग्रेस संसदीय दलको बैठकमा कुरा राख्न खोजेको तर बैठक नबोलाएका कारण संसदमै राखेको बताए । 

उनले प्रकाशमान सिंहका बाबु गणेशमानलाई सम्झिए । २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पद अस्वीकार गर्ने नेताको छोरा भन्दै प्रकाशमानलाई सोधे, ‘तपाई के हुनुहुन्छ ? कहाँ जानुहुन्छ राजनीतिमा अब ? 

उनले पार्टीको १५ औं महाधिवेशन आउन लागेको भन्दै प्रकाशमानलाई चेतावनी दिए । ‘नारा जुलुस गरिदियो भने कहाँ पुग्छ तपाईंको इज्जत ?’,उनले सोधे । 

तामाङले अगाडि भने, ‘तपाईं प्रधानमन्त्री होला, पार्टी सभापति होला भन्ने आशा गरेको थिएँ । यो तरिकाले देश चल्दैन, डुब्छ, डुबिसक्यो कांग्रेस ।’ 

कांग्रेस–एमालेको यस्तै व्यवहारले गर्दा अहिले जनमत नयाँ राजनीतिक दलतिर गइरहेको उनले बताए । ‘६ महिनाअघि दर्ता गरेको पार्टीले आज २२ वटा सिट जितेको छ । भोलि तपाईहरु जस्ताले गर्दा कांग्रेस एमाले र माओवादी छुटेर अर्कोले फाइदा लिन सक्छ ।’ 

दुबै उपप्रधानमन्त्रीलाई उनले आआफ्नो क्षेत्रमा झिनो मतान्तरले मात्र जितेको कुरा सम्झिन आग्रह गरे । 

उनले २०८४ को चुनावबाट दुबै उपप्रधानमन्त्रीले सांसद निर्वाचित नहोउन् भनेर पशुपतिनाथ र बुद्धको प्रार्थना पनि गरे । उनले अन्तिममा भने, ‘०८४ को चुनावमा यी दुईटै उपपधानमन्त्री यो हाउसमा नआओस्  भन्ने प्रार्थना गर्दै बिदा हुन्छु धन्यवाद ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति