नेभिगेशन
राजनीति
भिजिट भिसा प्रकरण

व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिए कांग्रेस र रास्वपा सांसद 

भिजिट भिसा प्रकरणमा आमने सामना भएका कांग्रेस र रास्वपाका सांसदहरु व्यक्तिगत आरोप प्रत्यारोपमै उत्रिएका छन् । एकअर्कालाई चोर भन्न समेत पछि परेनन् । 

विवाद हो, कांग्रेस सांसद रामहरि खतिवडा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको ।

खतिवडाले सांसद अर्यालको ट्राभल एजेन्सीले भिजिट भिसाका नाममा जापानमा मान्छे पठाएर अर्बौं पैसा लिएको आरोप लगाएका छन् । अर्यालले भने प्रमाणित गर्न चुनौती मात्र दिएका छैनन्, खतिवडामाथि भिजिट भिसाका आरोपीहरु जोगाउन लागेको आरोप पनि लगाएका छन् । 

यसको सुरुवात शनिबार भएको थियो । अरु बैठकमा जस्तै शनिबार पनि रास्वपा सांसदहरु वेल घेराउ गरिरहेका थिए । 

कांग्रेस सांसद रामहरि खतिवडाले सुमिरे टुर्स एण्ड ट्राभल्स कम्पनीले १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएको आरोप लगाए । त्यही पैसाको बलमा सांसद पद किनेको समेत उनको आरोप थियो । 

खतिवडाको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालप्रति लक्षित थियो । 

खतिवडाको आरोपको जवाफ आइतबारको संसद बैठकमा अर्यालले दिए । संसद बैठकको सुरुमै बोलेका अर्यालले खतिवडाले नाम लिएको सुमिरे टुर्स एण्ड ट्राभल्स कम्पनी आफ्नो भएको स्वीकार गरे । तर आफ्नो कम्पनीले जापानमा भिजिट भिसामा मान्छे नपठाएको दाबी गरे । 

सुमिरे टुर्स एण्ड ट्राभल्सबाट हालसम्म एक जना मात्र भिजिट भिसामा विदेश गएको भन्दै उनले ती व्यक्ति नेपाल नफर्केको प्रमाण पेश गर्न खतिवडालाई चुनौती दिए । 

अर्यालले आफूमाथि लागेको आरोपको खण्डनमात्र गरेनन्, खतिवडामाथि काउन्टर आरोप समेत लगाए । उनले नाम नतोकी विगतमा मन्त्रीको पीए हुँदा सरकारी कागजात कीर्ते गरेर  मान्छे विदेश पठाएको र प्रहरी हिरासतमा बसेकाहरु अहिले सांसद भएर आएको टिप्पणी गरे । 

अनि भिजिट भिसाका नाममा अपचलन भएको पैसाबाट सचिवालय चलाएको र आफ्नो जिल्लाको कर्मचारी बचाउन खोजेको आरोप लगाए । 

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेका अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई खतिवडाको गृहजिल्ला ओखलढुंगाका हुन् ।

अर्याल बोल्दा बोल्दै खतिवडा उठेका थिए । तर सभामुखले उनलाई बोल्न समय दिएनन् । अर्यालले बोलिसकेपछि उनले समय पाए । 

खतिवडाले अदालतबाट निर्दोष प्रमाणित भएर आफू संसदमा आएको बताए । दोषी भएकाहरुले संसदमा ठूलो स्वरमा कराएकोमा आपत्ति रहेको बताए र, छानबिनका लागि चुनौती दिए । 

रास्वपाका सांसद अर्यालतर्फ लक्षित गर्दै २०९ वटा म्यानपावर कम्पनीलाई अवैध रुपमा सञ्चालन गर्न अनुमति दिएको कुन श्रममन्त्रीले हो भनेर छानबिन गर्न माग गरे । 

यसरी कांग्रेस र रास्वपा सांसद एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएपछि सभामुखले रुलिङ गरेका छन् ।

देवराज घिमिरेले जथाभावी नबोल्न र आफूले बोलेका कुराप्रति जवाफदेही हुन आइतबार रुलिङ गरेका हुन् । 

सांसदहरु एकले अर्कालाई लाञ्छना लगाउने र नाम किटेर आरोप लगाएमा रेकर्डबाट हटाउने गरेको पनि उनले सम्झिए । तर यसो भन्दैमा सबै कुरा सभामुखबाट छिनोफानो गराउने गरी जथाभावी नबोल्न पनि उनले रुलिङ गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति