नेभिगेशन
राजनीति

रामहरिको सभापति पद संकटमा, विपक्षीले मागे राजीनामा

कुलिङ अफ पिरियडमा छलछाम भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा विवादमा तानिएका छन् । 

प्रमुख प्रतिपक्षी माओवादीले उनको राजीनामा मागेको छ भने सत्तारुढ एमालेका नेताहरुले पनि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

भएको के हो भने संसदको राज्य व्यवस्था समितिले निजामती कर्मचारीका लागि अवकाश वा राजीनामापछि २ वर्षसम्म संवैधानिक र कूटनीतिक नियुक्ति लिन नपाउने गरी संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियड राख्ने सहमति गरेको थियो । त्यसपछि समितिको प्रतिवेदन प्रतिनिधिसभामा गयो र प्रतिनिधिसभाबाट पनि पास भयो ।

तर मुल विधेयकमा भएको अर्को उपदफाले कुलिङ अफ पिरियड नाम मात्रको हुने अवस्था आएको खुल्यो । यसबारे छलफल गर्न मंगलबार सभामुखले समितिका सदस्यहरुका साथै प्रमुख दलका नेताहरुलाई समेत बोलाएका थिए ।

बैठकमा माओवादी नेताहरुले समिति सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन् । खतिवडासँगै समितिका सचिवले राजीनामा दिएपछि मात्र राज्य व्यवस्था समितिको बैठक बस्नसक्ने माओवादी सांसदहरु बताउँछन् ।

माओवादी केन्द्रका सांसद जनार्दन शर्माले मुख्य सचिव, सचिव र सहसचिवलाई कुलिङ पिरियड नलाग्ने गरी विधेयक पारित हुनु संसदको उपहास भएको बताए । उनले यसको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए । 

‘यो खालको छलछाम गरेर कानुनमै हेराफेरि हुने अवस्था आयो भने जनताले कसलाई विश्वास गर्ने ?’ उनले प्रश्न गरे । 

छलफलमा सहभागी एमाले सांसद पदम गिरीले पनि सभापति भन्ने शब्द त प्रयोग गरेनन्, तर यसमा संलग्न जो जो छन्, उनीहरुमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । उनले यो विषयमा छानबिन नभएसम्म समितिको बैठक बस्न नहुने बताए । ‘यसमा जिम्मेवार जो जो हुनुहुन्छ, नैतिकताका आधारमा आफ्नो ठाउँ छाड्नुपर्छ’, सांसद गिरीले भने । 

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि यो राज्य विरुद्धको कसुर भएको बताए । उनले अगाडि भने, ‘कानुन अनुसार कारबाही हुनुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति