नेभिगेशन
राजनीति

गृहमन्त्रीले सोधे : रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ? 

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विगतमा भिजिट भिसामा अमेरिका गएको हो कि होइन भनेर प्रश्न उठाएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले आफूले रास्वपा सभापति विगतमा भिजिट भिसामा नै अमेरिका गएको सुनेको भन्दै सत्य कुरा बताइदिन रास्वपा सांसदहरुलाई आग्रह गरेका छन् । 

‘उहाँ भिजिटरका रुपमा अमेरिका गएको हो कि होइन ? निश्चित समय अर्को देश बसेर फर्केर आउने भिसामा जानुभएको होइन भने के भिसामा जानुभएको हो, त्यो जानकारी गराइदिनुहुन आग्रह गर्न चाहन्छु’, मन्त्री लेखकले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता देखिएको आरोप लगाउँदै संसदीय वा न्यायिक छानबिनको माग गर्दै आएका छन् । सरकारले आफूहरुको माग बेवास्ता गरेको भन्दै रास्वपा सांसदहरुले निरन्तर संसद बहिस्कार गर्दै आइरहेको छ । 

यसै सन्दर्भमा गृहमन्त्री लेखकले बुधबार रास्वपामाथि नै प्रश्न उठाएका हुन् । उनले रवि लामिछानेको प्रसंग उठाउँदै भिजिट भिसामै विदेश गएको मान्छे त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्न गरे । 

‘त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ? भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेता कार्यकर्ताले अरुलाई नैतिकताको पाठ पढाउने हो कि होइन’, गृहमन्त्रीले सोधे  । 

उनले रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन भन्ने जवाफ संसदमै दिन पनि रास्वपा सांसदहरुलाई आग्रह गरेका छन् । 

गृहमन्त्री लेखकले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएको टोली सबै नेपाल फर्किएको बताए । प्रधानमन्त्रीको औपचारिक रुपमा विदेश भ्रमण हुँदा प्रतिनिधिमण्डलमा जानेहरुको नाम मन्त्रिपरिषदबाटै अनुमोदन हुने र नाम समेत सार्वजनिक हुने उनले बताए । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोविता गौतमले स्पेनमा प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरु पनि नफर्किएको समाचारहरु आएको बताएकी थिइन् । 

त्यसपछि माओवादी सांसद पूर्णबहादुर घर्तीले पनि प्रधानमन्त्री भिजिट भिसा प्रकरणमा प्रधनमन्त्रीको सचिवालय संलग्न भएको अडियो र भ्रमण टोलीको संख्यामा अनियमितता देखिएको बताएका थिए । 
गृहमन्त्री लेखकले भने कल्पना र अनुमानका भरमा असत्य कुरा गरेको भन्दै आलोचना गरे । 

सोविताले भनिन् : स्पेनको कार्यक्रममा जानेहरु नफर्किएको साँचो हो 

रास्वपा सांसद सोविता गौतमले आफूले प्रधानमन्त्रीको भ्रमण टोलीमाथि प्रश्न नउठाएको बताइन् । आफूले मंगलबारको बैठकमा प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रमको कुरा गरेको भन्दै त्यस कार्यक्रममा गएकाहरु नफर्किएको प्रमाण रहेको दाबी गरिन् । 

‘प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् । त्यो निकै ठूलो कार्यक्रम हो, दशौं हजार मानिस सहभागी भएका थिए । नेपालबाट सयौं मान्छे गएको पनि साँचो हो, केही नफर्किएको पनि साँचो हो’, उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति