नेभिगेशन
राजनीति

ओलीलाई विद्याको सन्देश : अब अध्यक्ष नउठ्नुस्

सक्रिय राजनीतिमा फर्किएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले औपचारिक रुपमा स्वागत गरेको छैन । तर भण्डारीले भने प्रष्ट सन्देश दिएकी छन्, ओलीले अध्यक्ष छाड्नुपर्छ, आफूलाई सर्वसम्मत अध्यक्ष बन्न सघाउनुपर्छ । यदि त्यसो नगर्ने हो भने अध्यक्षमा प्रतिस्पर्धाका लागि तयार रहनू । 

एक वर्ष अगाडि नै एमालेको सदस्यता नवीकरण गरेकी भण्डारीले असार १४ गते मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भने एमाले फर्किएको औपचारिक जानकारी गराएकी थिइन् ।

मदन भण्डारी फाउण्डेसनको संरक्षक भएकाले त्यो कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि निम्त्याइएका थिए । ओलीले आफू बोलेर हिँडे । त्यहाँ पूर्व राष्ट्रपति भण्डारीले आफ्नो कुरा पनि सुनेर जान आग्रह गरेकी थिइन् । तर ओलीले ‘के भन्नुहुन्छ, थाहा छ, केही पड्काउनु हुन्न’ भन्दै हिँडे । 

भण्डारीले पनि आफूले सदस्यता नवीकरण गरेको र एमालेमा फर्किएको बताइन्, कार्यक्रम सकियो । यो बीचमा उनले पूर्व राष्ट्रपतिका रुपमा आफूले लिँदै आएको सुविधा नलिने भनेर गृह मन्त्रालयलाई पत्र लेखिन् । भण्डारीले यसबीचमा विभिन्न दलका नेताहरुलाई पनि भेटेकी छन् । 

असार १४ गते नै स्पेन गएका प्रधानमन्त्री ओली फर्किए, तैपनि भण्डारीलाई के जिम्मेवारी दिने भन्नेबारे एमालेले कुनै निर्णय गरेन । त्यसपछि भण्डारीले एउटा अन्तर्वार्तामार्फत आफ्नो रोडम्याप सार्वजनिक गरेकी छन् । इमेज च्यानलका पत्रकार जगदिश खरेललाई दिएको अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रष्ट शब्दमा तीन सन्देश दिएकी छन् । 

अब कक्षा दोहोर्‍याउने होइन 

एमाले अध्यक्ष ओली सार्वजनिक मञ्चहरुमा बोल्दा आफूले कक्षा नदोहोर्‍याउने बताउने गरेका छन् । 

एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष चुनिएका ओली दशौं महाधिवेशनबाट अध्यक्ष भए । अब ११औं महाधिवेशबाट पनि उनी नै अध्यक्ष हुने नेताहरुले बताउने गरेका छन् ।

तर एमालेमा फर्किएकी पूर्व राष्ट्रपति भण्डारीले कक्षा दोहोरिन्न भनेको स्मरण गराइन् । माधव नेपालहरुले पार्टी छोडेर हिँडेकाले विशेष परिस्थितिमा कक्षा दोहोर्‍याउनु परेको भन्दै उनले भनिन्, ‘अरु नेताहरुले भने भन्दैमा दोहोर्‍याउने, तेहर्‍याउने मैले चिनेको केपी ओली होइन ।’

सर्वसम्मत अध्यक्ष बन्न सघाउनुस् 

भण्डारीले ओलीलाई अध्यक्ष बन्ने चाह नराख्न मात्र आग्रह गरिनन्, आफू अध्यक्ष बन्ने लक्ष्यका साथ एमालेको सक्रिय राजनीतिमा फर्किएको बताइन् । 

अब राजनीतिमा आउने भनेको अध्यक्षको रुपमा नेतृत्व दिने हो भन्ने प्रश्नमा भण्डारीले ठीकै बुझ्नुभयो भनेर जवाफ दिइन् । 

अनि आफूले विगतमा पनि अध्यक्ष चाहिँ सर्वसम्मत गरौं भनेर प्रयास गरेको स्मरण गरिन् । भण्डारीको भनाइ छ, ‘भोलिको दिनमा पनि मेरो प्रयास के हुन्छ भने अध्यक्ष चाहिँ सहमतिको आधारमा गरौं ।’

यसको अर्थ अब ओलीले आफूलाई सर्वसम्मत अध्यक्ष बन्न सघाउन् भन्ने उनको प्रष्ट मत छ । 

फेरि अध्यक्ष बन्ने भए म सँग चुनाव लड्न तयार हुनु 

विगतमा झलानाथ खनाल, माधव नेपालहरुसँग पनि प्रतिस्पर्धा भएको स्मरण गर्दै उनले अन्तर्वार्तामा भनेकी छन्, ‘लोकतान्त्रिक प्रक्रियालाई तपाईंरुले सहज रुपमा बुझ्नुपर्छ ।’

नेकपा एमालेले ११ औं महाधिवेशनभन्दा पहिले आगामी भदौमा विधान महाधिवेशन गर्दैछ, जसमा ७० वर्षे उमेर हद र दुई कार्यकालको विषय पेचिलो बन्ने संकेत देखिएको छ । 

यसमध्ये कुनै एक मात्र लागू हुने हो भने पनि ओली अध्यक्षको रेसबाटै बाहिर हुनेछन् । किनकी दशौं महाधिवेशनका बेला नै ओली ७० वर्ष लागिसकेका थिए । उनलाई अठ्यारो परेपछि विधान संशोधन गरेर ७० वर्ष पूरा नभएसम्म भन्ने बनाइएको थियो । 

अनि ओली एमालेको दुई कार्यकाल अध्यक्ष पनि भइसकेका छन् । अन्तर्वार्ताका क्रममा भण्डारीलाई यसबारे पनि सोधिएको थियो । 

यो पटक विधान महाधिवेशनमा आफ्नो सहभागिता नहुने भएकाले खुला बहस नगर्ने बताइन् । तर यसबारे ‘आफ्नो विचार १० वर्ष अगाडि नै भनिसकेको छु’ भन्दै ७० वर्षे उमेर हद र दुई कार्यकालको पक्षमा रहेको सन्देश दिएकी छन् । 

सारमा भन्दा यो अन्तर्वार्ताले प्रष्ट के संकेत गरेको छ भने एमालेमा ओलीको संकट बढ्नेवाला छ । हिजोसम्म उनी निर्विकल्प थिए, अब उनका विकल्पहरु देखिँदै गएका छन् । अहिलेसम्म हेर्दा अब ओलीलाई फेरि अध्यक्ष बन्न सहज देखिँदैन । यसको अर्थ विद्या भण्डारी अब एमालेको अध्यक्ष भइहाल्छिन् भन्न पनि हतार हुनेछ । किनकी ओलीले अन्तिम आवरमा ट्रम्प कार्ड खेल्न पनि सक्छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति