नेभिगेशन
राजनीति
मौद्रिक नीति

घर किन्न ३ करोडसम्म ऋण, शेयर धितोमा २५ करोड

विश्व पौडेल गभर्नर बनेपछि नै धेरैले अनुमान गरेका थिए, अब मौद्रिक व्यवस्थाहरु खुकुलो हुन्छ । अनुमान गरेजस्तै पौडेलले अहिले आर्थिक मन्दीको मार खेपिरहेको निजी क्षेत्रलाई केही राहत दिने गरी आगामी आर्थिक वर्ष २०८२/८३ मौद्रिक नीति ल्याएका छन् । 

गभर्नर पौडेलले अर्थतन्त्र क्रमिक रुपमा लयमा फर्किन थालेकाले अब बैंकमा रहेको लगानीयोग्य रकमको प्रयोग गरेर धेरै लाभ लिनुपर्ने बताएका छन् । 

मौद्रिक नीतिले व्यवसायीदेखि सर्वसाधारणसम्मलाई अघिल्लो वर्ष भन्दा बढी मौद्रिक सुविधा दिएको छ । राष्ट्र बैंकले घरजग्गादेखि सेयर कारोबारसम्मलाई अनुकुल हुने गरी नयाँ व्यवस्थाहरु गरेको छ । 

के के छन् त मौद्रिक नीतिबाट तपाईं हामीले पाउने लाभ ? 

पहिलो– अब घर कर्जा लिन सहज हुनेछ 

हो, अब निजी घर बनाउन वा किन्न ३ करोड रुपैयाँसम्म ऋण पाइनेछ । यसअघि २ करोड रुपैयाँ मात्र ऋण पाइन्थ्यो । पहिलो घर बनाउँदा वा किन्दा बैंकले ८० प्रतिशतसम्म ऋण दिनेछ । पहिलो घर होइन भने ७० प्रतिशत ऋण पाइन्छ । राष्ट्र बैंकको यो नीतिका कारण मुलुकमा घरजग्गा कारोबारमा फेरि सुधार आउन सक्छ । 

दोस्रो–कृषिमा लगानी सजिलो भएको छ 

मौद्रिक नीतिले कृषि उद्यममा लगानी गर्न सजिलो बनाएको छ । अब बैंकहरुले कृषि उत्पादन, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैंले मूल्यांकन गरेर १० लाखसम्म कृषि वा व्यवसायिक ऋण दिन सक्नेछन् । यो व्यवस्थाले कृषि कार्यको लागि ऋण लिन जाँदा हुने झञ्झट कम गर्नेछ । 

तेस्रो, सेयर धितोमा कर्जाको सीमा बढाउने

मौद्रिक नीतिले शेयर धितो राखेर पाउने ऋणको सीमा पनि बढाएको छ । हालसम्म शेयर धितोमा १५ करोड रुपैयाँसम्म मात्र ऋण पाउन सकिन्छ । अब शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको एकल ग्राहकसीमा २५ करोड रुपैयाँ पुर्‍याइएको छ । यसले शेयर बजारका लगानीकर्तालाई उत्साहित बनाएको छ । 

चौथो, लघुवित्तलाई लाभांश बाँड्न सजिलो 

मौद्रिक नीतिले लघुवित्त वित्तीय संस्थालाई लाभांश बाँड्न पनि सजिलो बनाएको छ । यसअघि लघुवित्तले वार्षिक १५ प्रतिशत भन्दा बढी बोनस बाँड्न नपाउने भनेको थियो । अब त्यसलाई पुनरावलोकन गर्ने भनिएको छ । 

लघुवित्तले विदेश जाने युवालाई विपन्न कर्जा भनेर अब ३ लाख रुपैयाँसम्म ऋण दिन पाउनेछ । महिलालाई भने विपन्न कर्जामा नै ५ लाख रुपैयाँसम्म दिन पाउनेछ । यसले साना ऋणीहरुलाई केही राहत दिने छ । 

पाचौं, विदेश भ्रमण जाँदा लैजान पाउने पैसा बढ्यो 

विदेश जाँदा बैंकबाट तोकिएको सीमासम्म विदेशी मुद्रा साट्न पाइन्छ । विदेशी विनिमय सञ्चिती कम भएपछि सरकारले विदेश भ्रमणमा जानेहरुले २५ सय डलर मात्र लैजान पाउने नियम बनाएको थियो । 

अहिले यसलाई बढाएर ३ हजार डलर पुर्‍याइएको छ । अब विदेश जानेहरुले धेरै खर्च गर्ने सुविधा पाएका छन् । अहिले राष्ट्र बैंकमा विदेशी मुद्रा सञ्चिती पर्याप्त भएकाले सीमा बढाइएको हो । 

छैटौं, ब्याजदर घटाउने नीतिगत व्यवस्था 

हो, मौद्रिक नीतले व्याजदर घटाउने सन्देश पनि दिएको छ । व्याजदरलाई निर्देशित गर्ने ब्याजदर करिडोरका सबै दरहरुलाई घटाइएको छ । मुद्रास्फीति ५ प्रतिशत हुने अनुमान छ ।

नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारिएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमा मानिने बैंकदर पनि ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा कायम गरिएको छ । निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशतमा झरेको छ । 

यी व्यवस्थाहरुले ब्याजदर थप घट्नेछ । यसले बैंकमा पैसा राखेर ब्याज खानेहरुलाई नोक्सान हुनेछ । तर, ऋण लिएर व्यवसाय गर्नेहरुलाई फाइदा हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति