नेभिगेशन
राजनीति

प्रचण्डले सोधे– कहाँ जोडियो फ्लडलाइट ?, ओलीको जवाफ - पोल हेर्न जानुस्

नेपालको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वादविवाद चल्यो । 

क्रिकेट रंगशालाको स्तरोन्नति र फ्लडलाइट जडानको विषयमा प्रचण्डले सोमबार संसदबाट प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भने फेसबुकबाट जवाफ दिए । 

कीर्तिपुरस्थित क्रिकेट मैदानमा अहिले प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम धमाधम भइरहेको छ । यही साउनसम्म सक्ने भनिए पनि काम सकिएको छैन । 

संसदमा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले नै क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढाएको बताए । फ्लडलाइट जडान गर्न ठेक्का लागिसकेको अवस्थामा सरकारबाट बाहिरिनुपरेको बताए ।

अनि ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले ३०० दिनभित्र कीर्तिपुरलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने निर्णय गरेको पनि सम्झिए । त्यसपछि प्रचण्डले ओलीलाई प्रश्न गरे, ‘आज १ वर्षपछि कहाँ जोडियो फ्लडलाइट ? बन्यो त प्याराफिट ?’ 

उनले प्रधानमन्त्रीको घोषणा र अभिव्यक्तिलाई ठूलो बेइमानीको संज्ञा दिए ।

प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने संसद गएनन् । तर प्रचण्डले संसदबाट क्रिकेट रंगशालाबारे उठाएको प्रश्न ओलीले थाहा पाए । अनि फेसबुकबाटै जवाफ दिए । 

उनले प्याराफिट बनिरहेको र फ्लडलाइटको पोल पनि ल्याइसकेको बताए । ओलीले फेसबुकबाट प्रचण्डलाई जवाफ दिए, ‘बनिरहेको प्याराफिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’

ओलीले आफूले दिन तोकेर काम गर्छु भनेको र काम पनि गरेको दाबी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति