मन्त्रीको घुस संवाद : प्रधानमन्त्रीमाथि प्रचण्डको प्रश्नैप्रश्न

संघीय मामिला मन्त्री राजकुमार गुप्ताले घुसको डिल गरेको अडियो केही दिनदेखि सञ्चार माध्यममा छ्यापछ्याप्ती छ । तर भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न भन्ने प्रधानमन्त्री मौन छन् ।
सोमबार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएका छन् । उनले संसदको रोष्ट्रमबाट सोधेका छन्, अब चित्रगुप्तलाई प्रधानमन्त्रीले के बयान दिने होला ?’
संसदको दुई ठूला दल कांग्रेस र एमाले मिलेर ओली नेतृत्वमा सरकार बनाएको वर्ष दिन भयो । माओवादी र रास्वपा लगायतका विपक्षी दलहरुले त त्यसबेलादेखि नै सरकारमाथि प्रश्न उठाएका थिए । आफूहरुले सुशासनको पक्षमा काम गर्दा आत्तिएका बिचौलियाहरुले कांग्रेस र एमालेलाई मिलाइदिएको दाबी गरेका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले वर्ष दिनमा त्यसलाई चिर्ने गरी काम गर्न सकेन । भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा कुनै सुधार भएको छैन ।
संघीय मामिलामन्त्री मन्त्री राजकुमार गुप्ताको काम कारबाहीबारे एमालेकै नेताहरुले समेत प्रश्न उठाउँदै आएका थिए । उनी सहितका केही मन्त्रीलाई नहटाउने हो भने सरकार थप बद्नाम हुने भन्दै नेताहरुले प्रधानमन्त्रीसम्म सन्देश पुर्याएका थिए ।
स्रोतका अनुसार करिव एक डेढ महिना पहिले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई मन्त्रीहरु फेर्ने हो त भनेर सोधेका थिए । त्यो बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले पनि मन्त्रीहरु फेर्नु उपयुक्त हुने सुझाव दिएका थिए । तर देउवाले मन्त्री फेर्न सहमति जनाएनन् ।
किनकी उनी परराष्ट्रमन्त्री आरजु देउवालाई तत्काल हटाउने पक्षमा छैनन् । अरु मन्त्री हटाएर उनलाई मात्र निरन्तरता दिँदा राम्रो सन्देश नजाने भएकाले देउवा सबै मन्त्री राख्ने मुडमा छन् । एमाले नेताहरुका अनुसार कांग्रेसले मन्त्री नफेर्दा पनि एमालेबाट मन्त्री भएकाहरु फेर्न सकिन्थ्यो । तर ओलीले त्यसो गरेका छैनन् ।
सरकारको एक वर्षको कामको समीक्षा गर्ने बेला मन्त्रीले नै घुसको डिल गरेको अडियो बाहिर आयो ।
९ मिनेट १३ सेकेण्ड लामो यो अडियो गत पुस अन्तिम साताको भनिएको छ, जसमा खेमराज पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाइदिन २५ लाख घुसको अफर गरिएको छ । यो अडियो केही दिन अगाडि सार्वजनिक भएको थियो ।
तर सोमबार विहानसम्म प्रधानमन्त्रीले कुनै एक्सन लिएनन् । त्यही बेला संसदलाई सम्बोधन गरेका विपक्षी दलका नेता प्रचण्डले प्रधानमन्त्रीमाथि प्रश्नै प्रश्न गरे ।
अघिल्लो सरकारले थालेको कामबाट सिर्जित परिणामबाहेक यो सरकारले कुनै सकारात्मक काम नगरेको उनको दाबी छ । भ्रष्टाचार, वेथितीमा भने विश्व रेकर्ड नै बनाएको प्रचण्डको दाबी छ । कुनै समय प्रधानमन्त्री ओलीले चित्रगुप्तलाई बयान दिन तयार छु भनेको स्मरण गर्दै उनले प्रश्न गरे, जहाँ सरकार त्यहाँ भ्रष्टाचार भएको छ । अब चित्रगुप्तलाई प्रधानमन्त्रीले के बयान दिने होला ?’
प्रचण्डले सत्तारुढ प्रमुख घटक कांग्रेसबारे कडा टिप्पणी गरेनन् । बरु ओलीको बोलीमा भुलेको गुनासो गरे । ‘कांग्रेस पनि स्वर्ग र नर्कको गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको मैले महसुस गरेको छु’ उनले भने ।
स्वर्ग र नर्कको विषय पछिल्लो एक वर्षदेखि नेपाली राजनीतिमा निकै चलेको छ । भएको के थियो भने त्यसबेला प्रचण्ड प्रधानमन्त्री थिए, अनि एमाले सत्ता साझेदार थियो । त्यही बेला ओलीले आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेताहरुसँग छलफल थाले । प्रचण्डका अनुसार त्यसबारे आफूले चासो राख्दा ओलीले स्वर्ग गए पनि सँगै, नर्क गएपनि सँगै जाने भनेपछि उनी ढुक्क भएका थिए ।
तर भोलिपल्ट एमाले र कांग्रेसबीच सहमति भयो । त्यसयता प्रचण्डले एमाले अध्यक्ष ओलीमाथि स्वर्ग र नर्कको कुरा गरेर आफूलाई भुलभुलैयामा पारेको गुनासो गर्दै आएका छन् ।
अहिले कांग्रेस पनि स्वर्ग र नर्कको गोलचक्करको पासोमा परेको हुनसक्ने उनको आशंका छ । उनले यसो भन्नुको आशय के हो भने आफूले पटक पटक सरकारको नेतृत्व लिन आग्रह गर्दा पनि कांग्रेस नेतृत्वले नसुनेको गुनासो पनि हो ।
सम्बोधनका क्रममा माओवादी अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमति कहाँ पुग्यो भनेर प्रश्न गरे । संविधानको अग्रगामी संशोधन गर्ने हो भने आफ्नो दलले दुई तिहाई पुर्याइदिने वचन भन्दै उनले भने, ‘सरकारसँग हिम्मत छ ?’
-1754133271.jpg)
रेशम चौधरीको महत्वाकांक्षाले पार्टी नै तहसनहस

शेखरको मुभ कत्तिको परिपक्व ?

बागमतीमा लामाले मुख्यमन्त्री नछाडे के हुन्छ ?

मुख्यमन्त्रीलाई हराउँदै दल नेता बने बानियाँ

बागमतीका मुख्यमन्त्रीले गुमाए पार्टीभित्रै बहुमत
