नेभिगेशन
राजनीति

एक्लिए नवराज सुवेदी : पार्टी न जनआन्दोलन समिति

८८ वर्षको उमेरमा राजा फर्काउने आन्दोलनको नेतृत्व गरेका नवराज सुवेदी अन्ततः घरको न घाटको भएका छन् । 

सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको सदस्य तथा अनुशासन समितिको अध्यक्ष थिए । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको नेतृत्व गर्ने भएपछि राप्रपा छाडे । २०८१ चैत ५ गते उनले मञ्चबाटै घोषणा गरिदिएका थिए, अब म राप्रपामा रहिन ।

त्यसको साढे ४ महिनापछि असार २५ गते राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष मनोनित गरे । तर राप्रपा छाँडे भन्ने घोषणा गरेका सुवेदी असार २९ गते दलबलसहित उजुरी लिएर निर्वाचन आयोग पुगे । 

त्यहाँ पत्रकारहरुले उनलाई तपाईंले त चैत ५ गते नै पार्टी छाडेको घोषणा गरेको होइन भनेर सोधेका थिए । तर सुवेदीले आफूले राजसंस्थाका लागि जस्तोसुकै त्याग गर्न सक्छु भन्ने सन्दर्भमा पार्टी समेत छाड्न तयार छु मात्र भनेको स्पष्टीकरण दिए । 

खासमा राप्रपा नेताहरुलाई महाधिवेशन लागेको छ । अघिल्लो महाधिवेशनमा नेतृत्व लिन मिलेर राजेन्द्र लिङ्देन र धवलशम्शेर राणा अहिले दुई खेमामा बाँडिएका छन् । 

धवललाई प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, कुन्ती शाही लगायतका नेताहरुको साथ छ । उनीहरुकै जोडबलमा सुवेदी राजा फर्काउने आन्दोलनको नेता बनेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुरुमा त सुवेदीको नेतृत्व स्वीकार गरेका थिएनन् । तर जेठ १५ गतेदेखि सुवेदीकै नेतृत्वमा भएको आन्दोलनमा सक्रिय सहभागिता जनाए । 

काठमाडौं केन्द्रित आन्दोलन फेल भएपछि राप्रपा नेताहरु पार्टीको महाधिवेशन केन्द्रित भएका छन् । त्यही क्रममा लिङ्देनले सुवेदीबारे केही नबोली उपाध्यक्ष कार्कीलाई अनुशासन आयोगको अध्यक्ष बनाए । सुवेदी निकट प्रवक्ता सगुन लावतीलाई बर्खास्त गरे । 

महाधिवेशनलाई प्रभावित गर्ने गरी कारबाही गर्न खोजेको निष्कर्षका साथ धवलशम्शेरहरुले सुवेदीलाई फेरि अनुशासन आयोगको अध्यक्षमा फर्काउन खोजेका हुन् । उनले आफूलाई विधान विपरीत निकालेको भन्दै पुनर्स्थापनाको माग गर्दै आयोगमा निवेदन दिएका छन् । तर निर्वाचन आयोगले यसबारे केही निर्णय दिइसकेको छैन ।

त्यही बेला मंगलबार राजसंस्था पुनस्र्थापना जनआन्दोलन समितिले सुवेदीलाई संयोजकबाट हटाएको घोषणा गरेको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै अहिलेसम्मको भूमिकाका लागि सुवेदीलाई धन्यवाद दिएका छन् । र, छिट्टै अर्को संयोजक तोक्ने बताएका छन् । 

उनका अनुसार सुवेदीले पार्टीको आवद्धता त्यागेकाले साझा व्यक्तित्वका रुपमा समितिको नेता स्वीकार गरिएको थियो । तर सुवेदीले फेरि पार्टीमै फर्किन चाहेकाले अब अर्को स्वतन्त्र व्यक्तिलाई संयोजक चयन गर्ने प्रवक्ता नेपालले बताए । 

उनले राजसंस्थाको पक्षमा रहेका पार्टी, अभियान र संघसंस्थाको छिट्टै बैठक गरेर अर्को संयोजक तोक्ने बताए । 

अर्थात आजको दिनमा नवराज सुवेदी राप्रपाको अनुशासन आयोगको अध्यक्षमा फर्किएका छैनन्, अनि राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको संयोजक पद पनि गुमाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति