नेभिगेशन
राजनीति

रुपन्देही-३ मा रास्वपाको उम्मेदवार को ? 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोटको विधि बनाएको छ । नयाँ विधि अनुसार नै रुपन्देही ३ मा हुन लागेको उपचुनावका लागि उम्मेदवार छनोट गर्ने नेताहरुले बताएका छन् । 

रुपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव तोकिएको छ । २०७९ को आम चुनावमा यहाँबाट निर्वाचित भएका राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि उपचुनाव हुन लागेको हो । उपचुनाव आउन साढे ३ महिना छ । 

तर रास्वपामा उम्मेदवारको खोजी सुरु भइसकेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाले उम्मेदवार छनोटको विधि नै सार्वजनिक गर्‍यो । अबको एक साताभित्र टाइमलाइनसहित उम्मेदवार छनोट थाल्ने प्रवक्ता मनिष झाले जानकारी दिए । 

को–को छन् आकांक्षी ? 

रुपन्देही ३ को उम्मेदवार बन्न रास्वपाका स्थानीय नेताहरुदेखि अरु पनि इच्छुक देखिएका छन् । 

रास्वपा रुपन्देहीका सभापति बुद्धि शर्माका अनुसार २०७९ को आमचुनावमा उम्मेदवार पाउन कठिन थियो । तर अहिले नगर, वडा मात्र होइन, टोल तहसम्म पार्टी कमिटी बनेको छ । त्यसैले पार्टीमा आवद्ध भएका नेताहरु नै उपचुनावमा उम्मेदवार बन्न चाहेका छन् । नेताहरुको जोड पनि त्यही छ । 

रास्वपाका क्षेत्र नम्बर ३ का सभापति मधु अर्याल, प्रदेश समिति सदस्य प्रकाश ज्ञवाली र डा. योगेन्द्र अग्रहरिले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । अग्रहरि हाडजोर्नी विशेषज्ञ हुन् । उनी स्थापनाकालदेखि नै रास्वपासँग जोडिएका थिए । 

यस्तै ज्ञानु पौडेल  र नगर सभापति परशुराम पराजुली पनि उम्मेदवारका आकांक्षी हुन् । 

पार्टीमा आवद्ध नभएकाहरुले पनि रास्वपाबाट उम्मेदवार बन्ने चाहना देखाएका छन् । 

उनीहरुमध्ये एक हुन् सागर ढकाल । पेशाले इन्जिनियर ढकाल २०७९ को चुनावमा डडेलधुरामा चुनाव लडेका थिए । रुपन्देही ३ मा उपचुनाव घोषणा भएपछि रास्वपा नेताहरुसँग भेट गर्दै उम्मेदवार बन्ने आकांक्षा देखाएका थिए ।

अधिवक्ता सुलभ खरेल पनि आकांक्षी हुन् । रुपन्देही ३ का स्थानीय समेत रहेका उनले उम्मेदवार हुने आकांक्षासहित रास्वपा नेताहरुसँग भेट समेत गरेका थिए । 

रास्वपाका दिवंगत नेता दीपक बोहराका छोराहरु प्रज्वल र गौरव पनि उम्मेदवारको आकांक्षी छन, उनीहरु रास्वपा नेताहरुसँग सम्पर्कमा पनि छन् । 

पञ्चायतकालदेखि नै रुपन्देहीको राजनीतिमा प्रभाव राख्ने बोहरा यही क्षेत्रका सांसद थिए । उनको निधन भएपछि रिक्त भएको स्थानमा बोहराका दुबै छोरा उम्मेदवार हुन चाहेका छन् । 

बोहरा आवद्ध भएको दल राप्रपाले उम्मेदवार टुंगो लगाएको छैन । यदि राप्रपाले टिकट नदिए बोहराका छोरा रास्वपाबाट पनि उम्मेदवार बन्ने सम्भावना रहेका नेताहरु बताउँछन् । 
कसरी छानिन्छन् उम्मेदवार ? 

रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार हालसम्म प्रारम्भिक निर्वाचनको नजिताका आधारमा उम्मेदवार छनोट गर्ने गरिएको थियो । 

अब यसमा ठूलो हेरफेर भएको छ । प्रारम्भिक निर्वाचनको नजितालाई ५० अंक भार दिइएको छ । लिडरसिप एकेडेमीको नतिजालाई २५, पोलिटिकल प्रोक्सिमिटीलाई २० र समावेशीतालाई ५ प्रतिशत अंक भार दिइनेछ । 

प्रारम्भिक निर्वाचनको नजितामा पनि सम्बन्धित निर्वाचन क्षेत्रका सदस्यहरुको मतलाई ८०, पदाधिकारीको १० र केन्द्रीय सदस्यको १० प्रतिशत अंकभार मानिनेछ ।

लिडरसिप एकेडेमीमा सही उम्मेदवारका मानक केके हुन् हेरिने छ भने पोलिटिकल प्रोक्सिमिटीमा पार्टी गतिविधिमा संलग्नतालाई हेरिनेछ । भोटिङका आधारमा मात्र उम्मेदवार छान्दा सही नहुन पनि सक्छ भनेर यस्तो विधि बनाइएको सहमहामन्त्री आचार्यले बताए । 

उनले भने, ‘यसले पार्टीको गतिविधिमा दिलोज्यान लगाएको, क्षमता पनि भएको र पार्टीका सदस्यदेखि पदाधिकारीले समेत मन पराएको व्यक्ति उम्मेदवार हुन्छ भन्ने विश्वास छ ।’

उम्मेदवार छनोट विधिमा विशेष परिस्थिति भन्ने पनि छ, जसमा पार्टी नेतृत्वलाई अधिकार दिइएको छ । राजनीतिमा निश्चित अधिकार पार्टीको हाइकमाण्डमा हुनुपर्छ भन्ने मान्यता अनुसार यो प्रावधान राखेको आचार्यले बताए । 

तर रास्वपाका रुपन्देही जिल्ला सभापति शर्माले भने इलाम–२ को उपचुनावबाट शिक्षा लिएर उम्मेदवार छान्नुपर्ने बताउँछन् । 

गत मंसिरमा भएको इलाम २ को उपचुनावमा रास्वपाले माओवादी निकट पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाएको थियो, तर उनले जमानत जोगाउन पनि सकेनन् । यो चुनावी नजिता रास्वपाका लागि झट्का थियो । 

रुपन्देही ३ को चुनाव यो भन्दा महत्वपूर्ण भएको रुपन्देही सभापति शर्मा बताउँछन् । पछिल्लो एक वर्ष पार्टी र नेतृत्वविरुद्ध अनेक घेराबन्दीका बाबजुद पार्टीप्रति जनतामा उभार आएको भन्दै उनले भने, ‘यो उपचुनाव जित्यौं भने देशभर नयाँ लहर आउँछ । खराब नजिताले निराशा ल्याउँछ, जसले हाम्रो पार्टीमा कठिनाई आउनसक्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति