रुपन्देही–३ को उम्मेदवार छान्न रास्वपाले इच्छुकसँग आवेदन माग्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ को उम्मेदवार भदौ १५ गते टुंगो लगाउने भएको छ ।
रास्वपाका अनुसार उम्मेदवार छनोटको प्रक्रिया भने साउन ७ गतेदेखि सुरु हुनेछ ।
रुपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव तोकिएको छ । राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उपचुनाव हुन लागेको हो ।
उपचुनाव घोषणा भएपछि रास्वपाले उम्मेदवार छनोटको विधि बनाएको छ । सोमबार उम्मेदवार छनोटको टाइमलाइन सार्वजनिक गरेको छ ।
जसअनुसार साउन ७ देखि २१ गतेसम्म उम्मेदवार बन्न चाहनेहरुले आवेदन दिन सक्नेछन् । रास्वापा निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार मोबाइल एपमार्फत अनलाइन उम्मेदवारी दिन सकिनेछ ।
२२ गते नामावली प्रकाशन हुनेछ भने २३ र २४ गते दावीविरोधको समय तोकिएको छ । २५ गते उम्मेदवारसँग छलफल हुनेछ ।
२५ गते प्रारम्भीक उम्मेदवारहरुको नामावली प्रकाशन हुनेछ । लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिताको मापन लगायतका प्रक्रिया चल्नेछ ।
भदौ १२ गते विहान ७ बजेदेखि १३ गते ७ बजेसम्म प्रारम्भिक निर्वाचन हुनेछ ।
पार्टीको एपमार्फत मतदान हुनेछ । र, यो पटक यस्तो मापदण्ड बनेको छ कि सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यहरु र केन्द्रीय सदस्यले मात्र मतदान गर्न पाउनेछन् । उनीहरुको अंक भार पनि तोकिएको छ ।
१५ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ ।
रुपन्देही ३ को उम्मेदवार बन्न रास्वपाका स्थानीय नेताहरुदेखि अरु पनि इच्छुक देखिएका छन् ।
रास्वपाका क्षेत्र नम्बर ३ का सभापति मधु अर्यालका साथै प्रकाश ज्ञवाली, डा. योगेन्द्र अग्रहरि, ज्ञानु पाण्डे र परशुराम पराजुली पनि उम्मेदवारका आकांक्षी छन् । २०७९ को चुनावमा डडेलधुरामा स्वतन्त्र चुनाव लडेका सागर ढकाल, अधिवक्ता सुलभ खरेल लगायत पनि आकांक्षी हुन् ।
प्रारम्भिक निर्वाचनबाट क्षमतावाद उम्मेदवार पाउने अपेक्षा गरिएको प्रवक्ता मनिष झाले बताए ।
रुपन्देही ३ मा अघिल्लो चुनावमै रास्वपाले समानुपातिकतर्फ राम्रो मत पाएको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार जितबहादुर गुप्ता तेलीले ५ हजार ७९६ मत पाएका थिए । जुन निर्वाचित सांसद बोहराले पाएको भन्दा ३० हजार कम हो ।
तर समानुपातिकमा १४ हजार १५४ मत पाएको थियो । सबभन्दा धेरै कांग्रेसले २० हजार २७९ मत पाउँदा एमालेले १६ हजार ९८६ मत पाएको थियो ।
चुनाव यता रास्वपाले संगठन विस्तार गरेको छ । अनि, रास्वपा सभापति रवि लामिछाने रुपन्देहीकै कारागारमा छन् । सहकारीको रकम अपचलनको मुद्दामा उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
त्यसैले रास्वपाले रुपन्देही ३ को उपचुनावलाई महत्वका साथ हेरेको छ । रास्वपा प्रवक्ता झा भन्छन्, ‘अहिले हाम्रो अभियानप्रति आम मान्छेको लगाव र आशा बढेको छ । रुपन्देही चुनाव हुँदैछ, जहाँ हाम्रो सभापतिलाई राखेको छ । त्यसैले यो उपचुनाव हाम्रा लागि महत्वपूर्ण छ ।’
-1754133271.jpg)
रेशम चौधरीको महत्वाकांक्षाले पार्टी नै तहसनहस

शेखरको मुभ कत्तिको परिपक्व ?

बागमतीमा लामाले मुख्यमन्त्री नछाडे के हुन्छ ?

मुख्यमन्त्रीलाई हराउँदै दल नेता बने बानियाँ

बागमतीका मुख्यमन्त्रीले गुमाए पार्टीभित्रै बहुमत
