बागमतीमा लामाले मुख्यमन्त्री नछाडे के हुन्छ ?

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा संसदीय दलमा लगातार दुई वटा चुनाव हारे ।
मंगलबार लामाले दलको नेता रहिराख्ने चुनाव हारेका थिए । त्यसको भोलिपल्ट बुधबार फेरि दलको नेता बन्न अर्को चुव लडे र त्यो पनि हारे । दुबै चुनाव हारेका उनले मुख्यमन्त्री पदबाट छाडेका छैनन् । बरु भन्न थालेका छन्, मैले राजीनामा दिनुपर्ने के छ र ?
कांग्रेस र एमालेबीच गठबन्धन भएसँगै कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा एक वर्षअघि मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री लामाले एक वर्षे कार्यकाल पूरा गरेको भोलिपल्ट इन्द्र बानियाँको नेतृत्वमा कांग्रेसका २१ सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरे । मंगलबार दलमा मतदान भयो, थप एक जनाले साथ दिए । २२ मतका साथ अविश्वास प्रस्ताव पास भयो ।
१५ सांसदको मात्र साथ पाएका मुख्यमन्त्री लामा कांग्रेस संसदीय दलको नेताबाट हटे ।
नयाँ दल नेता चयनका लागि बुधबार निर्वाचन तोकियो । लामा र बानियाँ नै प्रतिस्पर्धामा उत्रिए । बानियाँले २२ मत पाउँदा लामाको पक्षमा १४ मत मात्र खस्यो ।
तर मुख्यमन्त्री लामा राजीनामा दिन तयार छैनन् । दलको नेताको चुनाव हारेपछि सञ्चारकर्मीहरुले मुख्यमन्त्रीबाट राजीनामा दिनुहुन्छ भनेर सोधेका थिए । जवाफमा लामाले राजीनामा दिनुपर्ने कारण नभएको प्रतिक्रिया दिएका छन् ।
बरु दलको चुनाव अगाडि नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् ।
उनले मंगलबार साँझ धादिङका गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरेका थिए । चितवनका माया श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र गीता गुरुङ सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन् । उनले तीन जना मन्त्रीको सपथ कार्यक्रम बुधबार विहान ९ बजे राखेका थिए ।
तर सत्ता साझेदार एमालेले विरोध गरेका कारण अन्तिम समयमा मन्त्रीहरुको सपथ रोकिएको छ । बिहीबार दिउँसो १ बजे सपथ गर्ने सहमति भएको नवनियुक्त मन्त्री लम्साल बताउँछन् ।
कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता नेता बानियाँले भने मन्त्रिपरिषद् विस्तार गर्ने होइन, लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । नभए संसदीय दलको प्रक्रिया अनुसार उनलाई बिदा गर्ने उनको तर्क छ ।
मुख्यमन्त्री लामा निकटवर्तीहरु भने उनलाई हटाउन सहज नभएको बताउँछन् । मुख्यमन्त्री निकट एक सांसद भन्छन्, ‘उहाँलाई मुख्यमन्त्रीबाट हटाउने हो भने कारबाही गरेर पार्टीबाट निकाल्नुपर्छ । त्यसो गर्दा हाम्रो पार्टीमा धेरैतिर प्रभाव पार्छ ।’
त्यसैले मुख्यमन्त्रीमा लामाले ने निरन्तरता पाउने उनको समूहको विश्वास छ । आन्तरिक मामिलामन्त्रीको नियुक्ति पत्र बुझेका लम्साल पनि मुख्यमन्त्री फेरबदलको सम्भावना नभएकै कारण आफूहरु मन्त्री बन्न सहमत भएको बताउँछन् ।
यदि त्यसो भएमा कांग्रेसको घरझगडामा निर्णायक चाहिँ एमाले बन्ने देखिन्छ ।
किनकी संविधानतः नियुक्ति भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन । तर एमालेले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।
बुधबार नै एमाले संसदीय दलले चाँडो समस्या समाधान गर्न कांग्रेसलाई आग्रह गरेको छ । नभए एमाले वैकल्पिक रुपमा जानसक्ने संसदीय दलका नेता जगन्नाथ थपलियाले बताएका छन् ।
-1754133271.jpg)
रेशम चौधरीको महत्वाकांक्षाले पार्टी नै तहसनहस

शेखरको मुभ कत्तिको परिपक्व ?

मुख्यमन्त्रीलाई हराउँदै दल नेता बने बानियाँ

बागमतीका मुख्यमन्त्रीले गुमाए पार्टीभित्रै बहुमत
