नेभिगेशन
समाज

मन्त्रीज्यू ! घरमै सुत्नुस् संसदमा होइन

साउन १४ गते बिहीबार राष्ट्रियसभाको बैठक । 

पहिलो लहरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बसेका थिए, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई । 

राष्टियसभामा नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल थियो । 

छलफलमा उठेका प्रश्नको जवाफ दिन राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओली उपस्थित थिए । प्रधानमन्त्री जाने भएपछि मन्त्रीहरु पनि पुगे ।
 
तर छलफलमा जब सांसदहरु बोल्न थाले, मन्त्रीहरु निदाउन थाले । 

प्रधानमन्त्री ओली सांसदले के भन्दैछन् भनेर सुनिरहेका छन् । सँगै बसेका अर्थमन्त्री पौडेल, खेलकुदमन्त्री चौधरी र रक्षामन्त्री राई एकै पटक निदाएका छन् । 

साउन ७ गते प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ यसरी नै निदाइरहेका थिए । कतिसम्म भने प्रधानमन्त्री केपी शर्मा ओली आइपुग्दा समेत थाहा पाएनन् । उनी भन्दा पछाडिको लहरमा बसेका अरु मन्त्रीहरुले प्रधानमन्त्रीलाई नमस्कार गरे, मन्त्री गुरुङ निद्रामा मस्त । 

नेपालको संसदको बैठक अहिले लाइभ नै हेर्न सकिन्छ । त्यसैले संसदमा भएका एक एक घटना आम नागरिकको पहुँचमा छ । त्यसैले कहिले सुर्ती खाएको दृश्य भाइरल हुन्छ त कहिले सांसद वा मन्त्री निदाइरहेको तस्वीर बाहिर आउँछ । 

यहाँ स्वभाविक प्रश्न उठ्छ, के हाम्रा मन्त्रीहरु यति धेरै काम गर्छन्, जो एकछिन संसदमा गएको बेला पनि निदाउँन पुग्छन् ? 

मन्त्रीहरुले कत्तिको काम गरेका छन्, त्यो त जनताले महसुस गरेकै छन् । धेरैले त हाम्रा मन्त्रीहरु पद ओगट्न मात्र त्यहाँ गएको ठान्छन् । जनताले महसुस हुने गरी काम नभएको पनि सत्य हो । तर हाम्रा मन्त्रीहरु फुर्सदिला पनि छैनन् । 

बिहान सबेरैदेखि मन्त्रीहरुको व्यस्तता सुरु हुन्छ । बिहान उज्यालो हुनासाथ मन्त्री क्वार्टरमा भीड लाग्छ । कोही दलको कार्यकर्ता होला, कोही कर्मचारी होला, कोही ठेकेदार र कोही विचौलिया । 

स्वार्थ समूहले मन्त्रीहरुलाई कसरी कब्जामा पार्छन् र मन्त्रीहरु पनि कसरी नतमस्तक हुन्छन् भन्ने हालै निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुसवाला अडियो सुनेर थाहा पाइहाल्नुभयो होला । 

मन्त्री भेट्न जानेहरुको उद्देश्य एउटै हुँदैन । कसैको जागिर मिलाउनुपर्ने हुन्छ । कसैको ठेक्का मिलाउनुपर्ने त कसैको अनेकन काम गराउन भनसुन गर्दिनुपर्ने । कर्मचारी र ट्रेड युनियका नेता सरुवा मिलाउनुपर्ने एजेन्डाले मन्त्री भेट्छन् ।

सजिलै मन्त्री भेट्न नपाउने चाहिँ सर्वसधारण जनताले मात्रै हो । 

बिहानदेखि क्वार्टरमा लागेको भिडलाई जसोतसो पन्छाएर मन्त्रीहरु सिंहदरबार पुग्छन् । त्यहाँ पनि उस्तै भिड लागिसकेकको हुन्छ । भेटघाट मात्र होइन, छलफल, बैठक, गोष्ठी अन्तक्र्रिया जस्ता कार्यक्रम पनि उत्तिकै हुन्छन् ।

हरेक मन्त्रीका सचिवालय त हुन्छन् । तर न मन्त्रीले सचिवालयको सही उपयोग गरेर समय व्यवस्थापन गर्छन्, न सचिवालयले मन्त्रीलाई सहीसँग बाटो देखाउन सक्छ । भद्रगोल ढंगले मन्त्री यहाँबाट त्यहाँ, त्यहाँबाट यहाँ गरिरहेको हुन्छ । सचिवालयका मान्छेहरु डायरी र कलम च्यापेर मन्त्रीको अघिपछि गर्छन् । 

मन्त्रालयबाट निस्किएपछि पनि मन्त्रीको भेटघाट सकिंदैन । भेटघाट कम गर्ने मन्त्रीहरु नभएका हैनन् । तर धेरै जसो मन्त्रीहरु भेटघाटमै समय बिताएर राति अबेर मात्र क्वार्टर पुग्ने गरेका छन् । कतिपयले साँझ क्वार्टरमा पनि भेटघाट जारी राख्छन् । 

यसरी हाम्रा मन्त्रीहरु धेरै समय अनुत्पादक काममा ब्यस्त हुन्छन् । अनि, संसदमा वा सार्वजनिक कार्यक्रममा बेलाबेला निदाउन पुग्छन् । अझ गर्मी सिजनमा मानिसहरु धेरै उपस्थित भएको हलमा त उनीहरुलाई निद्राले झुम्म बनाइहाल्छ ।

संसदमा मन्त्रीहरु निदाउनुको अर्को एउटा कारण भने संसदमा हुने बहस र छलफलले पनि हो ।

हाम्रो संसदको छलफलहरु कर्मकाण्डी हुन्छन् । धेरै जसो सांसदहरु बोल्नका लागि बोल्छन् । हो, सांसदहरुको प्रस्तुतिको आ–आफ्नो शैली हुन्छ । कोही प्रखर वक्ता होलान्, कोही कम । 

तर विषयवस्तुमा जति तयारी गर्नुपर्ने हो, हाम्रा सांसदहरुले गर्दैनन् । त्यसैले संसदको निरश बहसमा मन्त्रीहरुको रुची पनि हुदैन होला ।

तर यसको अर्थ संसदमै निदाउन ठीक हो भन्ने चाहिँ होइन । मन्त्रीहरु आराम गर्न जाने ठाउँ होइन संसद । 

संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य गरिएको हुन्छ । ताकि सांसदहरुले उठाएका मुद्दाबारे सरकारको ध्यान जाओस् । अझ पछिल्लो समय त निश्चित समयमा मन्त्रीहरुले त्यहाँ गएर जवाफ दिनुपर्ने समेत व्यवस्था गरिएको छ । त्यसैले संसद बैठकमा सुत्ने छुट कुनै पनि मन्त्रीलाई छैन ।

एकदमै थाक्नु भएको छ भने एक छिन आराम गरेर आउनुस् । सञ्चो छैन भने घरमै बस्नुस्, संसद आइरहन पर्दैन । 

जो मन्त्री स्वस्थ छ, ऊ बसे भइहाल्छ । तर संसदमा आएर निद्रा पुर्‍याउने काम नगर्नुस् । मन्त्रीहरुको काम र उपस्थितिले आम नागरिकमा आश भरोसा जागोस् । त्यसो गर्न सकिन्न भने कम्तीमा संसदमा सुतेर तमासा नगर्नुस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज