नेभिगेशन
राजनीति

शेखरको मुभ कत्तिको परिपक्व ? 

शेखर कोइराला प्रधानमन्त्री बन्ने पक्का ! प्रचण्ड, विद्या भण्डारी र शेखर कोइरालाको नयाँ गठबन्धन ! 

पछिल्ला दिनमा सञ्चार माध्यममा यस्ता हेडलाइन देख्नुभएको होला । 

डा. शेखर कांग्रेसमा पुरानो लिगेसी रहेको कोइराला परिवारको सदस्य हुन् । १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई टक्कर दिएकै हुन् । 

त्यसैले उनले प्रधानमन्त्री बन्ने आकांक्षा राख्नु अस्वभाविक होइन । तर उनी प्रधानमन्त्री बन्ने चर्चा भने यही साउन १ र २ गते भएका दुईवटा राजनीतिक भेटलाई लिएर भएको हो ।

डा. शेखरले साउन १ गते माओवादी अध्यक्ष प्रचण्डसँग लामो वार्तालाप गरेका थिए । भोलिपल्ट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे, जो एमालेको सक्रिय राजनीतिमा फर्किने प्रयासमा छिन् । 

अनि, प्रचण्डसँग भएको भेटमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सहभागी थिए । त्यो भेटपछि सिंहले भनिदिए, ओलीपछि देउवा होइन, शेखर कोइराला प्रधानमन्त्री बन्दैछन् । 

अमरेश राजनीतिक घटनाक्रमलाई नजिकबाट हेर्ने, बुझ्ने र सूचना राख्ने राजनीतिकर्मीमध्येमा पर्छन् । त्यसैले उनको अभिव्यक्तिलाई धेरैले गम्भीर रुपमा लिएको हुनुपर्छ । त्यसो भए के डा. शेखर कोइराला प्रधानमन्त्री बन्दैछन् त ? 

माओवादी अध्यक्ष प्रचण्डले बेलाबेला भन्ने गर्छन्, राजनीति भनेको सम्भावनाको खेल हो । 

त्यसमाथि अहिले हाम्रो संसदमा कुनै पनि दलको बहुमत छैन । त्यसैले सरकार कुन बेला बन्छ र ढल्छ पत्तै हुन्न । पछिल्लो पटक माओवादी केन्द्रका नेताहरुले ओली सरकारको विकल्प खोज्न कांग्रेस नेतृत्वलाई आग्रह गर्दै आएका छन् । 

तर हालसम्म कांग्रेस सभापति देउवा, ओलीसँग भएको सहमतिप्रति प्रतिवद्ध देखिएका छन् । कांग्रेस र एमालेबीच आगामी असारसम्म ओली प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति छ ।

कांग्रेस नेताहरुका अनुसार सरकारको कारकारबाहीप्रति पार्टीमा असन्तुष्टि बढ्दो छ । र, कांग्रेसले सरकारको नेतृत्व गर्ने समय आउँदासम्म संसदीय दलको नेता परिर्वतन गरेर डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने सम्भावना छ ।

प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् । नेताहरुका अनुसार संस्थापन इतर समूहका ३० सांसद छन् । यसमा महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल थपिए । पछिल्लो समय एनपी साउद र कान्छाराम तामाङ पनि शेखरतिर लागेका छन् । 

जति महाधिवेशन नजिक हुँदै जान्छ, संस्थापन इतर समूहमा सांसदको संख्या त्यति नै बढ्ने सम्भावना छ ।

किनकी अब २ कार्यकालको सीमाका कारण देउवा फेरि सभापतिको उम्मेदवार हुने छैनन् । अहिलेसम्म देउवाले आफ्नो उत्तराधिकारी तोकेका छैनन् । संस्थापन समूहमा आकांक्षी धेरै छन् । उनीहरुबीच कोही एक जनाको नाममा सहमति हुने सम्भावना कम छ । 

त्यसैले महाधिवेशनलाई हेरेर कांग्रेसमा नयाँ समीकरण बन्ने सम्भावना छ । त्यसैले कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला हुँदासम्म डा. शेखर कोइराला संसदीय दलको नेता बन्ने र प्रधानमन्त्री हुने सम्भावना छ भन्न सकिन्छ । 

तर पछिल्ला दिनमा डा. शेखरले जसरी राजनीतिक कदमहरु चाले, त्यसले त्यो सम्भावनालाई बढाउनुको साटो घटाउने काम मात्र गरेको नेताहरुको विश्लेषण छ । 

१४ औं महाधिवेशनबाट बनेको संस्थापन इतर समूह पछिल्लो दिनमा एक ठाउँमा आउन सकेको थिएन । यो समूहका नेताद्वय डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच राम्रोसँग सम्वाद समेत हुन छाडेको थियो ।  

तर असार अन्तिममा अनुशासन समितिले गरेको कारबाहीले नेताहरुलाई एक ठाउँमा ल्याएको थियो । संस्थापन इतर समूहका नेताहरु एक भएर विरोधमा उत्रिएका थिए । डा. शेखर फेरि पार्टीमा विपक्षी मोर्चाको नेता बन्ने अवसर थियो । 

तर त्यही बेला उनले प्रचण्डलाई भेटे । पूर्व राष्ट्रपति विद्या भण्डारीलाई भेटे र, स्वतन्त्र सांसद अमरेशमार्फत प्रधानमन्त्री बन्ने तयारीको प्रचार गराए । यसले संस्थापन समूहमा भएका सांसदहरु मात्र होइन, उनी निकट सांसदहरु नै झस्किए । परिणाम, उनले बोलाएको बैठकमा १२ जना भन्दा सांसद उपस्थित भएनन् । 

पूर्व राष्ट्रपति भण्डारीलाई भेटेको भोलिपल्ट डा. शेखरले दरबारमार्गस्थित याक एण्ड यति होटलमा सांसदलाई बोलाएका थिए । तर अरु बेला उनले बोलाएका ठाउँमा जाने सांसदहरु समेत त्यो दिन गएनन् । 

त्यो बैठकमा नगएका एक सांसदले बताएअनुसार उनलाई डा. शेखर आफैंले फोन गरेर बोलाएका थिए । तर आफूले बैठकको उद्देश्य के हो भनेर सोधेको सुनाए । 

किनकी डा. अमरेशले ओलीपछि शेखर प्रधानमन्त्री हुने मात्र दाबी गरेका थिएनन्, देउवाले दल फुटाउनु हुन्छ भने डा. शेखरले किन हुन्न भनेर अन्तर्वार्ता दिएका थिए । जबकी कांग्रेसका कोही सांसद त्यो जोखिम लिन तयार छैनन् । त्यसैले अरु बेला साथ दिएकाहरु पनि त्यो दिन शेखरको बैठकमा गएनन् । 

याक एण्ड यती होटलको बैठकमा १२ जना सांसद मात्र उपस्थित भएको खबर बुढानीलकण्ठसम्म पुगिहाल्यो । यो देउवाका लागि सुखद सन्देश थियो । त्यसैले डा. शेखरको पछिल्लो मुभबारे सोध्ने नेताहरुलाई कांंग्रेस सभापति देउवाले फुर्तिका साथ भन्ने गरेका छन्, ‘संख्या पुर्‍याए भइहाल्यो नि !’

डा. शेखर निकट एक नेता पनि यो कदमले उनलाई फाइदाभन्दा क्षति बढी भएको स्वीकार गर्छन् । किनकी यो प्रकरणले संस्थापन इतर समूहमा अविश्वास बढाएकोे छ र संसदीय दलमा उनी निकै कमजोर छन् भन्ने पुष्टि गरिदिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति