नेभिगेशन
राजनीति

भावुक मन्तव्यसहित लामाले घोषणा गरे मुख्यमन्त्रीबाट राजीनामा

‘इमान्दारिताको लडाईंमा पराजित हुँदा आत्मग्लानी छैन’ 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा घोषणा गरेका छन् । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर उनले आफ्नो पार्टी नेपाली कांग्रेसभित्रको विवादमा सभापति शेरबहादुर देउवाको निर्देशनपछि राजीनामा दिएको उल्लेख गरेका छन् ।

यद्यपि उनले आइतबार प्रदेश प्रमुख यादव शर्मालाई राजीनामा बुझाउन भने पाएनन् । 

पत्रकार सम्मेलनमा लिखित मन्तव्य दिएका उनले आफूलाई मुख्यमन्त्रीबाट किन हटाइएको हो भन्ने प्रश्न भने लामो समयसम्म खट्किरहने र यसको जवाफ चाहिने बताएका छन् । 

‘दुई दलीय गठबन्धनमा बनेका अरु प्रदेश सरकार यथावत रहेको अवस्थामा बागमतीमा किन सरकार परिवर्तन गर्नुपर्‍यो ? पाँच वर्षका लागि चयन भएको दलको नेता किन तुरुन्तै परिवर्तन गर्नुपर्‍यो ?’, लामाले प्रश्न गरेका छन् । 
लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा साउन ९ गते शपथ लिएका थिए । आफूले ३७४ दिन काम गर्दा इमान्दारितापूर्वक काम गरेको र कहीँ कतै गलत हुन नदिएको जिकिर गरेका छन् । 

‘...बदमासी भएन, भ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिन । के यो नै मेरो कमजोरी हो र ? आज इमान्दारिताको लडाइमा पराजित हुनुपर्दा मलाई कुनै आत्मग्लानी छैन र अझ सन्तोषको अनुभूति भएको छ’,लामाले भनेका छन् । 

उनले संसदीय दलको नेता परिवर्तन गरेर सरकार ढाल्नुलाई षड्यन्त्र भनेका छन् । अनि प्रश्न गरेका छन्, ‘यस्तै षड्यन्त्र र प्रपञ्च परम्पराको रुपमा स्थापित भएमा र अन्य प्रदेशमा पनि यस्ता कार्य सुरु भएमा देश कता जाला ?’ 

उनले नवनिर्वाचित संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसँग सहकार्य गरेर जाने पनि बताएका छन् । 

विषम परिस्थितिका बीचमा नेतृत्व गर्नुपरेको, प्रदेशप्रतिको आमधारणा, साथीहरुबाट अपेक्षित सहयोग नभएको, वरिष्ठ सरकारी अधिकृतहरुको अनियमित सरुवा, सरकारमा आएलगत्तै गएको बाढी पहिरो र विपदका कारण चाहे अनुसारको काम गर्न नसकेको लामाले स्वीकार गरेका छन् । 

आफ्नो सरकारले विगतको सरकारले भन्दा ७ प्रतिशत बढी बजेट खर्च गरेको र आन्तरिक आय ११ प्रतिशतले बढाएको उनले बताएका छन् ।

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि साउन १३ गते मतदान भएको थियो । जसमा उनले बहुमत सदस्यको विश्वास पाउन नसकेपछि पदमुक्त भएका थिए । साउन १४ गते संसदीय दलको नेता चयनका लागि भएको मतदानमा लामालाई हराउँदै इन्द्रबहादुर बानियाँ नेता चयन भएका थिए । 

त्यसपछि लामालाई मुख्यमन्त्रीबाट राजीनामा गर्न दबाब बढेको थियो । 

पढ्नुहोस् लामाको वक्तव्य

bahadur-singh-lama-press-realese-1754234904.png
bahadur-singh-lama-press-realese-2-1754234899.png

bahadur-singh-lama-press-realese-3-1754234898.png
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति