नेभिगेशन
राजनीति

रुपन्देही ३ मा रास्वपाबाट ९ जना दाबेदार, को बलियो ?

रुपन्देही–३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । यीमध्ये चार जनाको सम्भावना बढी देखिएको स्थानीय नेताहरु बताउँछन् । 

रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । रास्वपाले साउन ५ गते सूचना निकालेर उम्मेदवार बन्न इच्छुकलाई निवेदन दिन आह्वान गरेको थियो । 

जसमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । 

२०७९ सालको चुनावमा डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले भने रास्वपाबाट उपचुनाव लड्न आवेदन दिएका छैनन् ।  

आवेदन दिएकाहरुमध्ये डा. लेखजंग, ज्ञानु, मधु र जीतबहादुरलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । 

लेखजंग पेशाले न्यूरोसर्जन हुन् । लामो समय न्यूरो अस्पताल, बाँसबारीमा काम गरेका उनलाई डा. उपेन्द्र देवकोटाले विश्वास गरेका डाक्टरका रुपमा हेरिन्थ्यो । पछिल्लो समय उनी महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरमा आवद्ध छन् । 

भैरहवाको अञ्चलपुर घर भएका उनी उनी हालसालै रास्वपामा आवद्ध भएका हुन् । 

ज्ञानु पौडेलसँग स्थानीय तहमा सामाजिक काम गरेको लामो अनुभव छ । जनउत्थान सहकारीमा आवद्ध रहेकी उनको महिलाहरुमा प्रभाव रहेको मानिन्छ ।

डा. लेखजंग र ज्ञानु दुबैको संगठनमा बलियो पकड छैन । उपचुनाव लड्ने योजनाका साथ उनीहरु रास्वपामा आवद्ध भएका हुन् ।

मधु र जीतबहादुर भने रास्वपाको पार्टी संगठनमा बसेर काम गरेका नेताहरु हुन् । 

स्थापनाकालदेखि नै रास्वपामा आवद्ध मधु हाल रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति हुन् । अर्थशास्त्रका प्राध्यापक समेत रहेका जीतबहादुर २०७९ को चुनावमा रुपन्देही ३ मा रास्वपाका उम्मेदवार थिए । 

उनीहरुबाहेक अरु ५ जनाको आवेदन परेको छ । कुसुम मर्हजन रास्वपाकी केन्द्रीय सदस्य हुन् । उपचुनावको प्रतिस्पर्धामा भाग लिनकै लागि उनले २०७९ को समानुपातिक सूचीबाट नाम फिर्ता लिएकी थिइन् । एक नेताका अनुसार उनको रुपन्देही ३ सँगको साइनो भने माइतीको हो । 

सुलभ खरेल पेशाले कानुन व्यवसायी हुन् । रुपन्देही ३ का स्थानीय समेत रहेका उनले उम्मेदवार बन्ने योजनाका साथ केही पहिले मात्र रास्वपाको सदस्यता लिएका थिए । 

पार्थिवेन्द्र उपाध्याय विवेकशील साझा अभियानबाट आएका हुन् । क्याम्पस पढाउँदै आएका उनले ३–४ महिना पहिले मात्र रास्वपाको सदस्यता लिएका थिए ।

रचना क्षेत्री रास्वपाको रुपन्देही जिल्ला कोषाध्यक्ष हुन् भने पुनमकुमारी अग्रवाल रास्वपाको सिद्धार्थनगर नगरपालिका समितिमा रहेर काम गरिसकेकी उम्मेदवार हुन् । 

रास्वपा रुपन्देहीका एक पदाधिकारीका अनुसार आकांक्षीहरु हेर्दा १५/१६ जनाको आवेदन पर्नसक्ने अनुमान गरिएको थियो । तर आकांक्षा देखाएकामध्ये केहीले आवदेन दिएनन् । आवेदन दिएकाहरुमध्ये डा. लेखजंग थापा, ज्ञानु पौडेल, मधु अर्याल र जीतबहादुरलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । 

यद्यपि उम्मेदवारको छनोट मतदानबाट हुनेछ । रास्वपाका लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यका अनुसार उम्मेदवारको नाममाथि साउन २३ र २४ गते दाबी विरोध गर्न पाइनेछ । त्यसपछि साउन २५ गते उम्मेदवारसँग छलफल गरेर रास्वपाले साउन २६ गते प्रारम्भिक नामावली प्रकाशन गर्नेछ । 

साउन २७ देखि भदौ १ गतेसम्म रास्वपाले उम्मेदवारहरुको लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशीताको मापन गर्नेछ । 

भदौ १२ गते बिहान ७ बजेदेखि भदौ १३ गते साँझ ७ बजेसम्म प्रारम्भिक निर्वाचन हुनेछ । प्रारम्भिक निर्वाचनमा रुपन्देही ३ का पार्टी सदस्य, पार्टीका विभिन्न समितिमा रहेका रुपन्देही–३ का सदस्य र केन्द्रीय समितिका सदस्यहरुले मतदान गर्र्नेछन् । 

साउन २६ गतेसम्म रुपन्देही ३ बाट पार्टी सदस्यता लिएकाहरुले प्रारम्भिक निर्वाचनमा मतदान गर्न पाउनेछन् । 

रुपन्देही–३ का पार्टी सदस्यको मतभार ८० प्रतिशत, रुपन्देही ३ बाट विभिन्न समितिमा रहेकाहरुको मतभार १० प्रतिशत र केन्द्रीय सदस्यहरुको मतभार १० प्रतिशत रहनेछ । 

समग्रमा प्रारम्भिक निर्वाचनको मतभार ५० प्रतिशत मात्र हो । लिडरसिप एकेडेमीको २५, पोलिटिकल प्रोक्सिमिटीको २० र समावेशीताको ५ प्रतिशत मत भार छ । 

रास्वपाको उम्मेदवार बन्न सबै मापदण्डबाट गरी सबैभन्दा धेरै मत पाउनुपर्ने छ । त्यसका आधारमा भदौ १५ गते रुपन्देही ३ को उपचुनावका लागि पार्टीको आधिकारिक उम्मेदवार घोषणा हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति