नेभिगेशन
राजनीति

रविलाई भेट्न पुगे मानवअधिकारकर्मी, झ्याल खोलिदिन आग्रह 

मानवअधिकारकर्मीले सोधे : जेल स्थानान्तरण किन नगरिदिएको ? 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको जेलमा आज मानव अधिकारकर्मीहरुले अनुगमन गरेको छ । 

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासहितका मानव अधिकारकर्मी भैरहवा कारागार पुगेर रवि लामिछानेको अवस्थाबारे अनुगमन गरेका हुन् । 

अनुगमनमा गएका मानव अधिकारकर्मीहरुका अनुसार रवि लामिछानेलाई राखिएको टहरामा जस्ताको छानो छ । छानो भन्दा तल जिप्सन लगाइएको छ । कोठामा दुई वटा पंखा छ, एउटा फलामको ठूलो पंखा छ, एउटा टेबुल पंखा छ ।

कोठामा एउटा सोफा छ । एउटा लो बेड छ, लो बेड रविको साइज भन्दा पनि सानो देखिएको अनुगमनमा गएकी इन्सेक प्रतिनिधि रिमा बिसीले बताएकी छन् । 

कोठामा एउटा टेबुल छ, एउटा कुर्सी छ । कोठाभित्रै एउटा शौचालय छ, तर त्यसमा ढोका छैन । 

भुइँमा कार्पेट ओछ्याइएको छ । धोएका लुगाहरु रविले कोठाभित्रै सुकाउने गरेका छन् । 

सूचना थाहा पाउन रविलाई एउटा रेडियो दिइएको छ, रविले किताबहरु पढ्ने गरेका छन् । पत्रपत्रिका भने कारागारमा ल्याउने नगरिएको कारागार प्रशासनले बताएको छ । 

रविले आफैंले मगाएमा पत्रिका ल्याइदिने कारागार प्रशासनको भनाइ छ । 

किन बन्द गरियो झ्याल ? 

कोठाको झ्याल प्लाइउड ठोकेर बन्द गरिएको छ । रविलाई कोठा बाहिर निस्कन दिइएको छैन । 

झ्यालमा किन प्लाइउड राखेर थुनेको भन्ने प्रश्नमा कारागार प्रशासनले २/३ वटा कारण दिएको छ । कारागार खुला भएकाले वरपरका घरका छतहरुबाट पनि सजिलै देखिन्छ । त्यसैले रविकै सुरक्षाका लागि झ्याल थुनेको जवाफ कारागार प्रशासकले दिएका छन् । 

त्यस्तै भारतीय सीमा नजिक भएका कारण पनि रविको सुरक्षामा संवेदनशीलता अपनाइएको कारागार प्रशासनको भनाइ रहेको आयोगकी सदस्य लिली थापाले बताइन् । 

विगतमा बाहिरबाट जेलभित्र ढुंगा र इँटा हानेको घटना भएकाले रविकै सुरक्षाका लागि झ्याल थुनेको जवाफ दिएका इन्सेककी रिमा बिसीले बताइन् । 

भुइँतला भएकाले सर्प पस्न सक्ने भएकाले पनि झ्याल थुनेको उनीहरुको जवाफ छ । 

मानवअधिकारकर्मीको टोलीले झ्याल खोलेर स्वच्छ हावा लिन पाउने अधिकारबाट वञ्चित नगर्न कारागार प्रशासनलाई आग्रह गरेको छ । 

‘सुरक्षाको जिम्मा सरकारको हो, बन्दीलाई न्यूनतम मानव अधिकारबाट वञ्चित गर्न पाइँदैन’, आयोगकी सदस्य थापाले भनिन् । 

खानामा भने कुनै रविले कुनै कम्प्लेन नभएको बताएका छन् । 

रविले जेल स्थानान्तरण गरिदिन निवेदन दिए पनि सरकारले सुनुवाइ गरेको छैन । मानव अधिकार आयोगले स्थानान्तरण नगरिदिनु गम्भीर भएको बताएको छ । 

रविको जेलभित्रै स्वच्छ वातावरणमा हिँडडुल गर्न पाउने अधिकार, शुभचिन्तक र कार्यकर्तालाई सहज ढंगले भेट्न पाउने अधिकार दिन पनि आयोगले आग्रह गरेको छ । 

कारागारको खानामा भने रविले कुनै गुनासो नभएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति