नेभिगेशन
राजनीति

राजावादीदेखि समाजवादी मोर्चासम्म, कसको जुलुसमा कति मान्छे ?

विरोध प्रदर्शन, जुलुस र आमसभा दलहरुले आफ्नो पक्षको माहोल हेर्ने उपयुक्त माध्यम हो । सत्तामा होस् कि विपक्षमा, नागरिकको साथ मलाई कति छ भनेर दलहरुले यस्तै सार्वजनिक कार्यक्रमबाट परीक्षण गर्न सक्छन् । 

२०८१ साल चैत र २०८२ को वैशाख, जेठ र असार काठमाडौंका सडकमा राजनीतिक दल र सामाजिक संघ संगठनले धेरै विरोध कार्यक्रम, आमसभा र प्रदर्शन आयोजना गरे । 

सबैभन्दा लामोचाहिँ नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलन  थियो र यो एक महिनासम्म चलेको थियो । 

सार्वजनिक कार्यक्रममा मान्छे धेरै देखाउन दल र तिनका अनुयायीले बस रिजर्ब गर्नेर कार्यकर्ता र सर्वसाधारणलाई काठमाडौं ल्याउँछन्, अझ काठमाडौंमा खाने बस्ने व्यवस्था समेत गरिदिन्छन् ।

अनि यसरी आएका नेता कार्यकर्ताको भिड देखाएर सामाजिक सञ्जालमा फोटो भिडियो पनि पोस्ट गर्छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८१ साउन १ देखि २०८२ असार मशान्तसम्म काठमाडौंमा ४४४ वटा धर्ना र ३७२ वटा विरोध प्रदर्शनका घटना भएका थिए । 

त्यस्तै ६८ वटा विरोध र्‍याली, ६४ वटा तालाबन्दीका घटना भए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार देशभर भएका धर्नाको ४२ प्रतिशत काठमाडौंमै भएको थियो । 

यस्ता प्रदर्शनमा सुरक्षाा व्यवस्था मिलाउन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हुन्छ । उनीहरुले भिडलाई उत्तेजित हुन नदिने, निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने र निजी तथा सार्वजनिक सम्पत्तिमा आक्रमण गरेमा रोक्ने काम गर्छन् । 

प्रहरीले प्रदर्शनमा उपस्थित मानिसहरुको आकलन गरेर त्यही आधारमा सुरक्षाकर्मी परिचालन र्छ । कुनै पनि प्रदर्शनमा कति मानिस उपस्थित थिए भनेर प्रहरीले गर्ने अनुमानलाई धेरैले विश्वास गर्छन् । 

अब २०८१ फागुन–चैतदेखि २०८२ वैशाख–जेठमा काठमाडौंमा भएको मुख्य प्रदर्शनमा कति मान्छे थिए भन्नेबारे कुरा गरौं । 

गत वर्ष धेरै मानिसको भिड भएको एउटा घटना हो, फागुन २५ गते त्रिभुवन विमानस्थल बाहिर । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा उनको स्वागतमा राजतन्त्र पक्षधहरु जम्मा भएका थिए ।

उनले फागुन ७ गते आफू अघि बढिसकेको भन्दै नागरिकलाई साथ दिन आग्रह गरेका थिए । त्यसपछि राजतन्त्र पक्षधर दल र संघसंस्थाहरु पूर्वराजालाई स्वागत गर्न पुगेका थिए ।

सर्वसाधारण्ले विमानस्थलदेखि महाराजगञ्ज निर्मल निवाससम्म पूर्वराजालाई स्कर्टिङ गरेका थिए । त्यो स्वागत र्‍यालीमा १० देखि १२ हजार जना उपस्थित भएका जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमान छ । 

२०८१ सालमा नै निकालिएको अर्को ठूलो प्रदर्शन हो, तीनकुने घटना । जुन घटनामा एक पत्रकारसहित २ जनाको मृत्यु भयो भने व्यक्तिगत घर, पार्टी कार्यालय, सञ्चार प्रतिष्ठान र उद्योगहरुमा आगजनी र तोडफोड भए ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट राष्ट्यिता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आयोजना गरेको त्यो प्रदर्शनमा ८ देखि १० हजार जना उपस्थित रहेको प्रहरीको छ ।

तीनकुनै घटनामा ७७ वटा सवारी साधन र ५६ वटा घर तथा भवन तोडफोड भएको थियो । ५५ जना प्रहरी घाइते भएका थिए भने ५४ जना प्रदर्शनकारी घाइते भएका थिए । 

त्यसै दिन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्मिलित समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डमा प्रदर्शन आयोजना गरेको थियो । तयो प्रदर्शनमा २० देखि २५ हजार उपस्थित भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । 

नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न माग गर्दै २०८१ चैत २० देखि २०८२ वैशाख १७ गतेसम्म काठमाडौंमा सडक प्रदर्शन गरेको थियो । शिक्षक आन्दोलनका क्रममा माइतीघरदेखि बानेश्वरसम्म हरेक दिन १२ देखि १५ हजार मानिस उपस्थित रहेको प्रहरीको अनुमान छ । 

दुर्गा प्रसाई नेतृत्वको समूहले तीनकुनेमा गरेको प्रदर्शनपछि आन्दोलमा सहभागी १०० जना भन्दा बढी पक्राउ परे । आन्दोलनमा जानेहरु पनि त्रासमा परे । सरकार र गणतन्त्र पक्षधरले तीनकुनेको आन्दोलनलाई लिएर राजतन्त्र पक्षधरको आलोचना गरिररहेका थिए ।

त्यही बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते काठमाडौंको बल्खुमा गरेको कार्यक्रम राखेको थियो । यो कार्यक्रममा ६ देखि ७ हजार मानिस सहभागी भएको जिल्ला प्रहरी परिसरको अनुमान छ । 

काठमाडौंमा गत जेठमा पनि सडक प्रदर्शनका घटना धेरै भए । राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल तथा समूह संलग्न राजतन्त्र पुनस्र्थापना जनआन्दोलन समितिले जेठ १५ देखि शान्ति बाटिकामा निरन्तर प्रदर्शन गर्ने घोषणा गर्‍यो । 

तर त्यसै दिन नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले भृकुटीमण्डप र टुँडिखेल वरपर गणतन्त्र उत्सव आयोजना गर्‍यो । 

कार्यक्रममा झाँकीसहितको प्रदर्शन तथा र्‍याली गरिएको थियो । त्यो कार्यक्रममा ५ हजारदेखि ६ हजार मानिस सहभागी भएको प्रहरीको अनुमान छ । 

जेठ १५ गते नै राजसंस्था पु्नर्स्थापना जनआन्दोलन समितिले काठमाडौंको शान्तिवाटिकामा र्‍याली निकालेको थियो । त्यो र्‍यालीमा ८ हजार देखि १० हजार जना सहभागी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति