नेभिगेशन
राजनीति

आलोचनाले डराए देउवा : हिजो देवेन्द्रले पार्टी सदस्यता दिए, आज खारेज

नेपाली कांग्रेसले महोत्तरीका देवेन्द्र यादवलाई दिएको सदस्यता २४ घन्टामै खारेज गरेको छ । यादव बिहीबार मात्र कांग्रेस प्रवेश गरेका थिए । सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले नै सदस्यता दिएका थिए ।

तर फरार अभियुक्तलाई सदस्यता दिएको भनेर आलोचना भएपछि कांग्रेस नेतृत्व हच्कियो । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका सई थमन विकको हत्या भएको थियो । त्यही घटनामा लोकतान्त्रिक समाजवादी पार्टीका यादव पनि प्रतिवादी थिए । प्रहरीको सूचीमा उनी अहिले पनि फरार छन् ।

नेविसंघको राजनीति गरेका उनी २०६४ सालमा महन्थ ठाकुरले तमलोपा गठन गर्दा साथमै गएका थिए । महोत्तरी क्षेत्र नम्बर ४ का यादव लोसपामा पछिल्लो समय  निष्क्रिय जस्तै थिए । कांग्रेस नेताहरुसँग सम्वादमा थिए ।

पछिल्लो समय मधेशका कांग्रेस नेताहरुले पुरानालाई फर्काउने अभियान चलाइरहेका छन् । त्यसक्रममा सहमहामन्त्री महेन्द्र यादव लगायतले देवेन्द्रलाई पनि कांग्रेसमा आउन आग्रह गर्दै आएका थिए । हालै देवेन्द्र पनि तयार भए ।

महामन्त्री यादव लगायतले नै बिहीबार विहान पार्टी कार्यालय सानेपा पुर्‍याए । देउवा सहितका नेताहरु प्रचार विभागले आयोजना गरेको कार्यक्रमका लागि त्यहाँ पुगेका थिए ।

त्यही बेला देवेन्द्रलाई भेटाए । देउवा र शर्माले पार्टीको सदस्यता दिए । तर फरार अभियुक्तलाई पार्टी सदस्यता दिएको भनेर चर्को आलोचना भयो । त्यसपछि देउवाले नै आलोचना गर्ने ठाउँ नदिऊँ भन्दै सदस्यता खारेज गर्न निर्देशन दिएका हुन् ।

शुक्रबार साँझ मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यादवको सदस्यता खारेज गरेको जानकारी गराएका छन् । साथै  कानुनी कारबाहीको प्रक्रियाका सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकषर्ण गराइएको उल्लेख छ ।

देवेन्द्रलाई प्रवेश गराउन ल्याउने पार्टीका नेताहरुबारे समेत गम्भीरतापूर्वक जानकारी लिने काम भइरहेको पौडेलले बताएका छन् ।

nepali-congress-2-1755271379.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति