रविलाई भेटेपछि प्रचण्ड : कांग्रेस–एमालेले आफ्नै खुट्टामा बञ्चरो हाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
बुधबार साँझ नख्खु कारागार पुगेका प्रचण्डले जेलमा रविको अवस्था र राष्ट्रिय राजनीतिका विषयमा कुरा गरेको बताएका छन् ।
पत्रकारसँगको कुराकानीमा उनले सत्तारुढ कांग्रेस र एमालेले रविमाथि गरेको व्यवहारका कारण देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता बढेको टिप्पणी गरे ।
‘कांग्रेस एमालेले जसरी विभेद गरेको छ, त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको छ भन्ने उहाँले राम्रो बुझ्नुभएको रहेछ’, प्रचण्डले पत्रकारहरुसँग भने, ‘कांग्रेस एमालेले आफ्नै खुट्टामा बञ्चरो हान्ने काम किन गरेका होलान् भन्ने उहाँले राख्नुभयो ।’
आफूजस्तै सहकारी ठगीको आरोप लागेकाहरुमाथि कडा कारबाही नभएको भन्दै रविले आफूलाई सरकारले किन विभेद गर्यो भन्ने बुझ्न नसकेको बताएका प्रचण्डको भनाइ छ ।
रविले जिल्ला अदालत रुपन्देहीमा आरोपपत्रमा उल्लेख भएको बिगोमध्ये आफ्नो भागको बिगो बुझाएर थुनामुक्त हुन निवेदन दिएका थिए । तर अदालतले उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।
यही विषय उठाउँदै प्रचण्डले रविले सरकार किन आफूप्रति अनुदार भएको बुझ्न नससकेको बताएको उल्लेख गरे ।
‘उपसभामुखलाई झम्टिनु गलत’
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्नु गलत भएको बताए । मंगलबार कांग्रेस र एमाले सांसदहरुले उपसभामुखलाई पद अनुकुलको आचरण नगरेको भनेर सभामुखलाई निवेदन दिन हस्ताक्षर संकलन गरेका थिए ।
‘उपसभामुखलाई झम्टिने काम यो गठबन्धनले गरेको छ ।... टेक्निकल कुरालाई लिएर जे गरियो त्यो गलत छ भनेको थिएँ, आज रविजीसँग पनि त्यो कुरा भएको छ’, उनले भने ।
उनले सत्ता गठबन्धनले उपसभामुखलाई नभई संविधान, लोकतन्त्र र अहिलेको व्यवस्थामाथि नै प्रहार गरेको टिप्पणी गरे । ‘इन्दिरालाई देखाएर सबै संवैधनिक निकाय कब्जा गर्न खोजेको छ’, प्रचण्डले भने ।
यो कदमले नागरिकमा कांग्रेस–एमालेको जनमत झन् खस्किएको प्रचण्डले दाबी गरे । ‘सरकारले जे गरेको छ, यसले कांग्रेस र एमालेको स्थिति आम जनतामा धेरै नै खस्केको छ, के नबुझेको होला, जनता सम्पूर्ण कांग्रेस एमाले विरोधी भइसके’, उनले भने ।

राष्ट्रपति र प्रधानसेनापतिलाई प्रचण्डको धन्यवाद

जेनजी आन्दोलनबाट यो संविधान खारेज नगर्नु गम्भीर चुक भयो : राप्रपा

सीके राउतको राजीनामा मागेका जनमतका ६ पदाधिकारीले दिए राजीनामा

सीके राउतलाई नेताहरुको आग्रह : २४ घण्टाभित्र राजीनामा दिनुस्

हर्क साम्पाङ किन रिसाए बालेनसँग ?
