पूर्व राष्ट्रपतिलाई ओलीको जवाफ : सदस्यता प्यारो भएको भए राष्ट्रपति हुन्न भन्नुपर्थ्यो

६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति चर्को असन्तुष्टि जनाएका छन् । पूर्वराष्ट्रपति भण्डारी, पार्टीमा सँधै असन्तुष्ट रहेकाहरु र चुनाव हारेका मान्छेहरु भेला गरेर कुदिरारहेको भन्दै उनले चेतावनीको भाषामा भनेका छन्, यो ठीक भएन ।'
पूर्वराष्ट्रपति भण्डारी एमालेमा सक्रिय हुन चाहेकी थिइन् । १४ असारमा मदन भण्डारीको स्मृति दिवसको अवसरमा उनले एमालेको सदस्यता नविकरण गरेको घोषणा समेत गरेकी थिइन् । तर एमाले नेतृत्वले भण्डारीलाई स्वागत गरेन ।
बरु पूर्व राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किन नहुने निर्णय गर्यो । उनको सदस्यता नविकरण भएन । त्यसका बाबजुद भण्डारीको सक्रियता रोकिएको छैन । हालै विराटनगर गइन्, काठमाडौंको थापागाउँमा ७५औं मदन भण्डारी जन्म जयन्ती मुल व्यवस्थापन समितिको कार्यालय खोलेकी छन् ।
त्यसक्रममा उनले एमाले जन्मिनुभन्दा अगाडि आफूले लिएको सदस्यता च्यासलले खाइदिएको टिप्पणी गरेकी थिइन् ।
एमालेको मुख्यालय, च्यासलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री समेत रहेका ओलीले भण्डारीलाई जवाफ फर्काएका छन् ।
पूर्व राष्ट्रपति भण्डारीको सदस्यता आफूहरुले नखोसेको उनले बताए । पूर्व राष्टपतिको सन्दर्भमा भ्रम नपरोस् भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘राष्ट्रपति हुने बेलामा उहाँले परित्याग गर्नुभएको हो । परित्याग गरेरै राष्ट्रपति हुन जानुपर्छ ।’
भण्डारीले २०७२ सालमा कात्तिक १२ वा १३ गते परित्याग गरेको सुनाए । राष्ट्रपतिको कार्यकाल सकिएपछि कर्मचारीलाई झुक्याएर सदस्यता नविकरणको फारम भनेको समेत आरोप लगाए । ‘छोडेको सदस्यता नविकरण हुँदैन, भइरहेको सदस्यता मात्र नविकरण हुन्छ’, उनले भने, ‘तपाईँसँग सदस्यता नै छैन भने नविकरण कहाँबाट हुन्छ ?’
एमालेको सदस्यता निरन्तरता दिन चाहेको हो भने पार्टीमा कुरा गरेर निवेदन दिनुपर्ने उनले बताए । ओलीले भने, ‘सदस्यता प्रक्रियामा आउनु भएको छैन । कार्यालयमा आएर दर्ता चलानी टाँटबाट सदस्यता नविकरण गरेँ भनेर शुल्क तिर्दैमा सदस्यता नविकरण हुन्छ ?’
पूर्व राष्ट्रपतिले मेरो सदस्यता प्यारो छ भनेको सुनेको भन्दै एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘राष्ट्रपति हुन नजानुपर्थ्यो नि त !’
उनी त्यतिमा रोकिएनन् । भण्डारीमाथि पार्टीमा समस्या खडा गर्न खोजेको आरोप लगाए । दुई दुई पटक राष्ट्रपति बनाएको व्यक्ति फर्किएर पार्टीमा समस्या खडा गर्नु हुन्छ भन्ने कल्पना नगरिएको भन्दै उनले भने, पार्टीको एकतामा बल गर्नुपर्नेमा सँधै असन्तुष्ट रहेका र चुनाव हारेका मान्छेहरु भेला गरेर कुदिराख्नु भएको छ छ ।'
ओलीले अगाडि भने, ‘जननेता मदन भण्डारीको अर्को वर्ष आउने जन्म दिन मनाउन अहिले पार्टी कार्यालय खोल्नुपर्छ ? यो उहाँको तरिका ठीक भएन ।’

जेनजी आन्दोलनबाट यो संविधान खारेज नगर्नु गम्भीर चुक भयो : राप्रपा

सीके राउतको राजीनामा मागेका जनमतका ६ पदाधिकारीले दिए राजीनामा

सीके राउतलाई नेताहरुको आग्रह : २४ घण्टाभित्र राजीनामा दिनुस्

हर्क साम्पाङ किन रिसाए बालेनसँग ?

चुनावको पक्षमा खुले गगन, महामन्त्री छाड्न पनि तयार
