नेभिगेशन
राजनीति

रास्वपा उम्मेदवार डा. थापाको स्पष्टीकरण : दुईवटा बिहे गरेको हो, एक जनासँग सम्बन्ध विच्छेद भइसक्यो

१७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही ३ मा उम्मेदवार बनेका डा. लेखजंग थापाले आफ्नो पारिवारिक जीवनबारे उठेको प्रश्नमा स्पष्टीकरण दिएका छन् । उनले आफूले दुईवटा बिवाह गरेको स्वीकार गरेका छन् र तर एक जनासँग सम्बन्ध विच्छेद भइसकेको बताएका छन् ।

रास्वपाले आइतबार मात्र रुपन्देही ३ को उपचुनावका लागि डा. थापालाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । थापा सोमबार पत्रकार सम्मेलन गर्ने तयारीमा थिए । तर बहुविवाह गरेको भन्दै पार्टीमा उजुरी परेको विषय बाहिरियो । पत्रकार सम्मेलन रोकियो ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्पष्टीकरण दिएका छन् । उनले जीवनमा दुई पटक बिहे गरेको स्वीकार गरेका छन्, तर एक जनासँग सम्बन्ध विच्छेद भइसकेको भन्दै २०७९ माघ १५ गतेको अदालतको कागज पनि सार्वजनिक गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘त्यो भन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’

सम्बन्ध विच्छेद गरपेनि सम्बन्ध तितो हुनुपर्छ भन्ने नभएको र टुटेको सम्बन्धहरुले बच्चाहरुको जीवन बर्बाद हुनु हुँदैन भन्ने आफ्ना लागि महत्वपूर्ण भएको रास्वपा उम्मेदवार डा. थापाले बताएका छन् ।

उनले भनेका छन्, सन्तानको भविष्यका लागि उसको जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि मेरो सम्बन्ध सौहार्दपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन ।’

रास्वपा उम्मेदवार डा. थापाले आफ्नो पारिवारिक जीवन गैरकानुनी र समस्याग्रस्त नभएको दाबी गरेका छन् । साथै आफूमाथि उठेको प्रश्न व्यक्तिगत आक्रमण मात्र नभई रास्वपामाथिकै सुनियोजित आक्रमण भएको समेत दाबी गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति