नेभिगेशन
राजनीति

उपसभामुख इन्दिरा राना : मेरो राजीनामा माग्ने कुनै आधार छैन

१७ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले आफूमाथि लागेको मानव बेचबिखनको आरोप राजनीतिक षड्यन्त्रबाट प्रेरित भएको बताएकी छन् । संवैधानिक परिषदमा नेपाली कांग्रेसको प्रतिनिधित्वका लागि ठूला दलहरुले षड्यन्त्रपूर्वक आफूलाई उपसभामुखबाट हटाउन खोजेको उनको दाबी छ ।

एमाले सांसद योगेश भट्टराईले हालै मात्र बालमन्दिरबाट लगेको ५ जना बालबालिकाको विषय उठाएका थिए । यसबारे प्रहरीले समेत अध्ययन गरिरहेको बताएको छ ।

तर न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपसभामुख राना मगरले यो विषय पहिल्यै प्रष्ट भइसकेको बताइन् । उनले भनिन्, ‘१० वर्ष अगाडिको कुरा हो । बाबुआमाले कागज गरेर दिएको छ, बच्चाहरु पढिरहेका छन् ।’

उपसभामुख राना मगरले संवैधानिक परिषद्को सदस्यका लागि यस्तो आरोप लगाएर आफूलाई हटाउन खोजेको हो भने स्वीकार्य नहुने बताइन् । उनले भनिन्, ‘मेरो राजीनामा माग्ने कुनै आधार छैन । मैले बाल बेचबिखन रोक्न नै काम गरेकी हुँ ।’

यसअघि अमेरिकी दूतावासलाई लेखेको भनिएको चिठीको विषयमा उनीमाथि प्रश्न उठेको थियो । तर उनले आफूले चिठ्ठी तयार पारेपनि नदिएको र कोही पनि अमेरिका नगएको दाबी गरिना् । उनले भनिन्, ‘यो प्रहार म, मेरो पार्टी वा समग्रमा भएको हुनसक्छ । प्रतिशोधले देश अघि बढ्दैन ।’

उनले आफूले बालसंरक्षणमा ३५ वर्षसम्म गरेको कामलाई कलंकित नबनाउन समेत आग्रह गरिन् ।

‘मैले ट्राफिकिङ रोक्न र शिक्षामार्फत परिवर्तन ल्याउन काम गरेँ । राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार पाएकी मलाई बच्चाजस्तो व्यवहार गर्नु राम्रो होइन’, उपसभामुख राना मगरले भनिन्, ‘सरकारले लोकतन्त्रको अनुभूति हुनेगरी काम गर्नुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति