नेभिगेशन
राजनीति

सिहंदरबार, नारायणहिटी र राष्ट्रपति कार्यालय क्षेत्रमा पनि कर्फ्यु 

सोसल मिडियामाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन चर्किएपछि बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको सरकारले अन्य क्षेत्रमा पनि कर्फ्यु थप गरेको छ । 

पहिले सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो १ बजेदेखि पुनः कर्फ्यु लगाउने क्षेत्र थप गरेको हो । 

राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबारको चार किल्ला क्षेत्रभित्र पनि कर्फ्यु लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जनाएका छन् । 

चार किल्ला तोकेको क्षेत्रमा आवतजावत गर्न, कुनै भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने प्रशासन कार्यालयले जनाएको छ । 

बानेश्वर क्षेत्रमा कर्फ्यु लगाउँदा पनि आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति