राष्ट्रपति र जेनजीलाई कांग्रेस महामन्त्रीको अपील : संविधान बमोजिम समाधान खोज्नुस्
                                                                    
                                
                            २५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजी पुस्तासँग वार्ता र सम्वादका लागि राष्ट्रपतिले लिएको पहलको स्वागत गरेका छन् ।
साथै ‘आवश्यकताको सिद्धान्त बमोजिम’ भनेर हुने निर्णय संविधान बमोजिम संवैधानिक बाटोबाट हुनुपर्नेमा समेत जोड लिएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले नौबुँदे संयुक्त विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएको घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अगाडि बढाउन सबैले संयम र एकताका साथ प्रस्तुत हुन जरुरी रहेको बताएका छन् ।
र, सम्वादबाटै समाधान खोज्न र जेनजी पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पुर्याउन समेत अपील गरेका छन् । महामन्त्रीद्वयको विज्ञप्तिमा भनिएको छ, ‘त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम बैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहन्छौं ।’
विधिविहीनताले थप अराजकता निम्त्याउने भन्दै उनीहरुले अगाडि भनेका छन्, ‘अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउन देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस् । संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहने छ ।’
 
थापा र शर्माले सोमबारको प्रदर्शनमा भएको अत्याधिक बल प्रयोग गर्नु गम्भीर अपराध भएको बताएका छन् । र, उच्चस्तरीय आयोगमार्फत गहिरो छानबिन गरेर दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न आफूहरुले गरेको आग्रह र दबाव स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी रहेको महामन्त्रीद्वयले बताएका छन् ।
‘आफूहरुको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनीतिक नेतृत्वले स्थितिको सही आकलन आफू गर्न सक्नुपर्छ वा अरुले दिएको सही सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ, ‘यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो, त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं ।’
सिंहदरबार, शीतल निवास, संसद भवन, सर्वोच्च अदालत लगायतका ऐतिहासिक धरोहर र खर्बौंको संरचना, अनि लोकतान्त्रिक संस्थाहरु ध्वस्त गर्ने घोषणा र माग जेनजीको नभएको महामन्त्रीद्वय थापा र शर्माको विश्वास छ ।
उनीहरुले भनेका छन्, ‘जेनजी आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतबश पसेकाहरुको योजनावद्ध रुपमा यो सब विध्वशं गरेका हुन् भन्ने हाम्रो बुझाइ छ ।’
नयाँ सरकारले देशव्यापी रुपमा भएको ध्वंशको छानबिन गर्न र पुनर्निर्माण गर्ने योजना अगाडि सार्नुपर्नेमा समेत थापा र शर्माले बताएका छन् ।
आत्मालोचना
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको विषयमा गम्भीर आत्मसमीक्षा गरिरहेको बताएका छन् ।
‘त्यसक्रममा सत्तालाई जवाफदेही बनाउन गरेको हाम्रो प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकामा हामी आत्मालोचित छौं ।’
संयुक्त विज्ञप्तिमा उनीहरुले फेरिएको परिस्थितिमा युवाहरुको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा कांग्रेसलाई जरैदेखि पुनर्निर्माण गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
‘हामी विश्वस्त छौं, आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको कांग्रेस आम जनताको अपेक्षा, जेनजी युवाहरुको भावना र अभिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अगाडि आउने छ ।’
महामन्त्रीद्वयले देशलाई २०७२ को संविधानभन्दा पछाडि फर्किन नदिन आफूहरुको सम्पूर्ण प्रयास हुने बताएका छन् ।
‘परिर्वतनले सदैव अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा हामी दृढ ढंगले प्रष्ट छौं’, महामन्त्रीद्वयको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
साथै विषम परिस्थितिमा संयम रहन, विवेकपूर्ण ढंगले कार्य गर्न र एकतावद्ध रहन सबै सबै सदस्य र शुभचिन्तकलाई अपील गरेका छन् ।
हेर्नुहोस् गगन थापा र विश्वप्रकाश शर्माको प्रेस विज्ञप्ति




 
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    

-1761836913.jpg)



