नेभिगेशन
राजनीति

दलमाथि प्रतिबन्ध हुँदैन, सबैले चुनावबाटै स्थापित हुनुपर्छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले दलमाथि प्रतिबन्ध नलाग्ने बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले दलमाथि प्रतिबन्ध लगाउनु संविधान विपरीत हुने बताए । 

‘दलमा प्रतिबन्ध लगाउने कुरा छैन । त्यो चाहिँ सर्वथा संविधान विपरीत हुन्छ, जो विस्थापित हुनुभयो, फेरि पुनरागमन हुने अवस्था रहेछ, अझै पनि जनताले फ्रेस म्यान्डेट दिन्छ भन्नुहुन्छ भने इलेक्सनमा जानुपर्छ’, उनले भने, ‘नयाँ, जसले जनव्रिदोहमा जित्नुभयो, त्यसको पनि पुष्टि चाहिँ लोकतान्त्रिक प्रक्रिया निर्वाचनबाट हुनुपर्छ ।’

त्यसका लागि निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्ने भन्दै मन्त्री अर्यालले त्यो काम अहिलेको सरकारले गर्ने बताए । 

जेनजी पुस्ताको आन्दोलनका क्रममा मृत्यु भएकाहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने मन्त्री अर्यालले बताए । उनीहरुलाई कुन स्तरको सम्मान दिने भन्ने चाहिँ मन्त्रिपरिषदले निर्णय गर्नेछ । 

मन्त्री अर्यालले सोमबार पदभार ग्रहण गर्दैै जेनजी आन्दोलनका मृतकबारे ३ वटा निर्णय गरेका छन् । उनले आन्दोलनमा मृत्यु भएको घटनालाई राष्ट्रिय शोकका रुपमा मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका छन् । 

त्यस्तै मृतकको परिवारलाई काजकिरिया वापत जनही १ लाख रुपैयाँ दिने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधनको व्यवस्था गर्ने पनि निर्णय गरेका छन् । दुर्गम ठाउँमा शव लैजान हेलिकप्टरको व्यवस्था गर्ने पनि उनले निर्णय गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति