नेभिगेशन
राजनीति

राष्ट्रपति र प्रधानसेनापतिलाई प्रचण्डको धन्यवाद

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र सेनापतिको प्रशंसा गरेका छन् । दुबैले संविधान रक्षाका लागि भूमिका खेलेको उनको विश्लेषण छ ।

जेनजी आन्दोलन सफल भएसँगै अन्तरिम सरकार गठनका क्रममा भएको राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट हेरेको र सहजीकरण गरेको उनले सुनाए । अन्तरिम सरकार गठन गरेर भएपनि संविधान र राष्ट्रपति बचाउनुपर्छ भनेर लागेको प्रचण्डले सुनाए ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले राष्ट्रपतिलाई धन्यवाद दिए । ‘निकै अठ्यारो स्थितिबाट संविधान रक्षामा दह्रो उभिनुभएको हो । उहाँ नउभिएको भए आज जे स्थिति छ, शायद त्यो हुँदैनथ्यो’, प्रचण्डले भने ।

यसक्रममा आफूले प्रधानसेनापतिको भूमिका पनि हेरेको उनले सुनाए । ‘उहाँले यदि राजनीतिक रुपले निकास निस्किएन भने देश यो भन्दा भयानक अठ्यारो स्थितिमा जानसक्छ भनेर कोशिस गरेको देखेँ’, प्रचण्डले भने, ‘उहाँ पनि धन्यवादको पात्र हुनुहुन्छ ।’

उनले अन्तरिम सरकार गठन गर्दा आफूहरुको चाहना त संसदबाट अनुमोदन होस् भन्ने रहेको पनि खुलाए । 

तर तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने र नयाँ प्रधानमन्त्रीको सिफारिसमा संसद भंग गर्ने राष्ट्रपतिको कदममा संविधान बचाउने भावना अन्तरनिहीत रहेको प्रचण्डले सुनाए ।

माओवादी अध्यक्ष प्रचण्डले देश अझै पनि दुर्घटनाको जोखिममा रहेको सुनाए । त्यसैले अब निर्वाचन सम्पन्न गर्नुपर्ने र जेनजीको भावना अनुसार संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति