कांग्रेस पुनर्गठनका लागि गगनले अघि सारे दुई विकल्प
४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनका लागि दुई विकल्प अगाडि सारेका छन् ।
पहिलो, १५औं महाधिवेशन गर्ने र पार्टी सदस्यहरुबाट नेतृत्व चुन्ने । यसका लागि पुरानो क्रियाशील सदस्यता नवीकरणलाई यत्तिकै छाडेर सबैको नवीकरण गर्ने । एक-दुई महिनाका लागि नयाँ क्रियाशील खोल्ने । पार्टी सदस्य बन्न चाहनेहरुलाई स्वीकार गर्ने र सदस्यहरुबाट सभापति चुन्ने । अरु कामहरु क्रमश: गर्ने ।
दोस्रो, सबै पदाधिकारीले राजीनामा दिने र विशेष महाधिवेशन गर्ने । यसमा पुरानै क्रियाशील सदस्यहरुले मत हाल्ने र नयाँ नेतृत्व चुन्ने । विशेष महाधिवेशनबाट बन्ने नयाँ नेतृत्वले पार्टीको नीति, नियममा भएका कमजोरी सच्याउँछ ।
‘यो भन्दा अर्को बाटो छैन’, शनिबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले भनेका छन् ।
जेनजी आन्दोलनपछि दलहरुमा नेतृत्व परिर्वतनको माग चर्को उठेको छ । कांग्रेसमा पनि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको बैठकमै यो मुद्दा उठाएका थिए ।
तर जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेर घाइते भएका सभापति शेरबहादुर देउवा उपचारका क्रममा रहेकाले थप छलफल भएन । केन्द्रीय कार्यसमिति बैठक बसेर छलफल गर्ने भनिएको छ ।
महामन्त्री थापाले सभापतिको स्वास्थ्यबारे जानकार रहेको बताएका छन् । ‘कतिपय साथीहरुले भन्नुभएको छ, सभापति उपचार गराइरहेका बेला यस्तो असंवेदनशील कुरा गर्न सुहाउँछ’, उनले भनेका छन्, 'हामी कोही पनि संवेदनाहीन छैनौं । सभापतिको स्वास्थ्यबारे निरन्तर जानकारी लिइरहेका छौं ।’
सभापति अस्पताल भएको बेला यसो गरिहालौं नभनेको उनले बताएका छन् । सल्लाह गरेर अगाडि बढ्ने बताए । सभापतिलाई नै तपाईंले पहिलो कदम चाल्नुस् भनेको हो ।
'तर एउटा कुरा चाहिँ हो, मनाउने हो । फकाउने हो’,महामन्त्री थापाले भिडियोमा भनेका छन्, 'तर कोही मान्नु भएन, फकिनु भएन भने चाहिँ त्यसको आधारमा हात उठाउने होइन । अगाडि बढ्ने हो, यो भन्दा अर्को उपाय छैन ।’
कतिपयले आफ्ना बारेमा सोचेर भनेको छ भन्ने गरेको पनि उनले सुनाए । तर त्यसो नभएको दाबी गर्दै महामन्त्री थापाले भनेका छन्, ‘पार्टी रुपान्तरणको अभियानमा लाग्दै गर्दा जस्तोसुकै मूल्य चुकाउन तयार छु । पार्टीको साधारण सदस्य मात्र भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु ।’
‘किनकी यो मेरो विषय मात्र होइन । म भन्दामाथि पार्टी छ, पार्टीभन्दा माथि देश छ । आज देश दनदन्ती जलिरहेको बेलामा निभाउन सक्ने ताकत हामीले राख्न सक्नुपर्छ । सँगसँगै यो पनि बिर्सनु हुन्न किन बलिरहेको छ ?’
उनले नौजवानहरुको मर्म बुझ्न आग्रह गरे । ‘उनीहरुले चेन्ज खोजेका छन् । त्यो चेन्जको माग सम्बोधन गर्न सक्ने पार्टी भयो भने मात्र हाम्रो अर्थ हुन्छ, नभए हुँदैन’, महामन्त्री थापाले भनेका छन्, ‘यस्तो पार्टी बनाउन सक्यो भने मात्र त्यो पार्टीले उनीहरुले सोचेको जस्तो देश बनाउन योदान गर्न सक्छ ।’
त्यो अवस्थामा मात्र जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली दिने र घाइतेहरुलाई भेट्न सक्ने अवस्था बन्ने उनले बताएका छन् ।
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन


-1761836913.jpg)



