'आन्दोलनको मौका छोपेर लुटपाट गर्नेहरु धेरै भए, हेरेर बस्न सकेनौं'
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको विरोधमा भदौ २४ गते काठमाडौंसहित देशका धेरै शहरमा ठूलो प्रदर्शन भयो ।
त्यो आक्रोशपूर्ण प्रदर्शन दिउँसोदेखि विध्वंशमा परिणत भयो । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरु जले । पार्टी कार्यालय, नेताका घर र व्यापार प्रतिष्ठानहरुमा पनि आगजनी, तोडफोड र लुटपाट भयो ।
काठमाडौं हाँडीगाउँका बिक्रान्त राज भण्डारीले आफ्नै टोलमा पनि मानिसहरुले पसलहरुबाट सामान ल्याएको देखे । त्यसपछि भदौ २४ साँझदेखि नै लुटपाट गरेका सामानहरु फिर्ता ल्याउने अभियान चलाए ।
हाँडीगाउँका स्थायी बासिन्दा बिक्रान्तले टोलमा आफ्ना साथीहरु, अभिभावक र छिमेकीहरुसँग मिलेर चलाएको अभियानले लुटिएका धेरै सामान फिर्ता भएका छन् । लुटिएका सामान फिर्ता अभियानबारे उनीसँग गरिएको कुराकानीको सारसंक्षेप :
म आफैं व्यवसायी हुँ । बालुवाटारमा मेरो बक्सिङ जिम छ । खेलाडीहरुलाई ट्रेनिङ गराउँछु । अनि एउटा गार्मेन्ट पनि छ, त्यहाँ एकल महिलाहरुलाई तालिम दिएर रोजगारी दिने गरेका छौं ।
आफू पनि जेनजी पुस्ताकै भएकाले भदौ २३ गतेको आन्दोलनमा म पनि सहभागी भएको थिएँ । माइतीघरबाट बानेश्वरतर्फ शान्तिपूर्ण रुपमा जाँदै गर्दा एक्कासी गोली चल्यो । शान्तिपूर्ण आन्दोलनमा सरकारले त्यति बल प्रयोग गर्नैपर्ने थिएन । त्यसले स्वभाविक रुपमा आक्रोश जन्मायो । म आफू पनि धेरै तनावमा परेँ, हुनै नपर्ने घटना भयो जस्तो लाग्यो । यति धेरै मानिसले ज्यान गुमाउलान् भन्ने सोचेकै थिइनँ।
अघिल्लो दिन त्यस्तो नराम्रो घटना भएपछि भोलिपल्ट पनि आन्दोलन हुन्छ जस्तो लागेको थियो, तर संसद, सिंहदरबार, अदालत, प्रहरी कार्यालयहरु जल्छन्, मान्छेको व्यापार व्यवसायमा आक्रमण हुन्छ भन्ने अनुमानै थिएन ।
खासमा भ्रष्टाचार त राजनीतिकर्मीले गरेका हुन्, बिजनेसम्यानले गरेका होइनन्, कसैले राजनीतिमा लागेर अवैध पैसा कमाएको हुन सक्छ । तर कतिपय व्यापारीले त व्यक्तिगत लगानी गरेर सरसपाट गरेर ब्यापार गरेको हुन्छ, त्यस्तो व्यवसाय तोडफोड गरेको देख्दा धेरै नराम्रो लाग्यो ।
यस्ता आन्दोलनहरुलाई कसैले त लुटपाट गर्ने अवसरको रुपमा प्रयोग गर्ने रहेछन् । शान्तिपूर्ण आन्दोलन भनेर जाने मान्छेले सामान चोरेर र लुटेर ल्याउनु गलत हो ।
हामीले हाम्रै टोलमा पनि मानिसहरुले सामान ओसारिरहेको देख्यौं, आन्दोलनको दिन पसलहरु बन्द छन्, कहाँबाट ल्याएको भनेर सोध्दा जवाफ नदिने, कोही बीच बाटोमा अरुले छोडेको रहेछ त्यही ल्याएको भन्ने गरे ।
के भएको रहेछ भनेर बुझ्दै जाँदा त विशालनगरको भाटभटेनीमा लुटपाट भइरहेको रहेछ, भाटभटेनीको माथिल्लो तलाहरु जलिरहेका थिए, भुइँतलामा लुटपाट भइरहेको थियो ।
अर्को ठाउँमा सिजीको सोरुममा लुटपाट भइरहेको थियो । त्यहाँ आगजनी भएको थिएन, तर मानिसहरु धमाधम सामान झिक्दै घर लैजाँदै गरिरहेका थिए ।
यस्तो लुटपाट र चोरी भएको देख्दा चुप लागेर बस्न सकेनौं । त्यसपछि हामी टोलका दाजुभाइ, अंकल आन्टीहरु सल्लाह गर्यौं । लुटेको सामान फिर्ता गर्नुपर्छ भन्ने सल्लाह भयो ।
हामी देख्दादेख्दै चुप लागेर बस्यौं भने गलत हुन्छ भन्ने लाग्यो । लुटिएका सामान सकेसम्म फिर्ता गरिदिनुपर्छ, कसको हो भन्ने थाहा भएन भने वडा कार्यालयमा बुझाउनुपर्छ भन्ने सल्लाह गर्यौं ।
हामीले पहिले घरबेटीहरुसँग कुरा गर्यौं, कसैले लुटपाटको समान ल्याएको छ भने खबर गरिदिनु भन्यौं । उनीहरुले कुरा बुझिदिए, सहयोग गरे, स्थानीय पसल सञ्चालकहरुले पनि सहयोग गरे ।
सामान लगेको थाहा पाएर फिर्ता गराउन जाँदा बीच बाटोमा छाडेको थियो, त्यत्तिकै राख्नुभन्दा मैले ल्याएँ भन्ने कुरा गरे । यसरी हाम्रो अनुमानमा लुटिएकामध्ये ६० देखि ७० प्रतिशत सामान फिर्ता गर्न सक्यौं भन्ने लाग्छ ।
हामीले सामान फिर्ताको काम गर्दा सुरुमा ५/६ जना थियौं, भोलिपल्ट हाम्रो काम गराइ देखेर धेरैले सहयोग गरे ।
जेनजी आन्दोलन राम्रो कामका लागि सुरु भएको थियो । तर लुट्ने मौका बनाए, यस्तै कारणले जेनजी आन्दोलन नै बदनाम भयो ।
डोजर रोक्ने रास्वपाको निर्णय बालेनले मान्लान् ?
बुद्धको ज्ञान बोलीमा होइन, व्यवहारमा देखाऊ
अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
जेष्ठ नागरिकहरुमा विर्सने समस्या बढ्दो

-1777651991.jpeg)

-1777978198.png)



