कहिले दिन्छन् यूएई र साउदीले रोकेको श्रमिक भिसा ?
नेपालमा भएको जेन–जी आन्दोलनपछि वैदेशिक रोजगारीमा पनि ठूलो धक्का लागेको छ । सुरुमा भिजिट भिसा रोकेको यूएईले श्रमिक भिसा दिन छाडेको छ । साउदी र कतारले पनि अहिले श्रमिकलाई लैजान दिने भिसा होल्ड गरेका छन् । 
यसैपनि देशमा काम गरिखाने वातावरण छैन । रोजगारीको अवसर समेत नभएपछि धेरै युवाको श्रम गन्तब्य विदेश नै हो ।
गत आर्थिक वर्ष २०८१/८२मा मात्रै ८ लाख ३९ हजार युवा कामका लागि अरु देश पुगे । अहिले ८ लाख ८८ हजार जनाले काम पाइन्छ कि भन्ने आशमा स्थानीय तहहरुमा बेरोजगार भनेर आफ्नो नाम टिपाएका छन् ।  
देशभित्र रोजगारीको नयाँ अवसर नभएपछि धेरैका लागि विदेशिनु बाध्यता हो । चाहे थोरै  पारिश्रमिक नै किन नहोस्, ज्यानकै बाजी थाप्न किन नपरोस् । 
सरकारको अकर्मण्यताविरुद्ध विदेशिने युवाले नबोलेका हैनन्, तर सरकारले श्रम गर्ने वर्गको कुरा कहिल्यै सुनेन । देशमा उल्टै भ्रष्टचार बढ्दै गयो । 
यसकै विरोधमा गत २३ भदौमा जेनजी पुस्ताले आन्दोलन थाले । पहिलो दिनमै सरकारले १९ जनाको ज्यान लिएपछि भोलिपल्ट भदौ २४ गते आन्दोलन अनियन्त्रित बन्यो । घुसपैठ समेत हुँदा आन्दोलनले विध्वंशात्मक रुप लियो । 
सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतसहित देशभर सरकारी कार्यालय, प्ररही युनिटहरु, पार्टी कार्यालयहरु, नेताका घरदेखि होटल, सुपरस्टोरहरुसहित व्यवसायीका घरमा लुटपाट, तोडफोड र आगजनी भयो । विदेशी दूतावास र नियोगमा समेत आन्दोलनकारीहरु घुस्न प्रयास गरे, ढुंगामुडा गरे । 
करिब १४ हजार कैदी बन्दी जेलबाट भागे । प्रहरीले रोक्न खोज्दा कारागारभित्रै तनाब भएपछि कति ठाउँमा काराकार प्रशासनले ढोका खोल्नुपर्यो ।
यो विश्ध्वंशको दृश्य विश्वले हेरिरहेको थियो । कतिपय हिंसात्मक गतिविधिका भिडियोहरु सामाजिक सञ्जालहरुमा विश्वरभर नै ट्रेन्ड भयो । 
यही कारण यूएईले हतार–हतार भिजिट भिसा बन्द गर्यो । त्यसपछि श्रमिक भिसा दिने काम पनि रोकेको छ ।
नेपालबाट यूएईमा भिजिट भिसा र श्रमिक भिसा दुबैमा जाने धेरै छन् । पछिल्लो समय दलाललाई मोटो रकम बुझाएर भिजिट भिसामा जाने र यूएई पुगेर श्रम भिसामा कन्भर्ट गर्ने क्रम चलिरहेको थियो ।
श्रमिक भिसामा जानेहरु पनि उत्तिकै थिए । दक्ष जनशक्तिहरु पनि यूएईमा जान थालेका थिए । यूएईले श्रमिक भिसा सहज बनाउँदा रोजगारीका लागि त्यहाँ जाने नेपालीको संख्या बढिरहेको थियो । गत वर्षमात्रै २ लाख ६४ हजार नेपाली यूएईमा वैधानिक रुपमै श्रम स्वीकृति लिएर गएका थिए ।
 
अहिले यूएईमा ८ लाख नेपालीहरु रहेको अनुमान छ । तर जेनजी आन्दोलनपछि भिजिट भिसा र श्रमिक भिसा दुबै बन्द भयो । अहिले यूएईले यसअघि भिसा जारी भएकाहरुलाई माात्रै जान दिइरहेको छ । 
यसले गर्दा यूएईको रोजगारीमा नेपालीहरुले पाइरहेको अवसर अब के हुन्छ भन्ने संशय पैदा भएको छ । 
साउदी अरेबियाले पनि नेपालीका लागि श्रमिक भिसा जारी गरेको छैन । आन्दोलन अघि एप्लाइ भएका भिसाका कयौं निवेदन पनि होल्ड भएका छन् । आन्दोलनपछि त नयाँ भिसा आवेदन नै लिएको छैन । 
काठमाडौंको थापाथलीमा साउदीको भिसा सेन्टर रहेकै भवनमा गाडी शोरुम जलाइएको थियो । यसले गर्दा पनि साउदीले भिसा जारी गर्न नचाहिरहेको हुनसक्ने व्यवसायीहरुको अनुमान छ । 
साउदी पनि नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तब्य हो । वर्षमा डेढ लाख भन्दा बढी श्रमिक साउदीमा श्रमका लागि जान्थे । अहिले साउदीले पनि भिसा दिन आनाकानी गरेपछि अन्योलको अवस्था सिर्जना भएको छ । 
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी यूएई, साउदी र कतारसहितका देशले भिसा दिन कडाइ गर्ने अवस्था आएको बताउँछन् । उनका अनुसार धेरै देशले भिसाको आवेदनसँगै प्रहरी रिपोर्टहरुसहित थप कागजात माग्न थालेका छन् । यसले भिसा लिने प्रक्रिया जटिलता थपिएको छ । 
हिंसाात्मक भावना भएका वा अपराधमा संलग्न भएकाहरु नआउन् भन्नेमा हरेक देश सचेत हुन्छन् नै । २४ गतेको घटेको घटनाहरुले नेपालीहरुबारे नकारात्मक सन्देश गएको हुनसक्छ । त्यसमाथि आन्दोलनको समयमा जेलबाट निस्किएकामध्ये धेरै जना समाजमा रहेका छन् । 
सरकारले उनीहरुको एकीकृत विवरण समेत सार्वजनिक गर्न सकेको छैन । त्यही कारण पनि ठूलो संख्यामा नेपाली श्रमिक लगिरहेका मुलुकले भिसा जारी गर्ने विषयमा सम्वेदनशीलता देखाएका हुन् । 
वैदेशिक रोजगार विभागका सूचना अधिकारी हुमनाथ पराजुलीका अनुसार कुनैपनि देशले श्रमिक भिसा बन्द गरेको औपचारिक सूचना पठाएको छैन । तर म्यानपावर व्यवसायीहरुले भिसा एप्लाइ गर्दा श्रमिक भिसाको सेसनमा नेपाल भन्ने अप्सन नै हटाइएको जानकारी गराएको उनी बताउँछन् । 
प्रवक्ता पराजुली भन्छन्, ‘विदेशस्थित नेपाली दूतावास र नियोगमा पनि अहिलेसम्म नेपाली श्रमिक रोकिएको निर्णयबारे जानकारी आएको छैन, तर व्यवसायीहरुले भिसा दिन बन्द र कडाइ गरेको जानकारी गराइरहनुभएको छ ।’
यो कति लामो समयसम्म जान्छ भन्ने अनिश्चित छ । सरकारले जतिसक्दो छिटो आपराधिक गतिविधि गर्नेहरुविरुद्ध कदमहरु चाल्छ, त्यसले नै नेपालीका लागि भिसा जारी गर्ने देशहरुलाई निर्णयमा पुग्न दबाब पर्छ । 
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष भण्डारीका अनुसार अब सरकारले भदौ २४ को विध्वंशात्मक गतिविधिमा संलग्नहरुलाई पनि कारवाही गर्यो सन्देश दिनसक्नुपर्छ । त्यसपछि मात्रै श्रम गन्तब्य मुलुकले पूर्ववतः रुपमै भिसा जारी गर्न सुरु गर्ने छन् । 
कारागारबाट भागेकाहरुलाई सरकारले छिटो जेलमा फर्काउन नसके भिसामा गरिएको यस्तो कडाइ नहट्ने उनको विश्लेषण छ । उनी भन्छन्, ‘नेपालबाट गएका श्रमिक त्यहाँ शान्ति सुरक्षामा जोखिम नबनुन् भन्ने चासो हो, सरकारले त्यसमा आश्वस्त पार्ने गरी काम गर्नुपर्छ ।’ 
सँगसँगै युवाले पाइरहेको अवसर खोसिने अवस्था रहिरह्यो भने सरकारले बलियो कूटनीटिक पहल पनि गर्नैपर्छ ।
अहिलेसम्म विदेशमा नेपाली श्रमिकको छवी दक्षिण एसियाकै अरु देशका श्रमिकको भन्दा राम्रो छ । नेपालीहरु इमान्दार र परिश्रमी छन् भन्दै सम्बन्धित मुलुकहरुले द्विपक्षीय श्रम वार्ताहरुमा प्रशंशा गरिरहेकै हुन्छन् । 
हो, देशभित्र भएको आन्दोलनमा केही घुसपैठ भएको हो, तर, त्यसलाई आधार बनाएर सबै नेपाली उस्तै हुन्छन् भाष्य बनाउनु पनि उचित हुँदैन ।
नेपाली श्रमिकले वर्षौंदेखि अनुशासनपूर्वक रगत पसा बगाइरहेका छन् । त्यसको सम्मान गर्नु श्रम गन्तब्य देशको आधारभूत कर्तव्य हो । 
सकेसम्म सरकारले युवालाई देशभित्रै बस्ने वातावरण बनाउन काम गर्नुपर्छ । विदेश जान चाहानेलाई पनि विगतको जस्तै निर्वाध जान पाउने वातावरण बनाउने काम पनि सरकारकै हो । 
                                                    श्रीमती कि गर्लफ्रेन्ड भन्ने अध्यागमनको चासो होइन, सबै सजिलै विदेश जान पाउँछन्
                                                    गुपचुप आयो मेलम्चीको पानी
                                                    विपी राजमार्गका लागि जापानको २ अर्ब ६० करोड अनुदान
                                                    २८३ मेगावाट विद्युत निर्यात अनुमति भयो नवीकरण
                                                    भारतसँग जोडिने थप दुई ठूला प्रसारणलाइन बन्ने तय
                                                    
                    
-1761836913.jpg)



-1762094516.jpg)


