नेभिगेशन
अर्थ

सडकका २३४ वटा रुग्ण ठेक्का तोड्दै कुलमान, निर्णय नगर्ने कर्मचारीमाथि छानबिन हुने

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि काम नगरी वर्षौंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ । सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । 

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौंअन्तरगतका ७५, पोखराका ३९, सुर्खेतका ४९, हुलाकी राजमार्ग आयोजनाका १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् । २ करोडभन्दा बढी लागतका ठेक्काहरु तोड्ने गरी सूची तयार गरिएको हो । 

निर्माण सम्झौता बमोजिम सम्पन्न गर्नुपर्ने समयमा काम नभई फेरि उति नैसमय म्याद थप्दासमेत ५० प्रतशत पनि कबाम नभएका ठेक्का तोड्न लागिएको हो । 


निर्माण सम्झौतामा तोकिएभन्दा तेब्बर म्याद थप पाइसक्दासमेत निर्माणको काम प्रगति ८० प्रतिशत पनि नभएका ठेक्का तोडिन तोडिने भएको छ । 


म्याद थपेर चार गुणा समय पाइसक्दसमेत निर्माण प्रगति ९५ प्रतिशतभन्दा कम रहेको ठेक्कालाई पनि रुग्ण मानिएको छ । 

यस्तै आयोजनाकातर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाएर राख्ने तत्कालीन एवम् हालका जिम्मेवार कर्मचारीमाथि छानविन गर्न समिति बनाइने भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव तथा सहसचिवहरु, सडक विभागका महानिर्देशक, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखहरु, आयोजना प्रमुखलगायतकासँग छलफल गरी ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्यका लागि रुग्ण ठेक्का तोड्नुको विकल्प नरहेको बताए । 

रुग्ण ठेक्का तोडिएमा कम रकम कबोल गरी ठेक्का सम्झौता गर्ने र परिचालन पेश्की लिएर उक्त रकम अन्यत्रै लगानी गर्ने तर काम नगर्ने प्रवृत्तिकोसमेत अन्त्य हुने मन्त्री घिसिङले उल्लेख गरे । 

उनले सडक अन्तर्गतका आयोजनाहरुको ठेक्का लिने तर काम नगर्ने अवस्था देखिएको भन्दै राज्यले सडक निर्माणका लागि हरेक वर्ष अबौं रकम खर्च गरिरहेको पनि त्यसको लाभ नागरिकले पाउन नसकेको बताए । 

‘ठेक्का व्यवस्थापन शून्यजस्तो देखिएको छ, ठेक्कालाई रुग्ण बनाउन संलग्नमाथि कारबाही हुननसक्दा दण्डहीनता बढेको छ, कतिपय निर्णय कर्मचारीकातर्फबाट समयमै नगरिदिंदा ठेक्का रुग्ण बनेका छन्, त्यस्ता कर्मचारीमाथि पनि छानबिन गर्नुपर्छ,’ उनले भने । 

रुग्ण ठेक्कामा संलग्न निर्माण व्यवयासी जोसुकै भए पनि कसैको प्रलोभनमा नपरी स्वतन्त्रतापूर्वक ढुक्क भएर ठेक्का तोड्न उनको निर्देशन छ । ‘यो कदम सुसशान कायम गर्नका लागि महत्वपूर्ण कोशेढुङ्गा हुनेछ, म तपाईंहरुलाई पूर्ण रुपमा संरक्षण गर्नेछु,’ उनले भने । 

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयहरुले गर्ने कुनै पनि कार्यमा अनियमितता, ढिलासुस्ती, घूसमाग्ने, सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृति देखिएका सङ्लग्नमाथि तत्कालै कारबाही गर्ने उल्लेख गरे । उनले आफ्नो नाम बेचेर कसैले अनावश्यक दुःख दिएमा तत्कालै जानकारी गराउनसमेत कर्मचारीलाई निर्देशन दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ