नेभिगेशन
अर्थ

दशैंमा किन खुलेन नागढुंगा सुरुङमार्ग ?

गत असोज ४ गते भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले कर्मचारीहरुलाई भनेका थिए, ‘दशैंमा नागढुंगा सुरुङमार्ग समेत चलाएर यात्रा सहज बनाउनू ।’ 

कुलमानले निर्देशन दिएपछि दशैंमा सुरुङमार्ग सुरु हुने धेरैको आशा थियो । कुलमानको पनि प्रशंसा भयो । तर दशैं मान्न घर जाने र फर्किनेहरुले सुरुङमार्गबाट यात्रा गर्न नपाउने भएका छन् । किन त ? 

००० 

नेपालमा दशैंका बेला मानिसहरुको मुभमेन्ट सबैभन्दा बढी हुन्छ । काठमाडौंबाट १० देखि १५ लाख मानिस दशैं मनाउन आफ्नो पुर्ख्यौली थलोतिर जान्छन् । 

तर यही बेला यातायात व्यवस्थामा धेरै भद्रगोल हुन्छ । काठमाडौंबाट बाहिर जाने गाडीहरु थानकोटमा घण्टौं जाममा पर्छन् । साँघुरो, उकालो र भत्केको सडकका कारण उपत्यका भित्रिने र बाहिरिने थानकोट नाकामा लामो जाम पर्छ । दशैंका बेला यस्तो जाम झन् बढी हुन्छ । 

थानकोटको जामको स्थायी समाधानका लागि अहिले सुरुङ मार्ग बनेको छ । धादिङको सिस्ने खोलादेखि काठमाडौंको दहचोक जोड्ने गरी बनेको सुरुङ मार्ग गाडी चलाउने गरी तयार भने भइसकेको छैन । यसको उद्घाटनको समय आगामी पुसमा तोकिएको छ । 

नवनियुक्त यातायातमन्त्री कुलमान घिसिङले पनि आउँदा आउँदै दशैंमा घर जाने यात्रुहरुलाई सहज आवातजावत गराउन दशैंभरि अस्थायी व्यवस्था गरेर भएपनि नागढुंगा सुरुङमार्ग खुलाउन निर्देशन दिए । 

गत वर्ष असोजमा झ्याप्लेखोलामा पहिरो जाँदा काठमाडौं आउने क्रममा रोकिएका गाडीलाई यही सुरुङमार्गबाट काठमाडौं आउन दिइएको थियो । यो वर्ष त झन् सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमै पुगेको छ । 

त्यसैले यसपटक सुरुङ मार्ग चलाउन झन् सहज हुनुपर्ने हो । नागढुंगामा दशैंका बेला जाम नहोस् र यात्रा कष्टकर नहोस् भनेरै कुलमानले सुरुङमार्ग खुलाउन निर्देशन दिएका थिए । 

मन्त्रीको निर्देशनपछि मन्त्रालय र सडक विभागका अधिकारीहरुले काठमाडौं भित्रिने गाडीलाई प्रवेश दिन सकिने बताएका थिए । 

तर, यसबारे नागढुंगा सुरुङमार्ग आयोजनाको ठेकेदार कम्पनी हाजमा आन्दोसहित परामर्शदाता कम्पनीसँग छलफल नै भएको थिएन । 

यसैपनि नेपालमा पदमा बस्नेहरु निर्देशन दिन माहिर छन् । ग्राउन्ड रियालिटी बुझ्दै नबुझी निर्देशन दिइहाल्ने प्रवृत्ति छ ।  कुलमानले पनि त्यही गरेका थिए । 

कुनै पनि आयोजना निर्माणको चरणमा आयोजना स्थलको सबै नियन्त्रण ठेकेदार कम्पनीकै हातमा हुन्छ । सरकारले गुणस्तर नियन्त्रणबाहेकको अरु काममा प्रभाव पार्ने गरी हस्तक्षेप गर्न मिल्दैन । 

निर्माण नै नसकिएको यो सुरुङमार्ग दशैंका लागि खोल्ने कुरामा ठेकेदार कम्पनी सहमत हुने कुरै थिएन । गत वर्ष पहिरोका कारण अलपत्र गाडीलाई उद्धार गर्न मात्रै सुरुङ प्रयोग गर्न दिएको भन्दै ठेकेदारले यो वर्ष त्यस्तो विशेष अवस्था नै नरहेको जवाफ दियो । 

गत हप्ता मुग्लिन–नारायणगढ सडकमा पहिरो गएर दुई–तीनदिनसम्म राजमार्ग सञ्चालनमै समस्या पर्‍यो । यही समस्या देखाएर सडक विभागले ठेकेदारसँग सुरुङ मार्ग खोल्ने विषयमा छलफल पनि गर्‍यो । 

तर, पटक–पटक छलफल भएपनि ठेकेदार कम्पनी र परामर्शदाताले सुरक्षाको कारण देखाउँदै सुरुङमार्ग खोल्न इन्कार गरिरहे । कसरी सुरक्षा प्रवन्ध गर्न सकिन्छ भनेर पनि सडक विभागले छलफल अगाडि बढायो । तर, ठेकेदार कम्पनी जोखिम नलिने पक्षमा उभियो । 

निर्माणकै चरणमा रहेको सुरुङमार्गमा सार्वजनिक सवारी चल्न दिँदा दुर्घटना हुन सक्छ । आगलागीको सम्भावना समेत हुन्छ । अझ हालसालै जेन–जी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमाथि भएका आक्रमणले समेत ठेकेदार डराएको थियो । 

सुरुङमार्ग बनाउँदा यसको प्रभाव क्षेत्रका नागरिकको अनेक गुनासा र समस्या छन्, असन्तुष्ट समूहहरु पनि छन् । त्यसैले सुरुङ मार्गभित्र सुरक्षा जोखिम हुनसक्ने तर्क पनि ठेकेदारले गर्‍यो । 

नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार पटक–पटकको छलफलमा ठेकेदारले निर्माण नसकी सुरुङमार्ग खुला गर्दा जोखिम हुने कुरा उठायो । 

भित्र दुर्घटना भए तुरुन्तै उद्धार गर्नसक्ने संयन्त्र तयार रहनुपर्ने भयो । एम्बुलेन्स र दमकलदेखि फायर फाइटरसम्म तयार राखेर सुरुङमार्ग चलाउनुपर्ने देखियो । 

तर, यसका लागि अहिलेसम्म यस्तो कुनै पूर्वतयारी भएको छैन । सुरुङमार्गको सञ्चालन र सुरक्षासम्बन्धी प्रोटोकल समेत बनेको छैन । यस्तै कारणहरुले सुरुङमार्ग खुला गर्ने कुरा यो दशैंमा सम्भव नभएको आयोजना प्रमुख नेपाल बताउँछन् । 

यसैकारण नागढुंगाको सुरुङमार्ग खोल्ने यातायातमनत्रीको निर्देशन अलपत्र पर्न गयो । 

नागढुंगा सुरुङमार्गमा अहिलेसम्म करिब ९५ प्रतिशत काम सकिएको छ । अहिलेसम्म टोल प्लाजा समेत बनिसकेको छैन । 

आगामी कात्तिकसम्म यो सुरुङमार्ग निर्माणको काम सक्ने लक्ष्य छ । अहिले सुरुङमार्गभित्र बत्ती र सीसीटिभी जडानसहित अन्तिम चरणका कामहरु भइरहेका छन् । 

सुरुङमार्गको धादिङतर्फको मुखको अगाडि गएको पहिरो व्यवस्थापनको काम भइरहेको छ । स्लोप प्रोटेक्सनको काम भइरहेको छ । 

सरकारले यो सुरुङमार्गमा सशुल्क गाडी चलाउन दिने गरी शुल्क समेत तोकिसकेको छ । यस्तै आगामी पुसदेखि यसमा नियमित सवारी गड्न दिने योजना छ । 

तर, सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि सरकारले ठेक्का लगाउने तयारी पनि गरिरहेको छ । सुरुङमार्ग सञ्चालन, मर्मत सम्भार र सुरक्षामा नेपाली कम्पनीसँग अनुभव नभएकाले विदेशी सेवा प्रदायक कम्पनीलाई यसको जिम्मा दिने सडक विभागको तयारी छ । 

त्यसैले तोकिएको समयमै सुरुङमार्ग सञ्चालन हुनेमा आशंका छ । तर, नवनियुक्त भौतिक पूर्वाधर मन्त्री घिसिङले यो आयोजनाको काम जतिसक्दो छिटो सक्न निर्देशन दिएका छन् ।

ठेकेदार कम्पनीले पनि कुनै अवरोध नभए सुरुङमार्गको निर्माण समयमै सकेर हस्तान्तरण गर्ने बताउँदै आएको छ । यदि भनेअनुसार नै भयो भने आगामी पुसबाट यो सुरुङ मार्गमा नियमित रुपमै गाडी चल्न थाल्नेछन् । 

त्यसअघि भने पर्याप्त सुरक्षा प्रबन्ध नगरी अस्थायी रुपमा सवारी चल्न नदिने पक्षमा ठेकेदार कम्पनी अडिग छ । यही कारण कुलमानले निर्देशन दिएर पनि दशैंमा नागढुंगा सुरुङमार्ग चल्न सकेन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ