नेभिगेशन
एक्सप्लेनर भिडियो

जेनजी आन्दोलनले ओली, देउवा मात्र होइन रवि पनि संकटमा

नेपाली राजनीतिमा जेनजी विद्रोहले धेरै ठूलो प्रभाव छाडेको छ । डिजिटल नेटिभका रुपमा चिनिने जेनेरेसन जेड सुशासन र पारदर्शिताको माग गर्दै सडकमा आएका थिए । भ्रष्टाचार अन्त्य होस् भन्ने चाहेका थिए ।

तर भदौ २३ र २४ मा जे भयो, त्यसले नेपाली राजनीतिमा ठूलै भूकम्प ल्यायो । सरकारको नेतृत्व गरिरहेको एमाले किनारामा धकेलिएको छ । सत्ता सहयात्री कांग्रेस पनि संकटमा परेको छ । एउटा समय विद्रोहको प्रतीक मानिएको माओवादी पनि आउटडेटेड भएको छ । हरेक ठूला दल अस्तित्वको संकटमा परेका छन् । 

तर राजनीतिमा आएको भूकम्प यत्तिमै सीमित छैन । भर्खर खुलेको, युवाहरुको बाहुल्य रहेको र पुराना दलहरुलाई खबरदारी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि अप्ठ्यारोमा देखिएको छ । र यो घटना धेरैका लागि अप्रत्यासित बनेको छ । किनकी जेनजीहरु जे मुद्दा उठाएर सडकमा आएका थिए, पछिल्लो ३ वर्षमा रास्वपाले पनि आफ्नो मुद्दा त्यही हो भन्दै आएको थियो । 

२०७९ असारमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिरको चुनावमा २० सिट जितेर ठूला दलहरुलाई चकित पारेको थियो । अनि, ठूला दलको मोनोपालीका कारण वाक्क भएका नागरिक भने एउटा राम्रो विकल्प भन्दै आशावादी थिए ।

चितवन र तनहुँमा भएको उपचुनावको नतिजाले त ठूला दलहरुलाई अत्याएको थियो । अर्को चुनावमा पुग्दासम्म रास्वपाको बेगलाई रोक्न सकिन्न कि भन्ने लाग्न थालेको थियो ।

त्यसपछि रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परे । धरौटीमा छुटे, फेरि पुर्पक्षका लागि थुनामा गए । यसले रास्वपाको संगठन विस्तारमा त असर गरेको थियो । तर रविप्रति सहानुभूति भने बढिरहेको थियो । 

सरकारमा बसेका कांग्रेस र एमालेका नेताहरुलाई उन्मुक्ति दिने, रविलाई चाहिँ जेलमा राख्ने भन्दै रास्वपा नेताहरुले राजनीतिक प्रतिशोधको न्यारेटिभ दिए । रविको पक्षमा हस्ताक्षर अभियान चलाए ।

पार्टी स्थापना भएको दिन पारेर असार ७ सुरु गरेको हस्ताक्षर अभियानमा ३० लाख भन्दा बढीले सहभागिता जनाइसकेका थिए । यो संख्या निकै ठूलो हो । 

किनकी यो संख्या २०७९ को चुनावमा कुनै पनि राजनीतिक दलले पाएको लोकप्रिय मत भन्दा पनि बढी हो । 

रास्वपाले चुनावमा पाएको ११ लाख ३०  हजार मत भन्दा त तीन गुणा नै बढी हो । त्यसैले रुपन्देही ३ मा कात्तिक १७ गतेका लागि तय भएको उपचुनावलाई लिएर ठूला दलहरु निकै आत्तिएका थिए । 
यो चुनाव जित्यो भने रास्वपाले फेरि अर्को गति लिने आंकलन गरिएको थियो । 

तर त्यो चुनाव हुनै पाएन । भदौ २३ र २४ मा जेनजी विद्रोह भयो । अनि, आन्दोलनलाई देखाएर रवि जसरी जेल बाहिर आए, रास्वपाको अवस्था बदलियो । बाहिर मात्र होइन, रास्वपाभित्र समेत यसबारे प्रश्न उठ्यो । 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुरुमा संसद भवनमा तोडफोड भयो । दलको कार्यालय, नेताहरुको घरमा समेत तोडफोड र आगजनी हुन थाल्यो । 

त्यसक्रममा नख्खु कारागार अगाडि पनि भीड जम्मा हुन थाल्यो । जहाँ केही दिन अगाडि मात्र रवि लामिछानेलाई भैरहवा कारागारबाट ल्याइएको थियो । 

भीडमा केहीले रवि लामिछानेलाई रिहा गर्न माग गर्दै नारा लगाए । कारागारको मुल गेटमा तोडफोड र आगजनी गर्न थाले । 

सबैलाई हैरान बनाउने दृश्य भने त्यो भीडमा प्रवक्ता मनिष झा र रास्वपाकै केन्द्रीय नेताहरु समेत देखिए । उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपिनकुमार आचार्य र नेता हरि ढकालहरु रविलाई छुटाउन नख्खु कारागार पुगे । 

अनि, रवि गाडीको छतबाट टाउको निकाले हात हल्लाउँदै बाहिर आए । रवि र रास्वपाका नेताहरुले कारागारले कानुन अनुसार नै छाडेको भनेर पत्र पनि सार्वजनिक गरे । 

तर पत्रमा जे भाषा प्रयोग भएको थियो, त्यसमा प्रश्न उठ्यो । पत्रमा ‘गोर्खा मिडियासँग सम्बन्धित विषयलाई सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दामा’ थुनामा रहेका रवि लामिछानेलाई थुनामुक्त गर्ने निर्णय गरिएको भनिएको छ । 

अनि, मुद्दा फिर्ता गर्ने कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने र यो अवधिसम्म थुनामा राख्दा थप अन्याय हुने तथा देशमा अमन चयनमा थप खलल गर्ने भएकाले तत्काल थुनामुक्त गर्ने निर्णय गरिएको पनि भनिएको थियो । 

कारागार प्रशासक सत्यराज जोशीको हस्ताक्षर समेत भएको पत्रमा उल्लेख भएकाले भाषा निकै शंकास्पद देखियो । किनकी आन्दोलनका क्रममा देशभरका जेलहरुबाट १३ हजार कैदीबन्दी बाहिर निस्किएका थिए । भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व मन्त्रीहरु समेत जेलबाट निस्केका थिए । तर कसैलाई पनि यस्तो पत्र दिइएको थिएन । 

तर रविले पत्र देखाए । अनि, पत्रमा जे व्यहोरा थियो, त्यो निकै गम्भीर थियो । 

पहिलो, रविको मुद्दालाई राजनीतिक मुद्दा भनियो । उनलाई त ५/५ वटा अदालतले धरौटी लिएको छ । अनि, उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाएको छ । कारागार प्रशासनले कसरी राजनीतिक मुद्दा भन्यो होला ?

दोस्रो, मुद्दा फिर्ताको विषय कहाँबाट आयो ? 

र तेस्रो, रविलाई थुनामा राख्दा अमन चमनमा कसरी खलल पर्छ ? 

जब परिस्थिति सामान्य बन्दै गयो, कारागार प्रशासनले रवि र रास्वपा नेताहरुले देखाएको पत्रको स्वामित्व लिन मानेन । कारागार प्रशासनले कार्यालयमा भएको पत्रको रेकर्डसँग रविले सार्वजनिक गरेको पत्र नमिलेको भनेर प्रतिक्रिया दियो । 

अनि, रविलाई जेनजी आन्दोलनको नाममा जेलबाट छुट्न अर्को फर्जी कागज बनाएको आरोप लाग्यो । स्रोतहरुका दाबी भने अलि फरक छ । नख्खु कारागार बाहिर नाराबाजी भएपछि रास्वपाका केही नेताले दबावपूर्वक कारागार प्रशासकलाई यस्तो पत्रमा हस्ताक्षर गर्न लगाएका थिए । 

जे होस्, जेनजी आन्दोलनलाई देखाएर नख्खु कारागारबाट निस्किनु रवि मात्र होइन, रास्वपाका लागि समेत प्रत्युपादक साबित भएको छ । 

किनकी जेनजी आन्दोलनले पुराना शक्तिहरुलाई मात्र हल्लाएको छैन नयाँहरुलाई पनि एक्पोज गरेको छ । यसले रास्वपामा असन्तुष्टि चर्किएको छ ।

पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठाएर पार्टी नै छाडेकी छन् । सुमना रास्वपाले देखाउने अनुहारमध्ये एक थियो । सांसदका रुपमा होस् वा मन्त्रीका रुपमा होस्, उनले गरेको कामको राम्रै प्रशंसा भएको थियो । तर उनले पार्टी छाड्दा रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीमाथि नेतालाई राखेको गम्भीर आरोप लगाएकी छन् । 

शनिबार त उनले नख्खुमा इज्जतसँगै मानवता पनि जलाएको हो भनेर रास्वपाका नेता कार्यकर्तालाई प्रश्न गरेकी छन् । 

संस्थापक केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पनि पार्टी छाडेका छन् । केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पनि पार्टीलाई थप सुदृढ बनाऔं भन्दा गेट आउट भनेर बुली गरेको भन्दै भण्डाफोर गर्ने चेतावनी दिएकी छन् । नेताहरुका अनुसार अब रास्वपामा बढ्दो असन्तुष्टि सम्बोधन गर्न सहज छैन । 

असन्तुष्टी सम्बोधन गर्न रास्वपाले असोज ८ गतेको बैठकबाट नख्खु कारागारमा भएको घटनामा पार्टी सदस्यको संलग्नता भएको वा नभएको बारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

जबकी रास्वपा नेता र सांसदहरु आफै नख्खु कारागारमा देखिएको भिडियो फुटेजहरु सार्वजनिक भइसकेका छन् । 

जेनजी विद्रोहको आडमा रवि जेलबाट बाहिर आउनु उनको निजी विषय मात्र थिएन । यससँग पार्टीको छवि जोडिएको थियो । र, जेनरेसनज जेड जसरी राजनीतिमा हस्तक्षेप गर्दै अगाडि बढेको छ, चाहे पुराना हुन् वा नयाँ कुनै पनि पार्टी प्रश्नको कठघरा भन्दा बाहिर छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो