बीपी राजमार्गमा कुलमान : रातभरि काम नभए कारबाही गर्छु
कुलमान घिसिङ विद्युत प्राधिकरणको नेतृत्वमा आएदेखि नै देखिएको एउटा कार्यशैली हो, काममा समस्या आयो कि फिल्डमा पुगिहाल्ने । समस्या सोध्ने र सुल्झाउन आफैंले सहजीकरण गर्ने । परि आए कामचोरहरुसँग पनि फिल्डमै भिड्ने ।
अहिले मन्त्री भएपछि पनि कुलमान यही शैली अपनाइरहेका छन् ।
बिहीबार पनि बिपी राजमार्गको चौकीडाँडामा गाडीबाट उत्रिनासाथ कुलमान घिसिङले लामा–लामा पाइला लम्काए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैसी पनि सँगै थिए ।
ठाउँ ठाउँको डाइभर्सन बगाएपछि बिपी राजमार्ग असोज १७ गतेदेखि अवरुद्ध छ । करिब १६ ठाउँमा राजमार्गमा क्षति पुगेपछि अहिले डाइभर्सन बनाउने काम भइरहेको छ । तुरुन्तै बाटो खोल्ने कुलमानको योजनाअनुसार फिल्डबाट प्रगति रिपोर्ट आएन ।
काममा ढिलाइ भएको भन्ने लागेपछि कुलमान बिहीबार आफैं फिल्डमा पुगेका थिए । उनले अनुगमनमा जाँदा ठूलो टोली अघि–पछि लगाएका थिएनन्, सचिव र डिजीलाई लिएर चौकीडाँडा पुग्न उनी सबेरै काठमाडौंबाट त्यहाँ पुगेका थिए ।
उनी पुग्दापुग्दै सडकको अवस्था अवगत गराउन सडक डिभिजन कार्यालय काभ्रेका प्रमुख सुमन योगेश फिल्डमै थिए । उनले सुरुमै कागज थमाएर अहिले भइरहेको कामबारे प्रगति विवरण सुनाए ।
कुलमानले सुरुमा योगेशको ब्रिफिङ सुने । तर, सन्तुष्ट भएनन् । काममा भइरहेको ढिलाइप्रति उनको चासो थियो । सोधे, ‘किन भनेजसरी छिटो काम भइरहेको छैन ?’

सडकका अधिकारीहरुको आफ्नै तर्क थियो । उनीहरुले धेरै ठाउँमा काम सकिएको देखि बाटो नै नभएर डिजेल ओसार्न समस्या भएकोसम्म सुनाए । कुलमानले फिल्ड नछोड्न र समस्या समाधानमा लागिहाल्लान् भने । 
त्यसपछि रोशी खोलाले बढारेको चौकी डाँडा उक्लिने सडकको डिलबाट कुलमान तल झरेर खोलाको बगरमा पुगे । त्यहाँ कुलमान आउने खबरले बिपी राजमार्ग आसपासका स्थानीय र जनप्रतिनिधिहरु भेला भइसकेका थिए ।
बगरमा काम कसरी काम भइरहेको छ भन्नेबारे ठेकेदार नवकान्तिपुर कन्स्ट्रक्सनका प्रतिनिधिले थप ब्रिफिङ गरे ।
तर, त्यहाँ उपस्थित रहेका नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाले काममा भइरहेको ढिलाइप्रति कडा असुन्तुष्टि जनाए ।
उनले कुलमानसँगै रहेका सचिव शर्मा र डिजी जैसीलाई भने, ‘सडक विभागले तेल हालेर धुँवा मौ उडाइरहेको छ, ठेकेदारले मात्रै काम गरेर हुँदैन, यहाँ मेसिन नै पर्याप्त हालिएको छैन, यो तालले कहिले खुल्छ बाटो ?’ स्थानीयले समयमै हुनसक्ने काममा पनि विभाग र ठेकेदारले आलटाल गरेको सुनाए ।
त्यसपछि कुलमानले छिटो काम सक्न मेसिन थप्न सकिने नसकिनेबारे सोधे । तर, ठेकेदारले अरु मेसिनहरु भएपनि चालक आउन नपाएकाले समस्या भएको बाहना बनाए । कुलमानले धेरै बेरसम्म ब्रिफिङसहित गुनासो सुनिरहे ।
त्यसपछि उनी खोलाका ढुंगाहरुबाट फ्डके मार्दै डोजर चलिरहेको ठाउँमा पुगे । डोजर चालकलाई हालखबर सोधे । उनले काम गर्दा के समस्या छ भनेर चासो राखे ।
चालकले चौकीडाँडाभन्दा तलको काम सकेर चौकीडामा मेसिन लिएर आएको सुनाए । भित्तातर्फ माटो भर्नुअघि ट्रिपर हिँड्ने बाटो बनाउन लागेको बताए । चालकले मेसिन थपेर काम गर्दा राम्रो हुने बताए ।
त्यसपछि कुलमानले सडक विभागका अधिकारीहरुलाई तुरुन्तै मेसिनको संख्या थपिहाल्न भने । ट्रिपरहरु स्ट्यान्डबाई राख्न अह्राए ।
त्यतिमात्रै हैन, रातभर पनि काम गर्न भने । त्यसका लागि बत्ती जोड्न समेत उनको निर्देशन थियो । जसरी पनि बिहीबार बेलुकासम्म बिपी राजमार्गमा गाडी गुड्नुपर्ने उनको भनाइ थियो । ‘राति काम नभए कारबाही गर्छु,’ उनले भने ।
त्यसपछि स्थानीयहरुसँग पनि छलफल गरे । स्थानीयहरुले गाउँ जाने बाटोमा बजेट प्रबन्ध गर्न आग्रह गरे । कुलमानले आफूले सकेको गर्ने बताए ।
पत्रकारसँग कुराकानी गर्दै घिसिङले २ दिनभित्रै सडक खुलाउने गरी काम भइरहेको बताए । त्यसका लागि नै आफू फिल्डमा आएको र फिल्डमा रहेका समस्या समाधानमा काम गर्ने उनको भनाइ थियो ।
करिब ४५ मिनेट रोशी खोला किनारमा बिताएर कुलमान काठमाडौंतिर लागे । कुलमान काठमाडौंतिर लाग्न लागेपछि पनि स्थानीयहरुको एउटै भनाइ थियो, तपाईंले फलोअप गरिराख्नुस्, नत्र काम नै हुँदैन ।’
                                                    गुपचुप आयो मेलम्चीको पानी
                                                    विपी राजमार्गका लागि जापानको २ अर्ब ६० करोड अनुदान
                                                    २८३ मेगावाट विद्युत निर्यात अनुमति भयो नवीकरण
                                                    भारतसँग जोडिने थप दुई ठूला प्रसारणलाइन बन्ने तय
                                                    कामचोर ठेकेदारमाथि कुलमानको डण्डा !
                                                    
                    
-1761836913.jpg)





