खुल्न थाल्यो फाइल, पहिलो निशानामा महरा
जेनजी विद्रोह एउटा प्रदर्शन मात्र थिएन, भ्रष्टाचार नियन्त्रण र सुशासनको आन्दोलन थियो । जब जेनजीको सरकार बन्यो, वर्षौदेखि राजनीतिक संरक्षणमा दबाइएका फाइलहरु खोल्ने क्रम पनि सुरु भएको छ ।
त्यसको पहिलो नम्बरमा परे, कृष्णबहादुर महरा । नेपाली राजनीतिमा पछिल्लो दुई दशक शक्तिको केन्द्रमा रहेका पात्र हुन् महरा । पटक पटक सांसद, मन्त्री भए, सभामुख समेत बने । एउटा समय त माओवादीमा प्रचण्डको उत्तराधिकारीका रुपमा समेत हेरिएको थियो ।
शक्ति केन्द्रमा भएकै कारण एकपछि अर्को काण्डमा मुछिँदा पनि उन्मुक्ति पाइरहे । कतिसम्म भने सांसद खरिदका लागि चिनियाँसँग ५० करोड मागेको अडियो लिक हुँदा समेत उनिमाथि कुनै छानबिन भएन ।
सुनकाण्डमा त प्रहरीले अनुसन्धानले उनको संलग्नता देखाउँदा पनि प्रचण्ड सरकारले जोगायो । जाँचबुझ आयोगले अनुसन्धान गर्नू भनेर निर्देशन दिएपछि पकmाउ त परे, तर ३ दिनमै छुटिहाले ।
त्यसपछि मुद्दा पेन्डिङमै रह्यो । त्यतिबेला प्रचण्ड सरकारको गृहमन्त्री थिए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । तर अहिले राजनीति बदलिएको छ ।
जेनजी विद्रोहको बलमा बनेको सरकारले भ्रष्टाचार र सुशासनमा कठोर बन्दा महरा बच्न सकेनन् ।
महरा पक्राउ पर्ने पहिलो हाइफ्राइल राजनीतिज्ञ बने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ९ किलो सुन तस्करी प्रकरणमा महरालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
२०७९ पुस १० गते, फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ०५८७ नम्बरबाट काठमाडौं आयो । त्यसमा थिए, चिनियाँ नागरिक लुई हानसोङ । उनी २ वटा सुटकेस लिएर काठमाडौं ओलिएका थिए ।
सुटकेसभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप थियो । त्यसमा भेप मात्रै थिएन, भित्र सुन समेत लुकाइएको थियो ।
सुरक्षा जाँचका क्रममा भेप भेटियो । भेपको आयात गैरकानुनी भएकाले विमानस्थल प्रहरीले रोक्यो र भन्सारमा बुझाइदियो । त्यतिबेलासम्म त्यसमा सुन छ भन्ने सुइको उनीहरुले पाएका थिएनन् ।
चलाख रोकिएको भेपको भन्सार जाँचपास गर्न हानसोङ गएनन् । बरु दुई रात बसेर दुबई फर्किए । अनि, यो भेप छुटाउन भन्दै कृष्णबहादुर महरा र उनका छोराको सक्रियता सुरु भयो ।
महराले त्रिभुवन विमानस्थलका तत्कालीन प्रमुखलाई फोन नै गरेर छिटो भेप लिलामी गर्न दबाब दिएका थिए । महराका छोरा राहुल त फोन मात्रै हैन, पटक–पटक सुन छुटाउन भन्सार नै पुगेका थिए ।
जब भन्सार प्रशासनले भेप लिलामी गर्न खोज्यो, भेट साटिएको शंका लाग्यो । भन्सारले २६ वैशाख २०८० मा सीआईबीलाई पत्र लेख्यो । सीआईबीको अनुसन्धानका क्रममा भेपमार्फत ९ किलो सुन तस्करी र भन्सारमा रहेको सुनले भरिएको भेप साटफेर गरेर सुन नलिकाएको समेत खुल्यो ।
अनि, सुन तस्करी गर्ने चिनियाँ नागरिक लुई हानसोङ र मओवादी नेता महराको बलियो नेक्सस देखियो । तर राजनीतिक दबाव र प्रभावका कारण महराविरुद्ध मुद्दा नै चलाइएन । किनकी त्यो बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए भने गृहमन्त्री माओवादीकै नेता नारायणकाजी श्रेष्ठ ।
महरालाई उन्मुक्ति दिएको भन्दै विरोध भएपछि १३ भदौ २०८० मा सीआईबीले महराका छोरा राहुललाई नियन्त्रणमा लियो । राहुलको सम्बन्ध सुन तस्कर दावा लामासँग पनि रहेको भेटियो । दावा तिनै तस्कर हुन्, जो पटक–पटक विभिन्न सामानभित्र सुन राखेर नेपाल ल्याउने कार्यमा संलग्न भेटिएका छन् ।
जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि राहुलले १४ महिना कैद सजाय समेत काटे, बाबु कृष्णबहादुर महराले महराले उन्मुक्ति पाइरहे । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि पनि जोगाउन काम भयो ।
आयोगले प्रतिवेदन दिँदा रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री थिए । चैत २०८० मा महरा कपिलवस्तुबाट पक्राउ परे । तर बयान लिएर हाजिर जमानीमा छाडियो । महरालाई छाडेको विषयमा प्रश्न उठेपछि लामिछानेले मानवीय संवेदना हेरेर छाडेको प्रतिक्रिया दिएका थिए ।
तर यो महरालाई जोगाउन खेल थियो । किनकी त्यसपछि सरकारले उनको मुद्दा अगाडि नै बढाएन ।
तर राजनीति सँधै एकनाथ हुन्न । सेप्टेम्बर ८ को जेनजी प्रोटेस्टसँगै सत्तामा हालिमुहाली गरिरहेकाहरु किनारामा धकेलिएका छन् ।
भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दा लिएर सडकमा आएका जेनजीहरुको विद्रोहको बलमा सरकार बनेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मुख्य काम चुनाव गराउनु हो, तर भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दा छाड्न सक्दैन ।
त्यसैले सरकारले सुरुमै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा नेतृत्व परिर्वतन गर्यो । राजनीतिक दबावका बाबजुद भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरेका एआईजी मनोज केसीलाई नेतृत्व सुम्पियो । र, केसीले सुरुमै महराको सुनकाण्डको फाइल खोलेका छन् ।
दुई पटक उम्किसकेका महरालाई अब भने उन्मुक्ति पाउन सहज छैन ।
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                    कता अड्कियो चीनको रेल ?
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                    
                    





