नेभिगेशन
एक्सप्लेनर भिडियो

बालेनलाई किन भनियो लुसिफर ?

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक बहसमा एउटा नाम निकै चर्चामा छ, लुसिफर । 

तर कुनै फिल्मको पात्रका रुपमा होइन । काठमाडौंका मेयर बालेन साहलाई भनिएको छ । 

आखिर को हुन् लुसिफर अनि किन बालेनको तुलना उनीसँग गरिएको छ ? 

जेनजी विद्रोहपछि लुसिफर शब्दलाई चर्चामा ल्याउने व्यक्ति हुन् विश्लेषक सौरभ । उनले टीकाराम यात्रीसँगको अन्तर्वार्तामा बालेन शाहलाई संकेत गर्दै लुसिफर शब्द प्रयोग गरेका थिए । 

सौरभले चर्चा गरेका लुसिफर रियल मान्छे होइनन्, धर्मशास्त्रका काल्पनिक पात्र हुन् । 

यसको चर्चा क्रिष्चियन धर्मग्रन्थ बाइबलमा छ । त्यसमा भनिएअनुसार युवा र उज्वल व्यक्ति लुसिफरलाई आशा र ज्ञानको प्रतीकका रुपमा हेरिन्थ्यो । 

ल्याटिन भाषामा लुसिफर भनेको उज्यालो ल्याउने पात्र हो । शुक्र ग्रहको अर्को नाम हो । 

हरेक बिहान सूर्य नउदाउँदै शुक्र ग्रहको उज्यालोले बिहानीको संकेत दिन्छ भन्ने विश्वास गरिन्छ । 

बाइबलमा उल्लेख भए अनुसार स्वर्गमा परमेश्वरका धेरै देवदूतहरु थिए, जसमध्ये एक लुसिफर थिए । देवदूतहरु मध्येमा उनी पपुलर पनि थिए । परमेश्वरले पनि उनैलाई विश्वास गरेका थिए ।

तर लुसिफर आफूले पाएको शक्ति र भूमिकाबाट सन्तुष्ट भएनन्, अझ चाहन थाले ।

लुसिफरमा परमेश्वर भन्दा ठूलो हुने लालसा जाग्यो । त्यसका लागि उनले षड्यन्त्रको तानाबाना बुन्न थाले, दूतहरुको भेला गर्न थाले । परमेश्वरविरुद्ध षड्यन्त्र गर्न थालेपछि लुसिफर स्वर्गबाट निष्कासनमा परे । 

परमेश्वरले उनलाई स्वर्गबाट पृथ्वीमा फ्याँकिदिए । त्यसपछि लुसिफरले थाहा पाए कि, उनीसँग परमेश्वरको सिंहासन खोस्ने तागत छैन । तर उनले अर्को तरिकाले जित्ने लक्ष्य राखे । परमेश्वरका सन्तानलाई नै उनीविरुद्ध भड्काउन थाले । त्यसपछि लुसिफर बिहानीको ताराबाट मानवजातिको विरोधी बने र सैतान भनेर चिनिन थाले । 

त्यसैले क्रिष्चियन धर्ममा लुसिफरलाई दुःखको मुख्य योजनाकार भनिएको छ । लुुसिफर अधर्ममा रमाउँछ र उसले भगवानका सन्तानहरुलाई कहिल्यै शान्ति, खुशी र धर्मको जीवन बिताउन दिँदैन भन्ने मानिन्छ । 

त्यसैले लुसिफर यस्तो नाम बन्यो, जसलाई त्यसता व्यक्तिको बर्णय गर्न प्रयोग गरिन्छ, जो सत्ताविरुद्ध विद्रोह गर्छ । यहाँसम्म कि ईश्वरीय व्यवस्थाको पनि विरुद्धमा हुन्छ । 

नेपालको राजनीतिमा बालेन शाहले बिद्रोही राजनीतिकर्मीको छवि बनाए । एउटा यस्तो व्यक्ति जसले पुरानो व्यवस्थालाई चुनौती दिन्छ, परम्परागत राजनीतिलाई मान्दैन, पार्टीहरुको दबदबामा झुक्दैन । 

पेशाले उनी इन्जिनियर हुन् । र्‍यापरका रुपमा परिचित थिए । २०७९ को स्थानीय चुनावबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए । त्यसैपनि संघीय राजधानीको मेयर शक्तिशाली हुने नै भए । त्यसमाथि उनको शैली अरुको भन्दा फरक रह्यो । 

सार्वजनिक कार्यक्रमहरुमा निकै कम देखिन्छन् । महानगरले गरेको सार्वजनिक सुनुवाइमा पनि जाँदैनन्, कार्यपालिका बैठकमा पनि कार्यपालिका सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिँदैनन् । 

साढे ३ वर्षको कार्यकालमा उनको थुप्रै पटक संघीय सरकारसँग टकराव भयो । तर कहिल्यै सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँदैनन्, उनीहरुको प्रश्न सुनेनन् । आफूलाई भन्न मन लागेको कुरा फेसबुकमा लेखिरहे ।

सधैंजसो कालो रंगको ड्रेस र कालो चश्मा लगाउने उनका आलोचक पनि छन् । तर युवाहरुको ठूलो पंक्तिले उनलाई साहसी मान्ने गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा बालेन कहिल्यै सडकमा आएनन्, तर उल्लेख्य भूमिका खेले । 

जेनजीहरुले भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै सेप्टेम्बर ८ मा प्रदर्शन राखेका थिए । बालेनले खुलेर समर्थन गरे । आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा टिप्पणी गरे । आतंकवादीको संज्ञा दिएका थिए । 

भोलिपल्ट थप मानिस सडकमा आए । आन्दोलन यति अनियन्त्रित भयो कि संसद, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा पनि आगजनी भयो । प्रधानमन्त्री ओलीले राजीनामा दिएर भाग्नुपर्ने अवस्था आयो ।

जेनजीहरुले जसलाई भन्यो, त्यही प्रधानमन्त्री हुने अवस्था भएकाले दलहरुले पनि स्वीकार गर्ने अवस्था थियो । जेनजीहरुले बालेन शाहलाई सम्झिए । प्रधानमन्त्री बन्न आग्रह गरे । तर उनी तयार भएनन् । 

बरु प्रतिनिधिसभा विघटनलाई शर्त बनाए, प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन गरे ।  

त्यसपछि उनका आलोचकहरुले, अराजकता फैलाएको र देशकै नेतृत्व गर्ने अवसर आउँदा जिम्मेवारीबाट भागेको भनेर बालेनलाई लुसिफरको संज्ञा दिएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो