नेभिगेशन
एक्सप्लेनर भिडियो

बालेनविरुद्ध देशभर परेको जाहेरीको अर्थ

दुई वर्ष अगाडि काठमाडौंका मेयर बालेन शाहले लेखेका थिए, सिंहदरबारमा आगो लगाइदिन्छु । 

त्यतिबेला यो केबल एउटा आक्रोशित पोष्ट थियो । 

तर दुई वर्षपछि सिंहदरबारमा वास्तवमै आगो लाग्यो । त्यसको आरोप बालेन शाहमाथि पनि लागेको छ । 

घटना २०८० भदौको थियो । अस्पतालबाट फर्किएकी उनकी श्रीमती चढेको काठमाडौं महानगरपालिकाको गाडीलाई रोकेर ट्राफिक प्रहरीले केरकार गरेको थियो । 

त्यसबाट रिसाएका बालेनले फेसबुकमा लेखेका थिए, आजका लागि केही भएन, भोलिदेखि हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाउँछु । 

दुई वर्षअघिको त्यो स्टाटसले बालेनलाई अचानक पछ्याएको छ ।

एक महिना अगाडि जेनजी विद्रोह भयो । सेप्टेम्बर ८ मा नवयुवाहरु भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै सडकमा आए । 

तर सरकारले के गर्‍यो थाहा छँदैछ । 

सम्वाद होइन, क्रूर दमन । बानेश्वरको सडकमा गोली हानेर १९ जना मारियो । अनि सेप्टेम्बर ९ मा नवयुवाहरु मात्र होइन, अरु पनि अक्रोशित समूह सडकमा ओर्लिए । 

त्यसैले भोलिपल्ट संसद, सिंहदरबार, सर्वोच्च अदालत, पार्टी कार्यालयहरु, नेताका घर र व्यापारिक प्रतिष्ठानमा आगजनी, तोडफोड र लुटपाट भए । 

केपी ओलीले परिस्थिति सम्हाल्न सकेनन्, राजीनामा दिए । 

जेनजी आन्दोलनको चाहनाअनुसार सुशीला कार्की नेतृत्वमा नयाँ सरकार बन्यो । नयाँ सरकारमाथि सेप्टेम्बर ८ मा आन्दोलन दबाउन अति बल प्रयोग गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि कारबाही गर्नुपर्ने दबाव छ । 

काठमाडौंका मेयर बालेनले समेत प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ओली र लेखकलाई पक्राउ गर्न दबाव दिएका थिए । 

जेनजी विद्रोहका क्रममा घाइते भएकाहरुले ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी नै दिएका छन् । 

पुरानो सत्ताका दलहरु कांग्रेस र एमाले त्यसको प्रतिवादमा आएका छन् । एमालेले सेप्टेम्बर ९ मा भएको राष्ट्रिय सम्पत्ति आगजनीमा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ । 

एमाले नेताहरुले दुई वर्ष अगाडिको फेसबुक स्टाटसलाई देखाएर सिंहदरबार कसले जलायो भनेर बालेनतिर औंला ठड्याएका छन् । अनि, एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बालेनविरुद्ध एकपछि अर्को जिल्लामा जाहेरी दर्ताका लागि निवेदन दिएका छन् ।

अनेरास्ववियुका महासचिव दीपक धामीका अनुसार अहिलेसम्म ४० जिल्लामा जाहेरी परिसकेको छ । 

एमालेको विद्यार्थी संगठन मात्र होइन, कांग्रेसको विद्यार्थी संगठन नेबिसंघले पनि केही जिल्लामा बालेनविरुद्ध जाहेरी दिएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशोक सिंह विष्टका अनुसार १२–१३ जिल्लामा जाहेरी परेको छ । सबै जाहेरीमा बालेन र सुदनको नाम छुटेको छैन ।

बालेन काठमाडौंका मेयर भइहाले । सुदन, हामी नेपाल नामक संस्थाका संयोजक हुन् र, जेनजी आन्दोलनमा सक्रिय सहभागी भएका उनी आन्दोलनपछि सरकार निर्माणमा पनि निर्णायक थिए ।

बालेनविरुद्ध किन जाहेरी दिएको भन्ने प्रश्नमा अनेरास्ववियुका महासचिव दीपक धामीको भनाइ छ कि, पहिले सिंहदरबार जलाउने धम्की दिएका थिए, अहिले उनकै संगठित प्रयासमा काठमाडौं र देशव्यापी आगजनी भएको हो । 

अनेरास्ववियु र नेविसंघका नेताहरु हाकाहाकी भन्छन्, हामीसँग प्रमाणसमेत छ । 

दुबै संगठनले दिएको जाहेरीमा मुलुकी फौजदारी संहिताको दफा २८५ अनुसारको कसुर गरेको भनिएको छ । 

जसमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका सम्पत्ति नष्ट गरेको आरोप छ । र, ५ देखि १२ वर्षसम्म कैद र बिगो बराबरको जरिवाना गर्ने व्यवस्था छ । 

नेविसंघ र अनेरास्ववियुले बालेन र सुदनविरुद्धको जाहेरीलाई आफ्नो अभियान नै बनाएका छन् । जिल्ला जिल्लामा कांग्रेस–एमालेका युवा विद्यार्थी ठूलो दलबलसहित प्रहरी कार्यालय पुगेका छन् । कतै मोटरसाइकल र्‍याली नै गरेका छन् । 

प्रहरीले पनि चुपचाप उनीहरुको जाहेरी बु्झिदिएको छ । तर दर्ता गरेर कारबाही अगाडि बढाएको छैन । 

जिल्ला प्रहरी परिसर काठमाडौंले यसरी परेको जाहेरी पहिला त जाँचबुझ आयोगमा पठायो । तर जाँचबुझ आयोगले नियमित फौजदारी मुद्दामा प्रहरीलाई अनुसन्धान गर्न कुनै बाधा नरहेको भन्दै जाहेरी फिर्ता गरिदियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आयोगले फिर्ता गरेपछि जाहेरी अध्ययन भइरहेको छ । के गर्ने भन्ने निर्णय भइसकेको छैन ।

प्रहरी पर्ख र हेरको अवस्थामा छ । यो राजनीतिक कदम भएकाले केही दिनमा आफैं साम्य हुन्छ भन्ने आशामा छ । 

नेविसंघ र अनेरास्ववियुको कदम हेर्दा ओली र लेखकमाथि कारबाहीको दबाब बढेपछि त्यसको काउन्टरमा चालिएको कदम हो भनेर बुझ्न गाह्रो छैन ।  

तर उनीहरुले बुझ्नुपर्ने कुरा के हो भने जेनजी आन्दोलनमा भदौ २३ गतेको घटनालाई छाडेर २४ गतेको घटनालाई मात्र उछाल्नु जायज होइन । 

पहिलो दिन सरकारले आन्दोलन दबाउने नाममा अधिक बल प्रयोग गर्नु अपराध हो । त्यस्तै भोलिपल्ट आन्दोलनको नाममा राष्ट्रिय सम्पत्ति जलाउनु पनि अपराध नै हो । 

भदौ २३ र २४ को जेनजी आन्दोलनलाई हेर्दा दुबै दिनको घटनालाई हेर्नुपर्छ । 

तर कांग्रेस–एमालेका युवा विद्यार्थीले भदौ २४ गतेको घटना मात्र देखिरहेका छन्, भदौ २३ गते जेनजी आन्दोलनकारीमाथि गोली चलाएको देखेका छैनन् । 

नेविसंघ र अनेरास्ववियुले भन्न सक्नुपर्छ कि भदौ २३ गतेको घटनाको निष्पक्ष छानबिन गर, प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि आवश्यक परे अनुसन्धान गर, हामी सहयोग गर्छौं । भदौ २४ गतेको घटनाको पनि अनुसन्धान गर भन्नुपर्छ । त्यसको बाटो भनेको बालेन र सुदनविरुद्ध उजुरी दिने होइन । 

किनकी सेप्टेम्बर ९ को घटनामा अहिले नै बालेन शाहमाथि उजुरी लाग्ने अवस्था छैन । 

फौजदारी कानुनका विज्ञ अधिवक्ता सुवास आचार्य दुई वर्षअगाडि सिंहदरबारमा आगो लगाउँछु भनेर स्टाटस लेखेकै भरमा उनीविरुद्ध जाहेरी दिन मिल्दैन । 

आगजनी, तोडफोडको घटनामा संलग्नहरु पहिचान गर्ने भनेको सीसीटीभी फुटेज र घटनास्थलमा मानिसहरुले खिचेको भिडियोबाट हो । यसरी पहिचान भएका संलग्नहरुको बयान लिएपछि बल्ल अन्य संलग्न र मतियारहरु पहिचान हुनेछन् । 

भदौ २३ र २४ घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनिसकेको छ । आयोगले बाहिर आएका भिडियोहरु हेर्ला, आवश्यक मानिसहरुसँग सोधपुछ गर्ला । सिंहदरबार जलाउने कोको थिए ? यसमा अनियन्त्रित भीड मात्र थियो वा कसैको योजनावद्ध प्रयास हो भन्ने पनि खोजविन गर्ला ।

यसका लागि कांग्रेस–एमालेका युवा विद्यार्थीले आफूसँग भएको तथ्य प्रमाण आयोगलाई सहयोग गर्न सक्छन् । तर त्यसतिर नलागी बालेनविरुद्ध जिल्ला जिल्लामा उजुरी दिएर हिड्नु भनेको राजनीतिक तिक्तता बढाउन मद्दत गर्नु मात्र हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो