एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
प्रचण्ड र माधव नेपाल पार्टी एकताको तयारीमा छन् । झट्ट हेर्दा माओवादी र एकीकृत समाजवादीको यो प्रयास वाम ध्रुवीकरण जस्तो लाग्छ, तर यसमा उनीहरुको अस्तित्व रक्षाको स्वार्थ जोडिएको छ ।
किनकी अब माधव नेपालले एक्लै पार्टी जोगाउन सक्ने अवस्था छैन । प्रचण्डको माओवादीको हालत पनि त्यस्तै छ ।
जब प्रचण्ड र माधव दुबैलाई लाग्यो कि पार्टी जोगाउने हो भने एकता नै अन्तिम विकल्प हो । तर घनश्याम भूसालले भनिदिए, पहिला पद छाड, अनि एकता हुन्छ ।
भुसालको यही शर्तमा अड्किएको छ, माओवादी र एकीकृत समाजवादीको एकता प्रयास ।
के पार्टी एकता गरेर प्रचण्ड र माधव नेपालले आफ्नो पद जोगाउन खोजेका हुन् ? दुई कम्युनिस्ट पार्टी एक हुनुले नेपालको राजनीतिमा के फरक पार्छ ?
प्रचण्ड र माधव नेपालले पार्टी एकताको तयारी गरेको धेरै पहिला नै हो ।
जति बेला एमाले र माओवादी मिलेर बनेको नेकपा भर्खर बिभाजन भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिरमा संसद बिघटन गरेपछि तत्कालिन नेकपा दुई समूहमा बाँडिएको थियो ।
ओली एकातिर थिए भने प्रचण्ड र माधव अर्कातिर थिए ।
त्यहीबेला प्रचण्ड र माधव नेपालहरुले एउटै पार्टी बनाउने विषयमा चरणवद्ध छलफल गरेका थिए ।
त्यसबेला केही पदमा कुरा मिलेन, माधव नेपाललाई साथ दिएका नेताहरु नै एकताको पक्षमा उभिएनन् । माधव नेपाल पक्षका नेताहरु एमाले नेतृत्वसँग १० बुँदे सहमति गरेर एमालेमै रहे ।
माधव नेपाल र झलनाथ खनालहरु बाहिरिए । २०६८ भदौमा माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो ।
तर यो पार्टी फस्टाउन सकेन । २०७९ मंसिरको चुनावमा कांग्रेस र माओवादीसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ १० सिट जित्यो, तर समानुपातिक प्रणालीतर्फ ३ प्रतिशत मतको थ्रेस होल्ड नै कटाउन सकेन । त्यसपछि त झन् पार्टीमा निराशा छायो, एमाले फुटाएको औचित्य पुष्टि भएन भन्ने प्रश्न उठ्यो । जिल्ला कमिटी नै एमालेमा विलय भएको खबरहरु आए ।
माधव नेपालले एमाले छाडेर स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाललाई महासचिव बनाए, बामदेव गौतमहरुलाई ल्याए, तैपनि पार्टीमा अपेक्षाकृत गति आउन सकेन ।
२०८२ फागुनमा हुने चुनाव एक्लै लड्ने हो भने अस्वित्व जोगाउनै हम्मेहम्मे हुने अवस्था छ ।
अर्कोतर्फ प्रचण्ड नेतृत्वको माओवादीले पनि जनाधार विस्तार गर्न सकेको छैन । २०६४ मा कांग्रेस र एमाले मिल्दा पनि नभेट्ने अवस्थामा रहेको माओवादी त्यसयता हरेक चुनावमा ओरालो लागेको छ । अनि, पार्टीभित्र प्रचण्डले नेतृत्व छाड्नुपर्ने आवाज बलियोसँग उठ््न थालेको छ ।
त्यहीबेला जेनजी आन्दोलनले राष्ट्रिय राजनीतिमा ठूलै भूकम्प ल्यायो । अनि, प्रचण्ड र माधव नेपालले पार्टी एकताको बाटो रोजे ।
एकताका लागि प्रचण्ड पार्टीको नामबाट माओवादी भन्ने शब्द हटाउन तयार भए । माओवादीले दुई दशकदेखि प्रयोग गर्दै आएको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडा छाड्न राजी भए ।
पार्टीको सिद्धान्त २१औं शताब्दीको जनवाद पनि छाड्न तयार भए । नेताहरुका अनुसार पार्टीको नाम नेकपा समाजवादी वा नेकपा समाजवादी केन्द्र राख्ने मोटामोटी समझदारी भइसकेको छ ।
चुनाव चिह्न एकीकृत समाजवादीको कलम नै लिने वा नयाँ खोज्ने भन्ने छ । पार्टीको सिद्धान्त नेपाली विशेषता सहितको समाजवाद हुने छ । नेतृत्वमा प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक रहने मोटामोटी सहमति भएको छ ।
यसरी एकता हुँदा पार्टीको अस्तित्व कसरी जोगाउने भन्ने माधव नेपालको चिन्ता हट्ने भयो । प्रचण्डहरुलाई पनि माओवाद भन्ने ट्याग छाड्ने अवसर मिल्यो । यसरी हुने एकता वामपन्थी ध्रुवीकरणका लागि महत्वपूर्ण कदम हुने मानिएको थियो ।
नेपालमा समकालीन वामपन्थी दलहरुमा सबभन्दा ठूलो त एमाले हो । तर सेप्टेम्बर ८ को यत्रो दमनका बाबजुद एमालेले नेतृत्वमा केपी शर्मा ओलीको विकल्प खोज्ने संकेत देखाएको छैन ।
त्यसैले अरु साना दलहरु अहिले नै एमालेतिर ध्रुवीकरणमा जाने सम्भावना कम छ । उनीहरुका लागि प्रचण्ड र माधव नेपालको एकताबाट बन्ने नयाँ पार्टी विकल्प बन्न सक्छ । अनि, एमाले छाड्न चाहेको, तर बलियो विकल्प नभएकाहरुलाई पनि यो पार्टी विकल्प बन्नसक्छ ।
त्यसैले प्रचण्ड र माधव तत्काल पार्टी एकता गरिहाल्न चाहन्छन् ।
तर घनश्याम भूसालले एकतामा प्रश्न मात्र उठाएनन्, एकता गर्ने प्रचण्ड र माधव नेपालको हतारभित्र लुकेको नियत समेत उजागर गरेका छन् । उनले प्रष्ट भनेका छन् कि एकता गर्ने हो भने प्रचण्ड र माधव नेपालले नेतृत्व छाड्नुपर्छ ।
जनताले ओली र देउवा मात्र होइन, प्रचण्ड, माधव नेपालहरुको पनि विकल्प खोजेका हुन् । त्यसैले पार्टी एकता गर्ने हो भने चुनावमा जाँदा नेतृत्वमा नयाँ अनुहारलाई लिएर जानुपर्छ ।
यसका लागि मंसिरसम्म प्रचण्ड र माधव नेपालले नेतृत्व छाड्नुपर्ने उनको शर्त छ । यदि यसो नगर्ने हो भने एकताको अर्थ हुन्न । आफू एकता प्रक्रियामा सहभागी नै नहुने भुसालले बताएका छन् ।
नेताहरुले भुसाललाई फकाउने प्रयास पनि नगरेका होइनन् । प्रचण्डले समेत भेटेर छलफल गरे । उनले नेतृत्व हस्तान्तरणका लागि आफ्नो पार्टीभित्र वातावरण बनाउन पनि समय चाहिने तर्क गरे । तर भुसालको बुझाइ के छ भने यही अवस्थामा एकता गर्ने हो भने प्रचण्ड र माधव नेपालहरुले ३/४ वर्ष महाधिवेशन पनि गर्दैनन्, नेतृत्व पनि छाड्दैनन् ।
त्यस्तो अवस्थामा एकता नाम मात्रको हुनेछ, यसले उल्लेख्य परिणाम ल्याउँदैन । त्यसैले मंसिरभित्र नेतृत्व छाड्ने र नयाँ अनुहार लिएर चुनावमा जाने अडानबाट घनश्याम भूसाल टसकामस छैनन् ।
प्रचण्ड र माधव नेपालले पनि उनी विना नै एकतामा जाने आँट गरेका छैनन् ।
किनकी महासचिव भुसाल नै नजाँदा एकीकृत समाजवादीको ठूलै हिस्सा एकता प्रक्रियामा सहभागी हुने छैनन् । त्यसमध्ये कतिपय भुसालसँगै रहलान्, कति एमालेतिर फर्किन पनि सक्लान् ।
अनि, माओवादीमा पनि भुसालहरु नभएको एकताको अर्थ हुन्न भन्ने आवाज उठेको छ ।
नेताहरुका अनुसार बन्द कोठामा हुने छलफलहरुमा माओवादी अध्यक्ष प्रचण्डले पनि यसलाई स्वीकार गरेका छन् । तर मंसिरमा नेतृत्व छाडिहाल्न तयार पनि देखिएका छैनन् ।
यस्तो व्यवहारले कतै उनले एकताका नाममा पद जोगाउन खोजेका त होइनन् भने प्रश्न उठेको छ ।
किनकी नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माले जेनजी विद्रोह लगतै बसेको बैठकमा नै प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका थिए । तर माओवादीले मंसिरभित्र विशेष महाधिवेशन गर्ने निर्णय गर्यो ।
अनि, केही नेताहरुले महाधिवेशनबाट प्रचण्डले नेतृत्व छाड्ने भनेर सार्वजनिक रुपमा बताएका छन् ।
अहिले घनश्याम भुसालहरुले पार्टी एकता गर्दा त्यही मंसिरमा प्रचण्ड र माधव नेपालले नेतृत्व छाड्नुपर्ने भनेका हुन् । त्यसमा सहमत नहुनुले प्रचण्ड एकताका नाममा अझै नेतृत्वमा रहिरहन खोजेको त होइन भन्ने आशंका बढेको छ ।
त्यसैले नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरुले प्रचण्ड र माधव नेपाल दुबैले नेतृत्व छाड्ने गरी पार्टी एकता गर्न दबाव दिइरहेका छन् । एकताबारे निर्णय गर्न समयको पनि उत्तिकै दबाव छ । किनकी राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समय कात्तिक मसान्तसम्म छ ।
प्रचण्ड र माधव नेपालले एकता रोज्ने कि पद, केही दिनमा थाहा हुनेछ ।
बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
कता अड्कियो चीनको रेल ?






