नेभिगेशन
एक्सप्लेनर भिडियो

परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड

काठमाडौंको एक हुनेखाने परिवार । 

बाबु परराष्ट्र सेवाका जागिरे, भारत, रुस, थाइल्याण्डजस्ता देशको नेपाली दूतावासमा काम गरिसकेका ।

उनी छोरालाई आफूजस्तै कूटनीतिज्ञ बनाउन चाहन्थे । 

तर छोराको रहर भने हिरो बन्ने थियो । उनको रहर मात्र थिएन, उनी त्यसलाई आफ्नो करिअर नै बनाउन चाहन्थे । 

त्यो बेला वर्षमा मुश्किलले एउटा–दुईवटा मात्र फिल्म बन्थे । यस्तो बेला फिल्म क्षेत्रमा कसले पो करिअर देख्थ्यो र ? तर छोराले जिद्दी छाडेनन् । 

त्यसपछि बाबुछोराको सम्बन्ध टाढा हुँदै गयो । बोलचाल समेत हुन छाड्यो । बाबुले भनेको नमानेपछि घरमा दिदी र भाइबहिनीसँग पनि उनको सम्बन्ध सुमधुर भएन । 

फिल्म क्षेत्रमा पाइला राख्दै गर्दा उनलाई साथ दिने एउटै मान्छे थियो, उनको गर्लफ्रेन्ड । गर्लफे्रन्डले साथ मात्र दिइनन्, हौसला पनि दिइन् । 

घरबाट साथ सहयोग नपाएर एक्लिएका बेला गर्लफ्रेन्डको हौसलाले फिल्मको करिअर अघि बढाएका युवक आज नेपाली फिल्म क्षेत्रमा महानायकको रुपमा चिनिएका छन् । हो, महानायक अर्थात् राजेश हमाल । 

राजेश हमालका बाबु चुडाबहादुर हमाल नेपालको परराष्ट्र सेवाका कर्मचारी थिए । काठमाडौंको धनाढ्य परिवारभित्र पथ्र्यो उनीहरुको परिवार । चुडाबहादुरले छोराछोरीलाई कुनै कुराको कमी हुन दिएका थिएनन् । 

उनको बुबाको सरुवा विभिन्न देशको नेपाली दूतावासमा भइरहन्थ्यो, त्यसैले राजेशले पनि धेरै देशको अनुभव सानै उमेरमा लिएका छन् । 

उनको स्कुल शिक्षा भारतको दिल्लीबाट सुरु भयो, त्यसपछि ३ कक्षासम्म काठमाडौंमा सेन्ट जेभियर्स स्कुलमा पढे । 

४ कक्षादेखि रुसमा पढे । उनी १५ वर्षको भएपछि मात्र काठमाडौं फर्किए । काठमाडौं फर्किएर सेन्ट जेभियर्स स्कुलबाट एसएलसी उतीर्ण गरे । एसएलसीपछि उच्च शिक्षा पढ्न भारतको चण्डीगढ गए । 

सन् १९८७ तिर अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि राजेश हमाल नेपाल फर्किए । उनले भारतमा र नेपालमा केही इभेन्टमा मोडलिङ पनि गरे । उनलाई कलाकारिता क्षेत्रमा नै लाग्ने चाहना थियो, तर त्यो बेला निकै कम मात्र फिल्म बन्थे । फिल्म क्षेत्रमा लागेकाहरुको पनि भविष्यको टुंगो थिएन । एउटा फिल्म खेले पनि अर्को पाउने ग्यारेन्टी थिएन । 

उनका बाबु भने उनलाई कलाकारितामा नलागोस्, आफूजस्तै कुटनीति क्षेत्रमा लागोस् भन्ने चाहन्थे । 

राजेश भने फिल्म खेल्न प्रयास गर्नुपर्छ भन्ने सोचाइमा पुगेका थिए । तर कहाँ गएर कोसित भन्ने अन्योल थियो । 

यो २०४४ सालतिरको कुरा थियो । त्यही बेला उनको मामा दीपक रायमाझी रुसमा फिल्म निर्देशन पढेर नेपाल आएका थिए । उनले म फिल्म बनाउँदैछु, ४० दिन जतिमा सुटिङ सकिन्छ, तिमी गर्ने हो भनेर सोधे । 

राजेशलाई ढुंगा खोज्दा देउता मिले जस्तै भयो । उनले सहमति जनाए । उनले फिल्ने खेल्ने भए । 

फिल्मको नाम थियो, भाग्य रेखा । उनी नायक थिए र नायिका थिइन् कृष्टि मैनाली । १०–१२ दिन फिल्म सुटिङ पनि भयो । तर राजेश र कृष्टि दुबै फिल्मबाट निकालिए । 

परिवारको चाहना विपरीत फिल्म क्षेत्रमा लागेका राजेश फिल्मबाट निकालिएपछि चिन्तित थिए ।  

त्यो बेला उनी हरेक दिन सधैं ठमेल वा दरबारमार्गको रेष्टुरेन्ट जान्थे । नेपाल घुम्न आएका विदेशीहरुसँग भेटघाट र कुराकानी गर्थे । त्यही समयमा ठमेलको एउटा रेष्टुरेन्टमा राजेशको भेट अष्ट्रेलियाकी एक युवतीसँग भयो ।

उनी त्यहाँको एक टेलिभिजनमा काम गर्ने फोटो पत्रकार थिइन् । अफिसबाट बिदा लिएर विश्व भ्रमणमा घुम्न निस्केकी । 

त्यस दिन उनीहरुले रेष्टु्रेन्टमा लामो कुराकानी गरे । त्यहाँबाट छुट्टिएपछि भने उनीहरुको भेट धेरै समयसम्म भएन । 

एक दिन ती महिला राजेश हमाललाई खोज्दै उनकै घरमा पुगिन् । त्यसपछि भने उनीहरु नजिकिए । राजेशले आफ्नो भावना उनैसँग सेयर गर्थे । उनले आफू एक्टर बन्छु भनेर पहिलो पटक लामो कुरा पनि तिनै अष्ट्रेलियन महिलासँग गरेका थिए । 

राजेश भाग्यरेखाबाट निकालिएकाले फुर्सदमै थिए, उनीहरुले दिल्ली घुम्ने योजना बनाए ।

त्यतिबेला राजेशका बाबु दिल्लीस्थित नेपाली दूतावासमा काम गर्थे । आमा पनि दिल्लीमै थिइन् । राजेश बाबुआमासँग बसे । अष्ट्रेलियन गर्लफ्रेन्डलाई पनि घरमै कफी खान बोलाएका थिए । 

त्यही बेला उनका बुबा आइपुगे । उनले ती महिलाबारे सोधखोज गरे । टेलिभिजनमा १० वर्ष काम गरेको र विश्व घुम्न हिँडेको भन्ने थाहा पाए । अनि यस्तो प्रोफेसनल मान्छेले आफ्नो छोराजस्तो बेकारको मान्छेसँग किन समय बिताइरहेको भनेर प्रश्न गरे । 

तर अष्ट्रेलियन महिलाले राजेश हमालको प्रशंसा गरिन् । उनले गर्न खोजेको काम राम्रो हो भनेर बचाउ गरिन् । 

तर राजेशका बुबा चुडाबहादुरले फिल्मको विषयलाई लिएर राजेशलाई गर्लफ्रेन्डकै अगाडि गाली गरे । 

देखिस् खुब गर्छु भनेको थिइस्, नेपालमा हुँदैन भनेकै थिएँ, अहिले फर्केर आउनुपर्‍यो नि भनेर कराए । 

राजेशलाई नमज्जा लाग्यो । त्यसपछि झोला बोकेर अष्ट्रेलियन महिलासँगै घर छाडेर हिँडे । एक वर्षसम्म उनीहरुले भारतका धेरै ठाउँ घुमे । काश्मिर, कुल्लु मनाली, मुम्बईजस्ता ठाउँ घुमे । भारतका धेरै फिल्म सुटिङस्थलमा पनि गए । राजेशले अमिर खान र जुही चावलालगायत भारतीय कलाकारको फिल्म सुटिङ पनि हेर्न पाए । 

भारतमा केही विज्ञापन एजेन्सीले गरेको ट्यालेन्ट हन्टमा पनि राजेश सहभागी भए । एजेन्सीका केही असाइनमेन्टहरुमा अभिनय पनि गरे । एक वर्षपछि राजेश हमाल काठमाडौं फर्किए । 

नेपाल फर्केको एक महिना उनलाई अर्को फिल्मको अफर आयो । यो पनि उनकै मामा दीपक रायमाझीको फिल्म थियो । दीपककै फिल्मबाट निकालिएकाले राजेशले काम नगर्ने हो कि भन्ने निर्माताको आशंका थियो । 

तर उनी सहजै तयार भए । त्यो फिल्म थियो, युगदेखि युगसम्म । त्यसको सुटिङमा ती अष्ट्रेलियन गर्लफ्रेन्ड पनि जान्थिन् ।

त्यो फिल्मको प्रिमियरमा पनि उनको परिवारका कोही गएनन्, तर अष्ट्रेलियन गर्लफ्रेन्ड चाहिँ गएकी थिइन् । फिल्म सुपर हिट भयो, त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । 

००० 

राजेश आफू परिवारको साथ सहयोग नहुँदा पनि फिल्म क्षेत्रमा आफ्नै बलबुताले स्थापित भएको बताउँछन् । बरु आफ्नो सफलताको श्रेय दर्शकसँगै अष्ट्रेलियन गर्लफ्रेन्डलाई पनि दिन्छन् । 

उनका अनुसार ६–७ वर्ष उनीहरु प्रेम सम्बन्धमा थिए । उनीहरु बीच विवाह गर्ने भन्ने कुरा भएको पनि थिएन, कुनै वाचा कसम पनि थिएन । ६–७ वर्षपछि दुबै आआफ्नो बाटो लागे ।

Rajesh-Hamal-book-1761837055.jpg
राजेश हमालको वाल्यकाल, सिनेमा, प्रेमसम्बन्ध र जीवनका विविध आयाम समेटिएको पुस्तक हालै बजारमा आएको छ । पत्रकार यज्ञशसँगको कुराकानीका आधारमा तयार भएको पुस्तकमा राजेशले आफ्नो जीवनमा ५–६ जना महिलासँग नजिकको सम्बन्ध राखेको खुलाएका छन् । 

अनौठो संयोग के छ भने धेरै विदेशी नै रहेका छन् । अष्ट्रेलियन गर्लफ्रेन्ड भन्दा अगाडि भारतमा कलेज पढ्ने बेलामा राजेश हमालको एक पन्जाबी महिलासम्म प्रेम सम्बन्ध थियो । 

राजेश हमालले एसएलसीपछि भारतको चण्डीगढको कलेजमा पढे । त्यतिबेला उनको प्रेम सम्बन्ध पञ्जाब युनिभर्सिटी अफ साइकोलोजीमा पढ्ने एक पन्जाबी महिलासँग भएको थियो । त्यतिबेला राजेश ११ कक्षा पढ्थे भने ती महिला पन्जाब युनिभर्सिटीमा मास्टर्स पहिलो वर्ष पढ्दै थिइन् । 

राजेश १७ वर्षका थिए भने महिला २२ वर्षकी । एक पटक ती महिलाहरुको ग्रुपका एक युवकले राजेशलाई पनि उनीहरुसँग घुम्न जाने प्रस्ताव गर्‍यो । त्यहीँ भेट भएपछि ती महिला र राजेश नजिकिएका थिए । ८–९ महिनामा धेरै नजिक भए । उनीहरु घण्टौंसम्म क्याम्पसको क्यान्टिनमा बस्थे, कहिले तालमा बोटिङ गर्न जान्थे ।

महिलाले घर गएर होस्टलमा राजेशलाई फोन गर्थिन्, फोनमा पनि उनीहरु घण्टौं कुरा गर्थे । 

तर ती महिलाले मास्टर्सको पढाइ पूरा गरेपछि भने उनीहरु छुट्टिए । उनको घरमा बिहेको कुरा चल्न थाल्यो, राजेशलाई तत्कालै बिहे गर्ने मन थिएन । त्यसले समझदारीमै छुट्टिए । 

काठमाडौंकी महिलासँग सम्बन्ध 

२०५५/५६ सालतिर भने राजेश एक नेपाली महिलासँग सम्बन्धमा रहे । ती महिलाले एकदिन राजेश हमालको घरको ल्याण्डलाइनमा फोन गरेकी थिइन् । त्यही फोनको कुराकानीबाट उनीहरु नजिकिएका थिए । 

उनी राजेश हमाल भन्दा ४–५ वर्ष जेठी थिइन् । धेरै वर्ष पहिले नै उनको डिभोर्स भइसकेको थियो । सम्पन्न परिवारकी उनी घरमा एक्लै बस्थिन् । राजेश उनलाई भेट्न उनको घरमा नै जान थाले ।

राजेश त्यतिबेला फिल्म क्षेत्रमा ब्यस्त हुन थालिसकेका थिए । सुटिङबाट खाली भएको समय उनले ती महिलाको घरमा बिताउँथे । 

ती महिलाले चाइनिज, कन्टिनेन्टल, इन्डियन आदि परिकार घरमै बनाउँथिन् । उनको घर जान थालेपछि राजेशको रेष्टुरेन्ट गइरहने बानी पनि छुट्यो । 

राजेशले ती महिलासंग करिब २ वर्ष बिताए । त्यसपछि ती महिला नेपाल छाडेर सधैंका लागि विदेश गइन् । 

बीबीसीकी पत्रकारसँग सम्बन्ध 

राजेश फेरि एक्लिए, यता घरमा पनि उनको आमाको निधन भयो । त्यही बेला उनको भेट भयो रेडियो बीबीसी वल्र्ड सर्भिसमा काम गर्ने एक बेलायती महिलासँग । तिनी काठमाडौं घुम्न आउँदा ठमेलको एउटा रेष्टुरेन्टमा राजेश हमालसँग भेट भएको थियो । 

उनले बेलायत फर्केको तीन चार महिनापछि राजेश हमाललाई एउटा इमेल पठाइन् । राजेशले पनि जवाफ पठाए । एक–दुई पटक इमेल आदानप्रदानपछि उनीहरु धेरै निकट भए ।

राजेशले आफ्ना भावनाहरु ती महिलालाई सुनाउथे । उनले आफ्नो जन्मदिनमा राजेश हमाललाई बेलायतमा बोलाइन् । राजेश हमाल ३ हप्ताका लागि बेलायत गए । उनीहरुले बेलायत र स्कटल्याण्डका धेरै ठाउँ घुमे । 

राजेश नेपाल फर्किएपछि फेरि ती महिलासँगको सम्बन्ध टाढा हुँदै गयो । त्यसपछि उनको जीवनमा आएकी अर्की महिला भने अहिलेकी पत्नी मधु भट्टराई नै हुन् । 

मधुसँगको भेट र विवाह

ह्यात होटलमा लक्स ब्युटीस्टार नामको ब्युटी प्याजेन्ट थियो । राजेश हमाल त्यो कार्यक्रमका निर्णायकमध्ये एक थिए । 

अनि मधु भट्टराई प्रतियोगी थिइन् । प्रतियोगितामा प्रश्नोत्तरको बेलामा मधुले निर्णायकको नाम छनोट गर्दा राजेश हमाल नै परे । 

राजेशले उनलाई सोधेको प्रश्न थियो, इज पोलिटिक्स योर कप अफ टी ? 

मधुले जवाफ दिन सकिनन् । मधु टप थ्रीमा पनि परिनन् । 

त्यस दिन रात्रीभोजका बेला राजेशले मधुलाई आफ्नो टेलिफोन नम्बर दिए । 

त्यसको १०–१२ दिनपछि राजेश सुटिङका क्रममा झापामा थिए । मधुले फोन गरिन् । राजेश पनि उत्साहित भए । उनले भोलि मेरो जन्मदिन छ, सँगै डिनर खाउँ न त भने । 

भोलिपल्ट उनीहरु एभरेस्ट होटलमा भेटे, त्यसपछि लाजिम्पाटको सांग्रिला होटलमा गए । त्यहाँ दुई घण्टाजति बिताए, डिनर खाएर फर्किए । 

त्यतिबेला मधु १८ वर्षकी थिइन् भने राजेश हमाल ४० वर्षका थिए । तर दुबैले एक अर्काप्रति आकर्षित थिए । आपसी सम्बन्धमा रहेको ८–९ वर्षपछि मात्र उनीहरुले विवाह गरे । 

राजेशका अनुसार मधुसँगको उमेरको ग्यापका कारण विवाह नगरौं कि भन्ने सोचाइ पनि आएको थियो । मधुको कम उमेरका कारण परिपक्व निर्णय नुहुनसक्छ भनेर २५ वर्ष पुगेपछिको निर्णय हेरौं भनेका थिए । मधु तयार भएपछि उनीहरुले विवाह गरे । 

राजेश र मधुले विवाह गरेको पनि १० वर्ष भयो । पहिला पहिला कहिले विहे गर्ने भनेर जवाफ दिँदा हैरान राजेशलाई पछिल्लो वर्ष सन्तानको विषयमा प्रश्न आउने गरेको छ । 

राजेशका अनुसार उनी सन्तान जन्माउने पक्षमा थिएनन् । त्यसको मुख्य कारण ढिलो विवाह थियो । त्यसमा मधुले पनि साथ दिइन् । अर्थात उनीहरु सन्तान नजन्माउने निर्णयमा पुगेका छन् । 

तर अरुले जन्माएको सन्तानको सहारा बन्ने अवसर जुर्‍यो भने स्वीकार गर्ने राजेशको भनाइ छ । यद्यपि त्यसका लागि योजनावद्ध रुपमा नलाग्ने पनि प्रष्ट्याएका छन् । 

राजेश हमालको आत्मग्लानी 

राजेश हमालले झण्डै ३०० वटा फिल्म खेलेका छन् । आज महानायक भनेर फिल्म क्षेत्र र नेपाली समाजले सम्मान दिएको छ । उनी आफैंंलाई पनि फिल्म क्षेत्रमा लागेर राम्रै गरेँ भन्ने लागेको छ ।

तर उनलाई एउटा आत्मग्लानी भने अहिले पनि छदैंछ, त्यो हो आफ्ना बाबुसँगको सम्बन्ध । 

राजेश फिल्म क्षेत्रमा लागेपछि उनका बाबुसँग बोलचाल नै बन्द भयो । राजेशले सोचेका थिए कि केही फिल्ममा सफलता हासिल गरेपछि बुबाले कुरा बुझिहाल्नुहुन्छ ।

त्यसैले बोलचाल बन्द भए पनि दुबै आआफ्नै सुरमा थिए । 

सरकारले उनका बुबालाई पाकिस्तानका लागि नेपाली राजदूत बनाएर पठायो । बुबा पाकिस्तान जाँदा राजेशसँग कुरा नै नगरी गए । राजेशले पनि ठाने, पाकिस्तानमा कति समय पो बस्नुहोला र ? १–डेढ वर्षमा त आइहाल्नुहुन्छ नि, त्यतिबेलासम्म म पनि फिल्म क्षेत्रमा जमिसक्छु । 

तर पाकिस्तान गएको एक–डेढ महिनामा नै उनका बुबाको हार्ट अट्याक भएर मृत्यु हुन्छ । बुबासँग बोलचाल नभएकै अवस्थामा उनको मृत्यु हुनुले राजेश हमाललाई अहिले पनि आत्मग्लानी भैरहन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो