नेभिगेशन
अर्थ

गुपचुप आयो मेलम्चीको पानी

काठमाडौंमा यो वर्ष कुनै हल्ला खल्ला नगरी मेलम्चीको पानी वितरण सुरु भयो ।

जेनजी आन्दोलनपछि बनेको सरकारले उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गर्दा कुनै तामझाम गरेन । 

यसवर्ष कुनै मन्त्री प्रधामनन्त्री मेलम्चीको पानी काठमाडौं ल्याएको जस लिन अघि सरेनन् । कुनै उद्घाटन वा शुभारम्भको कार्यक्रम राखिएन । काठमाडौंमा केही हप्ता अघिदेखि नै मेलम्चीको पानीको वितरण सुरु भइसकेको छ । 

१ असार २०७८ को बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स पुरेदेखि वर्षैसाल वर्षायाममा मेलम्चीको सुरुङको मुख बन्द गरिन्छ । मेलम्ची धमिलो भएसम्म पानी ल्याउन रोकिन्छ । 

३२ अर्ब खर्च भइसकेको आयोजनाको २७ किलोमिटर लामो सुरुङमा बाढीले पुर्‍याउन सक्ने जोखिमलाई हेरेर वर्षायाममा मेलम्चीको पानी ल्याउने गरिएको छैन ।

तर, विगतमा वर्षायाम सकिएको लामो समयसम्म पनि मेलम्चीको पनि काठमाडौं नल्याउने र ल्याएपछि पनि ठूलै प्रचारबाजी हुने गरेको थियो । राजनीतिक लाभका लागि यसपटक त्यस्तो केही भएन । 

वर्षायाम सुरु हुनुअघि गत असार १ मा मेलम्चीको पानी बन्द गरिएको थियो । यसवर्ष मेलम्चीको पानी वितरण करिब ४ महिना मात्रै बन्द भयो । 

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्त यो आयोजनाको नियमित काम भएकाले खासै प्रचारबाजी नगरिएको बताउँछन् । उनका अनुसार यसपटक मेलम्चीको पानी ल्याउन सहज पनि थियो । 

वर्षाअघि नै कसरी छिटो पानी ल्याउने वातावरण बनाउने भनेर योजना बनेको थियो । योजना अनुसार मेलम्चीको पानी बन्द गरेपछि सुरुङको १ नम्बर गेटलाई ढुंगा र माटो हालेर पुरिएको थियो । वर्षायममा बाढीले सो गेटमा क्षति नपुर्‍याओस् भने पहिले नै सुरुङको मुख पुगेर खोला डाइभर्ट गरिएको थियो । 

त्यसले गर्दा वर्षायाममा आएको बाढी त्यो भन्दा माथि बाट बग्यो, तर सुरुङ पुरिएकाले कुनै क्षति हुन पाएन । वर्षा सकिनासाथ आयोजनाले त्यो ढुंगा माटो हटाएर मेलम्चीलाई फेरि सुरुङभित्र पठायो । र, नियमित रुपमा काठमाडौंको सुन्दरीजल आइपुगेको पानी प्रशोधनपछि वितरण थालिहाल्यो । 

विगतमा चाहिँ यति गुपचुपसँग न मेलम्चीबाट पानी सुरुङमा हालिएको थियो, न वितरण नै थालिएको । मेलम्चीको पानी ल्याउँदा के–के सम्म हुन्थ्यो भन्ने नै विवरण नै हेरौं ।  

२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी काठमाडौं ल्याउन सुरुङमा खसालिएको थियो । त्यतिबेला सिन्धुपाल्चोकको मेलम्चीस्थित मुहानमा प्रमुख जिल्ला अधिकारीसहितको सहभागितामा औपचारिक कार्यक्रम गरिएको थियो । 

त्यस्तै तत्कालिन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेकी थिइन् र यसको शुभारम्भ गरेकी थिइन् । तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भयो,  मर्मत सक्न करिब ८ महिना लाग्यो ।

त्यसपछि १० फागुन २०७७ मा तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरणको शुभारम्भ गरेका थिए । 

२२ फागुन २०७७ मा सुरुङ भरिएएर सुन्दरीजलमा पहलिोपटक मेलम्चीको पानी आइपुग्यो । सुन्दरीजल ल्याइएको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेर बाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको औपचारिक घोषणा गरेका थिए । 

१५ चैत २०७७ मा महाँकालमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीहरुले औपचारिक कार्यक्रम गर्दै पानीपोखरीको साँचो खोलेर मेलम्चीको पानी वितरण थाले । त्यसको एक हप्तापछि २३ चैत २०७७ मा काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी थिइन् । 

राष्ट्रपतिले उद्घाटन गरेको साढे दुई महिनापछि १ असार २०७८ मा आएको बाढीले आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त पार्‍यो । 

अनि वर्ष सकिएपछि फेरि अस्थायी बाँध बनाउन थालियो । १९ चैत २०७८ मा खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कामको सुरुवात गरे । 

फेरि मन्त्री चौधरीले ११ वैशाख २०७९ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मीनभवनस्थित पानी ट्यांकीमा पुगेर साँचो खोल्दै औपचारिक रुपमा काठमाडौंमा पुनः वितरण थाले । 

२०७९ असारमा फेरि सुरुङ बन्द भयो । २३ मंसिर २०७९ पनि मन्त्री चौधरीले मीनभवनस्थित पानी ट्यांकीमा पानीको साँचो घुमाएर पुनः वितरण शुभारम्भ गरे । 

२०८० को असरमा फेरि सुरुङ बन्द गरियो । बन्द भएको सुरुङ वर्षा सकिनासाथ खुलेन । १ माघ २०८०मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरमा इँटाको बुट्टा प्रिन्ट गरिएको फ्लेक्सलाई भित्तो बनाएर त्यसमाथि जोडिएको धारा खोल्दै मेलम्चीको पानी पुनः वितरणको औपचारिक शुभारम्भ गरे । 

२०८१ असारमा फेरि आयोजनाको सुरुङ बन्द भयो । त्यसपछि २२ असोज २०८१मा तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले फेरि सुन्दरीजल पुगेर खानेपानी वितरणको पुनः शुभारम्भ गरे ।

तर, यसपटक खानेपानी मन्त्री नै थिएनन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयको जिम्मेवारी सम्हालेकी छिन् । उनले त्यस्तो कुनै तामझाम गरिनन् । 

००००

तर, वर्षा सकिएपछि पानी ल्याउँदैमा सरकारको जिम्मेवारी सकिएको भने छैन । मेलम्चीमा बढीले निर्माण सकिएको पानी छान्ने संयन्त्रसहित हेडवर्क्स काम नलाग्ने बनाइदिएको छ । यसले गर्दा १२ महिना नै मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्था छ । 

सधैंभरि अहिले जसैगरी सुरुङमा सिधै खोलाको पानी हाल्नु उचित हुँदैन । यसो गर्दा २७ किलोमिटरको बालुवा भरिंदै जानसक्छ । पटक–पटक सफाइ गर्न मुख्य सुरुङ अन्तर्गत अडिट सुरुङका गेटहरु पटक–पटक खोल्नु सुरक्षा र आर्थिक दृष्टिकोणले राम्रो हुँदैन । 

त्यसैले अब मेलम्चीमा नयाँ हेडवर्क्स बनाउनुपर्छ । त्यो हेडवर्क्सलाई जोड्ने सुरुङ पनि बनाउनुपर्छ । 

एसियाली विकास बैंकले मेलम्चीको समस्या दीर्घकालीन रुपमै समाधान गर्न हेडवर्क्स नै सार्न सिफारिस गरेको छ । 

अहिले हेडवर्क्स रहेको अम्बाथानभन्दा करिब एक किलोमिटर माथि सुरु बनाउने योजना छ । तर, त्यसका लागि अहिलेसम्म विस्तृत अध्ययन भएको छैन । कहाँ, कसरी र कस्तो हेडवर्क्स बनाउने भनेर इन्जिनियरिङ अध्ययन भएपछि मात्रै निर्माणको काम सुरु हुनेछ । 

आयोजनाका प्रवक्ता राजेन्द्र पन्त यसैवर्ष परामर्शदाता छानिएर मेलम्चीमा नयाँ हेडवर्क्सको अध्ययन थाल्ने बताउँछन् । त्यसका लागि ३० करोड बजेट छ । ‘विस्तृत अध्ययन सकिएपछि ठेक्का आह्वान हुन्छ, त्यसपछि नयाँ हेडवर्क्स बनाउने काम सुरु हुन्छ ।’ 

यसको मतलब हो, मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले थप खर्च गर्नुपर्ने छ । सम्भवतः एसियाली विकास बैंकबाट ऋण लिएर आयोजनाको नयाँ हेडवर्क्स बन्नेछ । त्यसपछि मात्रै मेलम्चीको पानी बाह्रै महिनम काठमाडौं ल्याउन सम्भव हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ