बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
आज बिहानदेखि सामाजिक सञ्जाल र चिया गफमा बालेन शाहको फेसबुक स्टाटसकै चर्चा छ ।
बालेन शाहले किन लेखे ? के खाएर लेखे ?
सबैको आ–आफ्नै अन्दाज र अड्कल छ ।
बालेन शाहले प्रायः रातिमा फेसबुक स्टाटस लेख्छन् ।
कात्तिक १५ गते राति पनि बालेनले एउटा स्टाटस लेखे, तर यो स्टाटस बिहान उठ्ने बेलासम्म मेटिसकेको थियो, थियो त केबल स्क्रिन सटहरु मात्र ।
तपाईंले पनि पक्कै हेर्नुभयो होला नि त्यो स्टाटस ?
यो स्टाटासमा बालेनले अमेरिका, इन्डिया, चाइना, एमाले, कांग्रेस, रास्वपा, राप्रपा, माओवादीलाई एउटै शब्दले घोचेका छन् । अनि अन्तिममा भनेका छन्, तिमीहरु सबै मिलेर पनि केही गर्न सक्दैनौ ।
बालेनको स्टाटस कुनै पनि प्रतिष्ठित मान्छेले झट्टै लेख्न मिल्ने खालको छैन, झन् उनी जुन पद र ओहोदामा छन्, त्यस ठाउँबाट त मिल्ने कुरै पनि होइन । हाम्रो आग्रह छ, उनले आफ्नो र आफ्नो पदको मर्यादा राखुन् ।
त्यो स्टाटसमा बालेनले अशिष्ट गाली मात्रै गरेका छैनन्, सीधा तर लुकेको राजनीतिक सन्देश पनि दिएका छन् ।
यसपटक उनले भारत र चीनमात्रै हैन, अमेरिकालाई पनि बाँकी राखेका छैनन् । अनि उनका लागि अब कांग्रेस, एमाले, माओवादी र रास्वपामा केही फरक रहेनन् ।
नेपाली समाजमा एउटा भनाइ छ, नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् । जे जस्तो रुपमा भए पनि चर्चा त फेरि बालेनकै छ ।
बालेनको त्यो स्टाटसले उनी यतिबेला के सोचिरहेका छन्, समकालीन राजनीतिमा उनको धारणा के हो भन्ने अर्थ पनि त्यसले दिएको छ ।
यतिबेला जेनजी आन्दोलनपछि मुलुक ताजा जनादेशमा जाँदैछ । धेरैको चाहना छ, बालेन शाह पनि कुनै पार्टी खोलेर आउन् । वा अहिले भइरहेकै राजनीतिक शक्तिसँग सहकार्य गरुन् ।
चुनावको दिन नजिकिँदै जाँदा पनि उनले मुख खोलेका छैनन् । तर उनको त्यो स्टाटसले नै सही बालेनको सोच प्रस्ट्याएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्नुभन्दा अघिदेखि नै बालेन पुराना शक्तिविरुद्ध उभिएका पात्र हुन् । उनी र्यापमार्फत नै दलहरुप्रति सिधासिधी रोष प्रकट गर्थे ।
२०७९ को स्थानीय तह चुनावमा बालेनले कांग्रेस–एमालेको पकड भएको काठमाडौँं महानगरमा स्वतन्त्र उम्मेदवारी दिए । मिडियामा अन्तर्वार्ता दिएर महानगर सुधारका मार्गचित्र नै पेश गरे ।
सामाजिक सञ्जालमार्फत आक्रामक चुनावी अभियान चलाएका बालेनले कांग्रेस र एमालेका उम्मेदवारको कोर एरिया नै कब्जा गरे । शानदार ढंगले चुनाव जिते ।
त्यसपछि महानगरमा आएर बालेन सधैं पुराना राजनीतिक शक्तिको प्रतिपक्षी झैं भएर गर्जिए । उनले तत्कालीन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र सरकारका मान्छेहरुलाई स्थनीय तहको अधिकार सम्झाइरहे । धेरैजसो त विद्रोही शैलीमै संघ सरकारसँग भिडे ।
दलहरुको किल्ला तोडेर महानगर आएका बालेनले अवैध संरचना हटाउन होस् या खोला किनार खाली गर्न, आफूलाई मन नपरेका प्रमुख प्रशासकीय अधिकृत फेर्न होस् या महानगरको क्षेत्राधिकार मिचेर संघ सरकारले गरिरहेको काम रोक्न, सधैं उनले दलहरुलाई सामाजिक सञ्जालबाट खबरदारी गर्दै जनसमर्थन बटुलिरहे ।
पुराना दल र उनीहरुको सरकार विरुद्धको बिद्रोहको स्वरका प्रतीक बने बालेन । जेनजी आन्दोलनलाई समर्थन गरेर दलहरुको सरकार ढाल्न, संसद विघटन गराउन र सुशीला कार्की नेतृत्वको सरकार बनाउनसम्म बालेनले पर्दा पछाडिबाट भूमिका खेलेकै हुन् ।
बालेनको लोकप्रियताका कारण उनीमाथि पुराना शक्ति विशेषगरी एमाले, कांग्रेस र माओवादीले विभिन्न आरोप लगाइरहेका छन् । त्यसैले पुराना दलहरु कांग्रेस एमाले र माओवादी अनि राप्रपाविरुद्ध बालेनको स्टाटस नयाँ कुरा हैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित पार्टी कार्यालय भत्काउन नगर प्रहरी पठाएर उनले राप्रपासँग निहुँ खोजिसकेकै हुन् । अनि दरबारमार्गमा प्रदर्शन गर्दा फोहोर गरेको भनेर राप्रपालाई १ लाख जरिवाना पनि तिराएकै हुन् ।
यसपटक भने उनी रास्वपाबारे प्रष्ट खुलेका छन् । हुन त रवि लामिछाने गृहमन्त्री हुँदा थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा बालेन र रबि आमनेसामने भएका थिए । तर, उनीहरुबीचको तिक्तता कहिले पनि बाहिर देखिएको थिएन ।
जेनजी आन्दोलनका क्रममा रास्वपा नेताहरुले लेखेका स्टाटसमा बालेनले पटक–पटक पुरानै दलसँग सरकारमा मिसिन गएको भनेर रास्वपा शैली मन नपरेको कुरा सम्झाएकै थिए ।
नख्खु कारागारबाट निस्किएका रवि लामिछानेमाथि बालेन समर्थक र उनी निकटका इन्फुल्यन्सरहरुले गम्भीर नैतिक प्रश्न उठाएदेखि नै रास्वपा बालेनसँग सशंकित छँदै थियो ।
भन्न त रास्वपाले बालेन, कुलमान, हर्कसहित सबै वैकल्पिक शक्ति आफ्नै नेतृत्वमा गोलबद्ध हुने दाबी गर्दै आएको छ । त्यसका लागि रास्वपाका नेताहरुले संवाद पनि गरिरहेका छन् ।
तर, सुमना श्रेष्ठको बहिर्गमनपछि रास्वपामा बालेन आउने भन्दा पनि छुट्टै दल खुल्ने अनुमानहरु थिए । पछिल्लो समय बालेन निकटका रास्वपा नेता गणेश कार्कीले नै बालेनले दल खोल्दैनन् भनिदिएकाले धेरैलाई बालेनले रास्वपालाई नै समर्थन गर्लान् भन्ने आशा पनि लागिरहेको थियो ।
तर, यो स्टाटसले बालेन रास्वपा मन पराउँदैनन् भन्ने प्रष्ट गरेको छ ।
बालेन निकटका मानिसहरु र रास्वपाबीच कुनै संवाद भइरहेकै भए पनि यो स्टाटसले माहोल झन् बिगारेको छ ।
वैकल्पिक शक्ति निर्माणमा बालेन अहिले पनि स्पष्ट छैनन् । तर, उनी रास्वपालाई वैकल्पिक शक्ति मान्न तयार पनि छैनन् भन्ने त यो स्टाटसले प्रष्टै पारेको छ ।
अमेरिकामाथि पनि हिलो
बालेन निर्वाचित भएको समय आसपास भारतले आफ्नो नयाँ संसद भवनमा अखण्ड भारतको मुराल नक्सा राखेको थियो । जसमा केही नेपाली भूमि पनि समेटिएको भनेर नेपालमा जनस्तरबाट विरोध भएको थियो ।
बालेनले त्यतिबेला महानगरको आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिदिए । सो नक्सामा सुगौली सन्धि हुनु अघिको नेपालको भूभाग समेटिएको थियो । जुन भूमि आज भारतभित्र पर्छ, यो कुरा भारतलाई पच्ने कुरै भएन ।
२०८० को असारतिर चलेको भारतीय फिल्म आदिपुरुषमा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने सम्वाद थियो । यही कारण बालेनले काठमाडौंका हलमा अदिपुरुष चल्न नदिने घोषणा गरे ।
हल सञ्चालक र वितरकहरुले प्रतिवाद गरेपछि महानगरभित्र भारतीय फिल्मकै प्रर्दशनमा रोक लगाए । फिल्मको प्रदर्शन रोक्न नगर प्रहरीहरु नै फिल्म हलहरुमा पुगे ।
अदालतले यसरी रोक लगाउन नमिल्ने आदेश दिएपछि बालेनले अदालत र सरकार भारतको गुलाम बनेको आरोप लगाएका थिए । यस्ता अभिव्यक्ति र व्यवहारबाट बालेनले भारतविरोधी नेताको छवि बनाएका छन् ।
एकथरिले बालेनलाई सच्चा राष्ट्रवादी नेता भन्दै आएका पनि छन् ।
मेयर बालेनले छिमेकी मुलुक चीनसँग पनि टसल गरेकै छन् । २०८० को भदौमा उनको चीन भ्रमण जाने टुंगो लागिसकेको थियो । त्यतिबेलै चीनले आफ्नो देशको नक्सा जारी गर्यो । चीनले लिपुलेक र कालापानीको भूभाग भारततिर देखिने गरी नक्सा सार्वजनिक गरेको थियो । नेपालको भूभाग भारततिर देखाउने चिनियाँ कदमको विरोधमा उनले चीनको भ्रमण रद्ध गरे ।
चक्रपथको कलंकी–बालाजु–महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाइ भएपछि बालेनले चीन रिसाउने गरी एउटा बोर्ड राख्न लगाए । चीन र नेपाल सरकारका कारण सडक विस्तार ढिलाइ भएको सन्देश दिने होर्डिङ बोर्डलाई पछि संघीय सरकारले हटाएको थियो ।
यस्तै २०८१ को चिनियाँ नयाँ वर्षमा ठमेलमा कार्यक्रम गर्न चिनियाँ दूतावासले महानगरसँग अनुमति मागेको थियो । तर, महानगरले चक्रपथमा कार्यक्रम गर्न भन्दै चीनलाई कूटनीतिक रुपमा अपमान गर्ने ढंगबाट जवाफ फर्कायो ।
बालेनले गत भदौ १४ मा चीन भ्रमणमा जान लागेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालबाट दिएको सन्देशबाट पनि उनी चीनसँग असन्तुष्ट रहेको स्पष्ट नै देखिन्छ ।
उनले सामाजिक सञ्जालबाट भनेका थिए, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू, नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’
झन् जेनजी आन्दोलनमा स्वतन्त्र तिब्बतको अभियान चलाउनेहरुको भूमिका छ भन्ने बाह्य विश्लेषणले चीनलाई बालेनसँग सशंकित बनाएकै छ । त्यसमाथि यो आन्दोलनपछि यो सरकारलाई दलाई लामाले शुभकामना सन्देश दिनुले चीनले बालेनलाई नजिक राख्न गाह्रो छ भन्ने देखाउँछ । त्यसैले यस्तो अवस्थामा बालेनले चीनलाई गाली गर्नु पनि धेरैका लागि आश्चर्यजनक नहुन सक्छ ।
बरु बालेनले अहिलेसम्म अमेरिकाबारे भने धेरै टिप्पणी गरेका थिएनन् । फागुनमा अमेरिकामा गैरकानुनी रुपमा बस्ने नेपालीहरुलाई डिपोर्ट गरिएपछि उनले ट्रम्पलाई सम्बोधन गर्दै ‘अमेरिका अल्छीहरुको देश हो’ भनेका थिए ।
उनले अमेरिकाको डिभीलाई लालचपूर्ण दासत्व भनेका थिए । यो उनको देशभक्तिपूर्ण स्टाटास थियो, अमेरिकाप्रति गाली थिएन ।
यसपटक उनले अमेरिकालाई पनि भारत र चीनसँग एउटै सूचीमा राखेर प्रहार गरेका छन् । यो चाहिँ धेरैलाई नौलो लागेको हुनुपर्छ ।
देशभित्र बालेनलाई कतै अमेरिकी शक्तिको आड भरोसा त होइन भन्ने आशंका थियो । उनको अमेरिकनहरुसँग बाक्लो उठबस छ भन्ने भाष्य बनाउन खोज्ने प्रयत्न अहिले पनि भइरहेको छ ।
शनिबार बालेनले अमेरिकालाई पनि अरु सरहनै गाली गर्नुको अर्थ हो, म अमेरिकासँग पनि नजिक छैन ।
बालेनले ठीक बोले त ?
बालेन नेपालको स्थापित राजनीतिक शक्ति र उनीहरुको कार्यशैलीको जहिले पनि आलोचक रहे । तर त्यसको भरपर्दो विकल्प आफू हो भनेर उभिन सकेका छैनन् । जेनजी आन्दोलनपछि मुलुक चलाउने अवसर आएका बेला पछि हटेको भनेर कतिपयले बालेनको आलोचना पनि गरेका छन् ।
बालेनले दलहरुलाई दलहरुले बालेनलाई गाली गर्नु घरेलु मामिला हो ।
तर, राजधानी शहरका मेयरले मित्र राष्ट्रहरुमाथि अशिष्ट टिप्पणी गर्नु कुटनीतिक मर्यादा विपरीत हो । नेपाल भूराजनीतिक अवस्थाका कारण छिमेकीसहित पश्चिमा मुलुकहरुको नजरमा सम्वेदनशील छ ।
बालेन सार्वजनिक पदमा बसेका व्यक्ति हुन्, उनलाई आदर्श मान्ने धेरै युवा छन्, उनले देखाएको बाटोलाई सही मान्ने कयौं समर्थक छन् । त्यसैले घरेलु मामिलामा होस् वा भूराजनीतिक मामिलामा होस्, उनीबाट जिम्मेवार भूमिकाको अपेक्षा हुन्छ ।
यद्यपि उनी आफूलाई यसरी छरप्रष्ट गरिरहेका छन् कि उनीबारेका धेरै भ्रम चिरिँदै गइरहेको छ । उनी रहस्यमय पात्रबाट जे हुन्, त्यही देखिनु आफैंमा नराम्रो कुरा होइन ।
अहिले बालेनले गाली वर्षाएकाहरु नेपाली समाजमा यसैपनि आशंकाको घेराभित्र रहेकाहरु नै हुन् । त्यसैले बालेनले गर्ने यस्ता टिप्पणी त्यही आशंकामा मात्र सीमित होइन, तथ्यमा राख्न सक्नुपर्छ । शिष्ट र सभ्य शैलीमा विचारहरु आउनुपर्छ ।
राति राति लेखिने बालेनका उत्तेजक स्टाटसले समाजलाई विभाजनको बाटोमा लैजाने जोखिम हुन्छ । उनले ल्याउने जागरणले सकारातमक ऊर्जा प्रवहा गर्न सके त्यसले देशकै भलो हुन्छ ।
त्यसैले बालेनले सार्वजनिक भएरै आफ्ना मतहरु प्रष्ट राख्नुपर्छ, उनी एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा अनि भारत, चीन र अमेरिका किन भनिरहेका छन् त, ‘तिमीहरु सबै मिल्दा पनि केही हुनेवाला छैन ।’
ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
कता अड्कियो चीनको रेल ?
एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त







