जेमिमा रोड्रिग्स : आँशु पिएर खारिएकी क्रिकेटर
जेमिमा रोड्रिग्स (जेमी) ११ वर्षको हुँदा बुबाले सोधे, ‘तिमी क्रिकेट खेल्ने कि हकी?’
जेमिमाले आँसु झार्न थालिन्, किनभने उनलाई दुबै खेल छाड्न मन थिएन, दुबैमा उनी असाध्यै राम्रो थिइन् । अन्ततः जेमिमाले क्रिकेट रोजिन् ।
१४ वर्षपछि, महिला विश्वकप क्रिकेटको उपाधि जित्ने भारतीय टिमको महत्वपूर्ण हिस्सा बनेकी छन् जेमिमा ।
गत आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउन उनको शतक र शानदार प्रदर्शन यादगार रह्यो ।
तर यहाँसम्मको उनको यात्रा सहज भने थिएन । खेल्न जाँदा मुम्बईको लोकल ट्रेनमा धक्का खानेदेखि टिमबाट बाहिर निकालिनेसम्मका अनेक कठिनाइ झेलिन् ।
सन् २०२२ मा उनी वल्र्ड कपको टिमबाट निकालिएकी थिइन् । त्यसको तीन वर्षपछि, तिनै जेमिमाले भारतलाई फाइनलसम्म पुर्याइन् ।
मानसिक संघर्ष र आँसु
खेलपछि जेमिमाले यो जितको पछाडि धेरै ठूलो मानसिक संघर्ष लुकेको बताएकी छन् । ‘म हरेक दिन रोएकी छु । म हरेक दिन चिन्तामा हुन्थेँ ।’
उनका लागि संघर्ष नयाँ कुरा थिएन । तर परिवारको साथ, कोचको मार्गदर्शन, साथीहरूको सहयोग र आफ्नै कडा मिहिनेतका कारण उनी आज क्रिकेट संसारमा अलग परिचय बनाउन सफल भएकी छिन् ।
बाल्यकालदेखि क्रिकेटप्रेम
जेमी जम्मा ३ वर्षकी थिइन्, उनलाई हजुरबुबाले प्लास्टिकको ब्याट उपहार दिएका थिए । ‘मलाई बार्बी डल जस्ता खेलौना कहिल्यै मन परेन । हजुरबालाई यो कुरा थाहा थियो, म गल्लीमा पनि क्रिकेट खेल्थेँ, जब मैले ब्याट उठाएँ, यति धेरै खुशी भएँ ।’
सुरुमा उनले आफ्ना दाइहरु इनक र एलीसँग क्रिकेट खेलिन् । उनीहरुको पहिलो प्रशिक्षक आफ्नै बाबु आइवन रोड्रिग्स थिए ।
पछि एली वांद्रेको एमआईजी क्लब एकेडेमीमा खेल्न गए । त्यहाँका प्रशिक्षक थिए प्रशान्त सेट्टी । जेमिमा त्यस्तै ८–९ वर्षकी थिइन् । एक दिन जेमिमाकी बा र आमाले प्रशिक्षक प्रशान्त सेट्टीलाई भेटे । उनीहरुले एक पटक हाम्री छोरीको पनि खेल हेर्नुस् न भने ।

त्यो समय सन् २००७–२००८ तिरको थियो । क्रिकेट खेल्ने केटीहरु ज्यादै कम हुन्थे । एमआईजी क्लबमा कुनै केटीले क्रिकेट खेल्दैनथे । तर जेमीका आमाबुबाको आग्रह प्रशिक्षक सेट्टीले मानिदिए । अर्को दिनदेखि जेमिमाले अभ्यास सुरु गरिन् । पहिलो बलमै उनले कभर ड्राइभ खेलिन् । त्यसपछि प्रशिक्षक सेट्टीलाई लाग्यो, यो केटीमा विशेष क्षमता छ ।
त्यसपछि उनलाई क्लबमा केटाहरूसँगै खेल्न अनुमति पनि दिइयो । केही नातेदारले जेमीका आमाबुवालाई भन्ने गर्थे, ‘केटीलाई क्रिकेट खेल्न किन दिन्छौ ?’ तर उनका आमाबुवा र कोचले यस्ता कुरामा ध्यान नै दिएनन्, बरु सुरुदेखि नै जेमीलाई साथ दिए ।
त्यो बेला रोड्रिग्स परिवारले छोराछोरीको खेलका लागि धेरै त्याग गरेको थियो । आमा लविता बिहान ४ बजे उठेर बच्चाहरूको खाना तयार पार्थिन् । त्यसपछि लोकल ट्रेनमा जेमिमा र उनका दाइहरूलाई वांद्रे मैदानमा पुर्याउँथिन् ।
मुम्बइको लोकल ट्रेनमा क्रिकेटको ठूलो किट बोकेर यात्रा गर्नु कति कठिन छ भन्ने जसले त्यहाँ यात्रा गरेको छ, उसले मात्र बुझ्न सक्छ । तर यही यात्राले जेमिमाको दृढता र मेहनतलाई अझ कडा बनाउदै लग्यो । केही समयपछि उनीहरूको परिवार छोराछोरीको खेलका लागि भान्डुपबाट वांद्रेमै बसाइँ सरेको थियो ।
हकी, बास्केटबल, फुटबल कि क्रिकेट ?
जेमिमा हकी र क्रिकेट मात्र होइन, विद्यालयबाट फुटबल र बास्केटबल पनि खेल्थिन् । १२ वर्षको उमेरमा उनले महाराष्ट्रबाट जुनियर राष्ट्रिय हकी प्रतियोगितामा भाग लिएकी थिइन् र क्रिकेटमा पनि आफ्नो उमेर समूहको प्रतियोगितामा खेलिसकेकी थिइन् ।
भारतका प्रसिद्ध ओलम्पियन र पूर्व हकी कप्तान जोआकिम कार्भालोले एकपटक उनका बुवालाई भनेका थिए, ‘तपाईंकी छोरीले देशका लागि खेल्न सक्छे ।’
आफ्नी छोरी धेरै खेलमा चलाख भए पनि उनका बुबाले ११ वर्षको उमेरमा एउटा खेल मात्र रोज्न लगाए । त्यतिबेला उनले क्रिकेछ रोजेकी थिइन् ।
त्यतिबेला जेमिमाले सोचेकी थिइन्, म क्रिकेटबाटै अगाडि बढ्न सक्छु । त्यो बेलाको उनको रोजाइ अहिले आएर सही सावित भएको छ ।
सन् २०१२–१३ मा, जेमी १३ वर्षको उमेरमै मुंबई अन्डर–१९ टिममा चयन भएकी थिइन् । मुम्बइको महिला क्रिकेटमा जेमिमा धेरै चर्चित भइसकेकी थिइन् ।
सन् २०१७ मा घरेलु यु–१९ वानडेमा उनले गुजरातको सौराष्ट्र टिमविरुद्ध नटआउट २०२ रन बनाइन् । दोहोरो शतक बनाउने महिला खेलाडीमा स्मृति मन्धानापछि जेमिमा नै थिइन् ।

२०१८ मा उनी भारतीय वानडे टिममा परिन् र सोही वर्ष टी–२० वल्र्ड कपमा पनि डेब्यू गरिन्, जसमा उनले अर्धशतक बनाएर सबैको ध्यान आफूतिर खिचिन् ।
जेमिमाको लोकप्रियता
मैदानभित्र उनको जति प्रशंसा हुन्थ्यो, मैदान बाहिर पनि उनी लोकप्रिय हुँदै गइन् । क्रिकेट सँगसँगै उनले गिटार बनाउने र सामाजिक सञ्जालमा सहज उपलब्ध हुनुले पनि उनको लोकप्रियता बढ्दै गयो ।
जेमिमा अहिले बिग बासलगायतका अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताहरूमा खेल्छिन् मात्र होइन, ती प्रतियोगिताको पहिचान बन्न पुगेकी छन् । उनी अहिले भारतीय क्रिकेटको एक ब्राण्ड एम्बेसडर सरह भएकी छन् ।
भारतीय क्रिकेटमा उनको यात्रा सजिलो मात्र थिएन, उनले धेरै उतार चढाव भोग्नुपरेको छ ।
सन् २०२२ को वर्ल्ड कपमा उनी टिमबाट बाहिर परिन्, तर उनले शानदार पुनरागमन पनि गरिन् । उनको पुनरागमनपछि भारतले सन् २०२२ को कमनवेल्थ गेम्समा रजत पदक जित्यो । त्यसपछि सन् २०२३ को एशियाली खेलकुदमा भारतले स्वर्ण पदक पनि जित्यो ।
त्यसै वर्ष उनले विमेन्स प्रिमियर लिगमा दिल्ली क्यापिटल्सबाट खेलिन् र इंग्ल्यान्डविरुद्ध टेस्टमा पनि डेब्यू गरिन् । अनि डी.वाई. पाटिल स्टेडियममा उनले एउटा यस्तो वानडे वर्ल्ड कपको पारी खेलिन्, जुन इतिहासमा सधैं रहनेछ ।

सुरुवाती खेलहरूमा उनी शून्यमा आउट भएकी थिइन्, तर उनले विस्तारै कमब्याक गर्दै न्यूजिल्यान्डविरुद्ध नटआउट ७६ रन बनाइन् र ३० अक्टोबर २०२५ मा अस्ट्रेलियाविरुद्ध नटआउट १२७ रन बनाइन् ।
उनले १३४ बलमा १४ चौका हिर्काउँदै १२७ रन बनाएकी थिइन् । शतकपछि पनि उनले सेलिब्रेशन गरिनन्, किनभने उनको ध्यान केवल भारतको जितमा थियो । जब भारतले जित्यो, तबमात्र उनले आफ्नो भावनालाई खुलेर देखाएकी थिइन् ।
सामान्यतया जेमिमा पाँचौँ नम्बरमा ब्याटिङ गर्छिन्, तर यसपटकको महिला विश्वकपमा उनलाई तेस्रो नम्बरमा पठाइएको थियो र उनले आफ्नो अवसरलाई सुनौलो क्षणमा परिणत गरिदिइन् ।
फाइनलमा समेत उत्कृष्ट प्रदर्शन गर्दै भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्यो र पहिलो पटक महिला विश्वकपको उपाधि जित्यो ।
बीबीसी हिन्दीबाट
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
विश्वकपमा नेपालले ३ टेस्ट राष्ट्रसँग खेल्ने, कुन खेल कहिले र कहाँ ?
एनपीएलका कतिवटा खेल फ्लड लाइटमा हुँदैछन् ?
Flood Light अझै तयार भएन, अब के हुन्छ ?





1-(2)-1763877443.jpg)


