नेभिगेशन
अर्थ

१० वर्ष स्मार्ट लाइसेन्स बाँडेपछि फेरि कागजकै लाइसेन्स

१० वर्षपछि नेपाल फेरि कागजी लाइसेन्समै फर्किएको छ । नक्कली लाइसेन्सको बिगबिगी भएपछि २०७२ देखि सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको थियो । 

तर, स्मार्ट लाइसेन्स सुरु भएदेखि नै कहिल्यै माग अनुसार लाइसेन्स छापिएन । ट्रायल पास गरेको ३ वर्षसम्म पनि लाइसेन्स छापिएर नआउने समस्या भयो । सेवाग्राहीले लाइसेन्सको रुपमा यातायात कार्यालयमा शुल्क तिरेको रसिद बोकेर हिँड्नुपर्‍यो । 

स्मार्ट लाइसेन्समा विद्युतीय चिप्स राखिएको थियो, जसमा लाइसेन्सको विवरण भण्डारण गरिएको हुन्छ । तर, त्यो लाइसेन्स रिड गर्ने मेसिन समेत ट्राफिक प्रहरीको हातमा अहिलेसम्म परेन ।

आँखैले जाँच्ने काम १० वर्षसम्म चल्यो । स्मार्ट भनिएको लाइसेन्स र कागजी लाइसेन्समा केही फरक भएन । बरु स्मार्ट लाइसेन्स छापिने कार्ड र छपाइको गुणस्तरमा बारम्बार प्रश्न उठिरह्यो । 

यस्तो अवस्थामा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंको मीनभवनस्थित यातायात विभागमा आगजनी भयो । स्मार्ट लाइसेन्स छाप्ने मेसिन पनि जल्यो । 

त्यही कारण अहिले विदेश जानेहरुले समेत स्मार्ट लाइसेन्स पाएका छैनन् । यसअघि नै ट्रायल पास भइसकेका २५ लाख जनाको स्मार्ट लाइसेन्स छाप्न बाँकी छ । त्यसैले सबै लाइसेन्स छापेर कसरी छिटो दिने भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पहल लिएका थिए । 

त्यसअनुसार सरकारले सुरक्षण मुद्रण केन्द्रलाई पहिलो चरणमा १२ लाख थान लाइसेन्स छाप्न जिम्मा दिएको छ । र, केन्द्रले लाइसेन्सको छपाइ थालेको छ । तर दिनमा ५०० वटा मात्र लाइसेन्स प्रिन्ट गर्न सक्छ । 

तर, अब छापिने लाइसेन्समा स्मार्ट अर्थात् विद्युतीय चिप्स हुने हैन । यो साधारण र कडा खालको कार्डमा प्रिन्ट भएको कागजी लाइसेन्स मात्रै हो । 

यसमा फरक भनेको एउटा क्यूआर कोड छ, जसलाई स्क्यान गरेपछि यातायात विभागको प्रणालीबाट लाइसेन्सको आधिकारिकता जाँच्न सकिन्छ । ट्राफिक प्रहरीले आफ्नो मोबइलबाट सोझै लाइसेन्स सक्कली हो कि हैन भनेर हेर्न सक्छ ।  

त्यसैले यो लाइसेन्स मेसिन नहुँदा जाँच्नै नसकिने स्मार्ट लाइसेन्सभन्दा प्रभावकारी र छपाइ लागतका हिसाबले सस्तो पनि छ । सरकारले अबको ६ महिनामा बाँकी लाइसेन्स छापेर वितरण गरिसक्ने योजना बनाएको छ । 

विदेश जानेहरुलाई भने स्मार्ट लाइसेन्स नै दिने योजना छ । त्यसका लागि नयाँ छपाइ मेसिन किन्न नयाँ टेन्डर आह्वान गर्ने तयारी छ । क्यूआर कोडसहितको लाइसेन्स अब प्रदेश सरकारहरुले पनि छपाइ गरेर वितरण थाल्न तयारी गरिररहेका छन्, यसो भयो भने लाइसेन्सको परीक्षा पास गरेको र नवीकारण गरेको एक–दुई दिनमै लाइसेन्स हात पर्न सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ