राजनीतिको अर्को घुम्तीमा रामकुमारी
२०७८ भदौ २ गते कैद भएको एउटा तस्वीर नेकपा एमाले बिद्रोहको प्रतीक नै बन्यो । धेरैले त्यो तस्वीरलाई नयाँ पुस्ताले पुरानो पुस्तालाई बाटो देखाइरहेको भन्ने अर्थमा लिए ।
त्यो फोटोमा रामकुमारी झाँक्रीले माधवकुमार नेपालको हात समातेर डोर्याएको देखिन्छ । यसरी गठन भएको एकीकृत समाजवादी पार्टी ४ वर्ष ३ महिनापछि अस्तित्वमा छैन ।
माधव नेपालसहितको ठूलो समूह नेकपा माओवादी केन्द्रसँग एकीकरणमा गयो, तर यसपटक रामकुमारीले माधवकुमार नेपाललाई साथ दिइनन् ।
रामकुमारीको राजनीतिक विगत पनि सिधा रेखामा छैन, विभिन्न घुम्तीहरु पार गर्दै अघि बढेको देखिन्छ ।
रामकुमारी झाँक्रीको जन्म २०३४ सालमा गुल्मीको तत्कालिन मयालपोखरी गाविसमा भएको हो । स्कुल पढ्दादेखि नै राजनीतिमा चासो दिने उनी एमालेको विद्यार्थी संगठनमा आवद्ध भइन् ।
२०५४ सालमा नेकपा एमाले विभाजन भएर बामदेव गौतमको नेतृत्वमा नेकपा माले बनेको थियो । रामकुमारीले त्यतिबेला एमाले छाडेर माले रोजिन् । त्यतिबेला उनी जम्मा २० वर्षकी थिइन्, राजनीतिक जीवनको सुरुसुरुमै थिइन्, पार्टीमा ठूलो हैसियत पनि थिएन ।
जसरी बामदेव गौतमहरुको पछि लागेर एमाले छाडेकी थिइन्, त्यसरी नै २०५८ सालमा बामदेवहरुसँगै रामकुमारी पनि एमालेमै फर्किइन् ।
अनि २०६२–६३ सालको जनआन्दोलनमा उनी आफ्नो विशिष्ट छवि बनाउन सफल भइन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि दलहरुभन्दा पहिला विद्यार्थीहरु सडकमा आए, गणतन्त्रको नारा लगाए ।
आन्दोलनका क्रममा २०६० साल पुस २३ गते रामकुमारीको टाउकोमा प्रहरीको लाठी बज्रियो । २०५९ साल असोज १८ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले संसदबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भनेर हटाएका थिए ।
राजाको टेकओभरबारे दलहरु के भन्ने अन्योलमा थिए, तर रामकुमारीहरु सडकमा आइसकेका थिए । त्यसै क्रममा २०६० पुस २३ गते विद्यार्थीहरुको ठूलो प्रदर्शन थियो । तर प्रदर्शन सकिने बेलामा तनाव सिर्जना भयो ।
रामकुमारीको टाउकोमा चोट लाग्यो, रगतपच्छे भएको फोटो त्यतिबेलाको आन्दोलनको प्रतीक नै बन्यो । त्यसको खत अहिले पनि रामकुमारीको टाउकोमा छ ।
२०६५ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पहिलो महिला अध्यक्ष बन्न सफल भइन् । अनि, २०७१ सालमा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिइन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक पद्धतिबाट सांसद बनिन् ।
रामकुमारी संसदीय भूमिकामा आफूलाई निर्खार्दै थिइन्, तत्कालीन पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले २०७८ पुस ५ गते हठात प्रतिनिधिसभा विघटन गरिदिए ।
प्रचण्ड, माधव नेपालहरु विरोधमा उभिए, विद्रोही स्वभावका रामकुमारी पनि अग्रपंक्तिमै उभिइन् । ओली सरकारको असंवैधानिक कदमलाई साथ दिएको भन्दै राष्ट्रपतिको विरोध मात्र गरिनन्, बडामहारानीको संज्ञा दिइन् । शितल निवास छाडेर बालकोट जान सुझाइन् ।
त्यही अभिव्यक्तिका कारण राज्यविरुद्धको कसुर लाग्यो, २०७८ माघ २९ गते घरबाटै पक्राउ परिन् । ५ घन्टा प्रहरी कार्यालयमा बयान दिएर छुटिन् । त्यसको एक दिनअघि उनी संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधवहरुले गरेको सभामा मुखमा टेप टाँसेर पुगेकी थिइन् ।
विवाद यति बढ्यो कि एमाले फुट्ने भयो । माधव नेपालले नयाँ पार्टी बनाउने भए । तर रामकुमारीका सुख दुःखका दाइ कमरेडहरु घनश्याम भुसाल, योगेश भट्टराईहरुले भने एमालेमै बस्ने निर्णय गरेका थिए ।
त्यस्तो बेला रामकुमारीले माधव नेपाललाई साथ दिइन् । निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदा २०७८ साल भदौ २ गते माधवकुमार नेपालको हात समातेर डोर्याउँदै लगिन् ।
त्यो क्षण फोटोग्राफरहरुको क्यामेरामा कैद भयो । अनि सामाजिक सञ्जालमा भाइरल पनि भयो । त्यो तस्वीर एमालेभित्रको बिद्रोहको आइकन बन्यो । कतिपयले नयाँ पुस्ताले पुरानो पुस्तालाई बाटो देखाएको भनेर पनि अर्थ लगाए ।
एकीकृत समाजवादी गठन गर्दाको रामकुमारीको उत्साह धेरै दिन भने टिक्न सकेन ।
जब माधव नेपालले पदाधिकारीहरुमा आफू निकट पुराना नेताहरुलाई खोजीखोजी राख्न थाले, रामकुमारीलाई यसरी पार्टी बन्छ त ? भन्ने लाग्न थाल्यो । खासमा रामकुमारी नयाँ पार्टीमा महासचिव जस्तो शक्तिशाली जिम्मेवारी लिन चाहन्थिन्, देशभरका युवाहरुलाई संगठित गर्न चाहन्थिन् ।
तर माधव नेपालले बेदराम भुसाललाई महासचिव बनाए । अनि १८ सदस्यीय पदाधिकारी बनाउँदा ४ सचिवमध्ये एक रामकुमारीलाई बनाए ।
त्यसबेला नै उनलाई खिस्रिस्क भइसकेको थियो । पार्टीमा धेरै सक्रिय पनि भइनन् । उनलाई अर्को झट्का त्यसबेला लाग्यो, जब केही काम गर्छु भन्ने लागेका बेला माधव नेपालले बलपूर्वक मन्त्रीबाट फिर्ता बोलाए ।
रामकुमारी, शेरबहादुर देउवा नेतृत्वको सरकारमा शहरी विकास मन्त्री भएकी थिइन् । सुरुको २/३ महिना अलमलमै बिताएकी उनले मन्त्रालयको काममा गति दिन थाल्दा नथाल्दै पार्टी नेतृत्वले अनावश्यक दबाव दिन थाल्यो ।
८ महिनामा त फिर्ता बोलाएर अर्को टोली पठायो ।
कार्यकारी पदमा बसेर केही डेलिभरी गरौंला भन्ने अपेक्षामा रहेकी उनलाई पार्टी नेतृत्वको कदमले रुवायो । मन्त्री पद छाड्ने दिन मन्त्रालयमा आफ्नो प्रगति विवरण सुनाउने क्रममा रामकुमारी धरधरी रोइन् ।
एकपछि अर्को घटनाले रामकुमारीलाई पार्टी नेतृत्वप्रति असन्तुष्ट बनाउँदै लगेको थियो । माधव नेपालहरु नेतृत्वमा हुँदासम्म पार्टी बन्दैन भन्ने निष्कर्षमा पुग्न थालेकी थिइन् । तर पार्टी छाडेकी थिइनन् । किनकी २०७९ को चुनावमा आफूहरुको गरेको विद्रोहलाई जनताले अनुमोदन गर्छन् कि गर्दैनन् हेर्न चाहन्थिन् । थोरै आशावादी पनि थिइन् ।
२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ मा उठेकी रामकुमारी झाँक्रीले हारिन् । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिटमात्र जित्यो, तर समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन पनि सकेन ।
एकीकृत समाजवादी राष्ट्रिय पार्टी पनि बन्न सकेन ।
झन् २०८१ असारमा भएको पार्टीको महाधिवेशनले त उनलाई निकै विचलित बनायो ।
महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई मात्र चुन्यो । नेताहरु मिलेर केन्द्रीय सदस्यहरुको लिस्ट बनाए । अनि, उनीहरुको मतदानबाट पदाधिकारी छान्ने काम भयो ।
उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी रामकुमारी जयन्ती राईबाट पराजित भइन् ।
एकातिर पार्टीमा एकपछि अर्को असन्तुष्टि थियो, अर्कातिर केपी शर्मा ओलीले एमाले फर्किन आग्रह गर्दै आएका थिए । त्यही कारण उनको सार्वजनिक मञ्चहरुबाटै पार्टीले प्रगति गर्न सक्दैन भन्ने प्रष्ट भएको, तर आफू समेत लागेर गठन गरेकाले छाडेर हिँडिहाल्न नसकेको अभिव्यक्ति दिने गरेकी थिइन् ।
त्यही क्रममा २०८२ जेठमा रामकुमारीले पार्टी नेतृत्वबारे निकै कठोर टिप्पणी गरिन् ।
पतन्जली जग्गा प्रकरणमा अख्तियारले तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा हालेको थियो ।
माधव नेपाल र एकीकृत समाजवादीले यसलाई राजनीतिक प्रतिशोध भन्यो । तर रामकुमारीले ‘काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन’ भन्ने टिप्पणी गरिन् । अर्लि महाधिवेशनको माग गरिन् । त्यसपछि त के चाहियो ?
एकपछि अर्को स्पष्टीकरण सोधियो । भदौ २३ मा जेनजी विद्रोह नभएको भए शायद उनलाई एकीकृत समाजवादीले कारबाहीको निर्णय गरिसक्थ्यो । किनकी रामकुमारीको विषयमा त्यही दिन निर्णय गर्ने भनिएको थियो ।
तर जेनजी विद्रोहले राजनीतिमा उथलपुथल ल्यायो । पुराना दलहरु रक्षात्मक अवस्थामा पुगे । एकीकृत समाजवादीको मूल नेतृत्वले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्यो । माओवादीसँग एकता गर्ने योजनामा घनश्याम भूसाल र रामकुमारी झाँक्रीहरु कहिल्यै सहमत थिएनन् ।
जेनजी विद्रोहपछि त उनीहरुलाई नेतृत्व मानेर हुने एकतामा सहमत हुने कुरै भएनन् । त्यसैले घनश्याम भूसाल र रामकुमारीहरु एकताको विपक्षमा उभिए । तर घनश्याम र रामकुमारीहरु पनि एकै ठाउँमा रहन सकेनन् ।
घनश्याम भुसालको पार्टी पुनर्गठनको अभियानमा रामकुमारीले साथ दिइनन् । यसरी एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेको ४ वर्ष ३ महिनापछि रामकुमारी पार्टीविहीन अवस्थामा पुगेकी छन् ।
रामकुमारी झाक्री मात्र होइन, एकीकृत समाजवादीको एउटा हिस्सा क्रसरोडमा छ । उनीहरु एमाले फर्किन चाहेका छन् । माधव नेपालहरुले माओवादीसँग एकता गर्ने निर्णय गर्न बोलाएको बैठकमा उनले प्रष्ट भनेकी थिइन्, ‘माओवादीसँग भन्दा एमालेसँगकै एकता नेचुरल हुन्छ ।’
बुधबार आयोजित पत्रकार सम्मेलनमा किसान श्रेष्ठले त मुखै फोरेर एमाले फर्किन चाहेको बताए । पूर्व सांसद श्रेष्ठका अनुसार एमाले फर्किन कुनै शर्त छैन । हाँसेर बोलिदिए पुग्छ, सम्मानजनक व्यवहार भए पुग्छ ।
तर रामकुमारीका लागि त्यति सजिलो छैन । एमाले छाड्दा उनी धेरै केन्द्रीय सदस्यहरुमध्ये एक थिइन्, एकीकृत समाजवादीमा सचिव बनिन्, उपाध्यक्षको चुनाव लडिन् ।
जति भएपनि उनलाई साथ दिने देशभरि नेता कार्यकर्ताको समूह होला । एमालेले मंसिरमा महाधिवेशन तोकिसकेको छ । त्यसैले रामकुमारीले एमालेमा आफ्नो मात्र होइन, आफूलाई साथ दिनेहरुको पनि सम्मानजनक व्यवस्थापन होस् भन्न चाहेको हुनसक्छ ।
तर उनीसँग विकल्प धेरै कम छ ।
ठेक्कामा चलखेलले पासपोर्टमा संकट
सरकारले चाहँदा रवि जेल बाहिर आउन सक्छन् ?
बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए





