नेभिगेशन
एक्सप्लेनर भिडियो

नेपाली फ्रेन्च फाइजको अमेरिका यात्रा

अब अमेरिकाले नेपाली फ्रेन्च फ्राइज खाने छ । 

अमेरिका मात्र होइन, बेलायत, अष्ट्रेलिया पनि पुग्दैछ । 

यो कुनै बहुराष्ट्रिय कम्पनीको कथा होइन । एक मिहिनेती नेपाली उद्यमीको कथा हो । 

गुल्मीमा जन्मिएका यी उद्यमीले एउटा साधारण तरकारी आलुलाई नेपालबाट निर्यात हुने थोरै वस्तुमध्ये एक बनाउन सफल भएका छन् ।

नेपालको थोरै औद्योगिक उत्पादन छन्, जो विदेशमा निर्यात हुन्छन् । कुनै बेला नेपालको गलैंचा र तयारी पोशाक अमेरिकामा बिक्री हुन्थ्यो । तर त्यसको मार्केट धेरै समय टिकेन । 

पछिल्ला वर्षहरुमा डग फुडका रुपमा छुर्पी निर्यात हुन्छ । नेपालले अमेरिकालाई बेच्ने अर्को वस्तु बनेको छ फ्रेन्च फ्राइज । 

यही कात्तिक १८ गते भैरहवा नाका भएर ४२ मेट्रिक टन फ्रेन्च फ्राइज अमेरिकातर्फ पठाइएको हो । यो करिब ३८ हजार ४८० अमेरिकी डलर बराबरको फ्रेन्च फ्राइज हो । 

धेरैका लागि आश्चर्यको विषय यो छ कि कसरी एकाएक नेपाली फ्रेन्च फ्राइज अमेरिका निर्यात हुन थाल्यो ? 

किनभने स्वच्छता र स्वादको ग्यारेन्टी नभई कुनै खाद्य उत्पादन अमेरिका पठाउन सम्भव छैन ।

त्यसमाथि फ्रेन्च फ्राइज माइनस १८ डिग्री तापक्रममा भण्डारण गर्नुपर्छ । त्यसो भएमा १८ महिनासम्म यसको उपयोग गर्न सकिन्छ । विदेश पठाउँदा पनि रेफ्रिजेरेटर सहितको कन्टेनरमा मात्रै पठाउनुपर्छ । 
यो चुनौती पार लगाएका व्यवसायी हुन् कृष्णप्रसाद पौडेल । उनले १० वर्षअघि देखेको सपना थियो, हिमालयन मुलुकबाट युरोप र अमेरिकामा फ्रेन्च फ्राइज निर्यात गर्ने । 

गुल्मीबाट बुटवल झरेका हुन् मध्यमवर्गीय परिवारका सदस्य हुन् पौडेल । उनी कामका सिलसिलामा ११ वर्ष भारतमा बसे । भारतको रोजगारीबाट दिक्क भएर २०५८ मा स्वदेश फर्किए । अनि बुटवलमा ‘क्वालिटी मिट सप खोलेर व्यवसाय थाले । 

२०६४ मा व्यवसाय विस्तार गर्दै बुटवल बदेलपोखरीमा मासु प्रशोधन उद्योग खोले । उनको त्यो उद्योगको उत्पादन अहिले देशका प्रमुख शहरमा बिक्री हुन्छ । सँगसँगै उनले २०७२–७३ सालदेखि भारतको अहमदावादस्थित हाइफन फुडको फ्रेन्च फ्राइज ल्याएर नेपालमा बिक्री गर्न थाले । उनले यो व्यवसाय सुरु गर्दा नेपालमा फ्रेन्च फ्राइज अहिलेजस्तो सर्वसुलभ भइसकेको थिएन । केएफसी र ठूला होटल रेष्टुरेन्ट बाहेक अन्यत्र पाइँदैनथ्यो । 

त्यतिबेला उनलाई एक ट्रक अर्थात् करिब १५ टन फ्रेन्च फ्राइज बेच्न ४ महिनासम्म लागेको थियो । 

तर, ०७५–७६ तिर आउँदा नेपालमा फ्रेन्च फ्राइज यति धेरै बिक्री हुन थाल्यो कि पौडेलले एक महिनामै १५ टनसम्म बेच्न थाले । 

उनका लागि यो काम सजिलै थियो । तर उनले सोचे कि यति धेरै फ्रेन्च फ्राइज नेपालमा बिक्री हुन्छ भने यहीँ उद्योग किन नखोल्ने ? विदेशबाट मात्र कति आयात गरिरहने ?

उनी आफू डिलर रहेको फ्रेन्च फ्राइज उद्योग भिजिट गर्न अहमदाबाद गए । त्यहाँको फ्याक्ट्री हेरे । उनले यो पनि थाहा पाए कि फ्रेन्च फ्राइज फ्याक्ट्री खोल्न करिब २ अर्ब रुपैयाँ लगानी चाहिने रहेछ । उनीसँग त्यति धेरै पैसा कहाँ हुनु ? 

यति ठूलो प्रोजेक्ट नेपालमा गर्न सकिँदैन कि भनेर फर्किए । 

तर, एक वर्षपछि ०७६ मा फ्रेन्च फ्राइजको डिमान्ड बढिरहेको देखेर उनलाई सानो भए पनि उद्योग त खोल्नैपर्छ भन्ने लाग्यो । 

पौडेलले टर्कीको एक फ्रेन्च फ्राइज उद्योगको मेसिन बेच्ने कम्पनीसँग इमेलमार्फत कुरा गरे । 

त्यो कम्पनीले नेपाल सानो देश रहेछ, उद्योगमा यति धेरै लगानी गरेर फ्रेन्च फ्राइज चाहिँ कहाँ बेच्छौ ? भनेर सोध्यो । 

पौडेलले नेपालमा फ्रेन्च फ्राइज खपतको डेटासहित अर्को इमेल पठाए । 

उनले नेपालभित्रै २ हजारदेखि २५ सय टन खपत गर्न सकिने र त्यो भन्दा बढी उत्पादन गरेमा निर्यात पनि गर्न सकिने जवाफ दिए । 

त्यो कम्पनीले मेसिन दिन तयार भयो । त्यसपछि योजना लिएर बैंकहरुमा धाए । धेरैले त पत्याएनन् । तत्कालीन नेपाल–बंगलादेश बैंक लगानी गर्न तयार भयो । 

१ अर्ब ९५ करोड खर्चिएर उनले रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित मैनहियामा फ्रेन्च फ्राइज उद्योग खोले । उद्योगमा जापान, जर्मनी, टर्कीका मेसिन र उपकरण जोडियो । एक घण्टामा २ टन बढी आलु प्रशोधन गर्न सक्ने गरी उद्योग खडा भयो । चार हजार पाँच सय टन क्षमताको कोल्ड स्टोर बनाए ।

उनको फस्र्ट च्वाइस फुड्स उद्योगले असार पहिलो हप्ता आफ्ना उत्पादनहरु काठमाडौंमा सार्वजनिक गरेको थियो ।

त्यसको ४ महिनामै अर्को सफलता हात पार्‍यो । उद्योगबाट उत्पादित फ्रेन्च फ्राइज अमेरिका निर्यात हुन थालेको छ । 

पौडेलले त्यो सबै प्रबन्ध गरेर पहिलो लटमा ४२ मेट्रिक टन फ्रेन्च फ्राइज अमेरिका पठाएका छन् । 

अब हरेक हप्ता नेपाली फ्रेन्च फ्राइज अमेरिका जानेछ । निकट भविष्यमै अमेरिकामा रिटेलमा बेच्ने गरी निर्यात थालिने छ ।
 
उद्योगी पौडेलका अनुसार बेलायतबाट माग आएको छ । अष्ट्रेलियामा समेत नेपाली फ्रेन्च फ्राइज निर्यात गर्न प्रक्रिया अघि बढेको छ । भारतमा त पहिलेदेखि नै निर्यात भइरहेको छ ।
००० 
यो सफलता त पौडेलको हो, तर यसबाट अरुले पनि लाभ पाएका छन् । सबभन्दा बढी लाभ स्थानीय कृषकले पाएका छन् । 

फ्रेन्च फ्राइजका लागि आलु आधारभूत र अनिवार्य उत्पादन हो । भारतबाट आलु ल्याएर फ्रेन्च फ्राइज बनाउने हो भने त्यसबाट खासै लाभ हुने अवस्था छैन । त्यसैले उद्योगले करिब ३५ हजार नेपाली किसानलाई आफ्नो उत्पादन सञ्जालमा जोडेको दाबी गरेको छ । 

आलु बालीविज्ञ श्यामप्रसाद ढकाल नेतृत्वको प्राविधिक टोली खटाएरै उद्योगले आलु किसानहरूलाई प्राविधिक सहयोग गर्छ । कम्पनीले नेदरल्याण्डसबाट ल्याएको उन्नत जातको आलुको बीउ किसानलाई वितरण गरेको छ । अहिले २६ वटा जिल्लाबाट आलु किन्छ यो उद्योगले । 

राम्रो मूल्य दिन्छ । खेतमै गएर आलु उठाउँछ र नगदी कारोबार गर्छ । यसले गर्दा आलु खेती गर्ने किसानलाई बजारका समस्या छैन । आलु नबिकेर कोल्ड स्टोरमा राख्नुपर्ने बाध्यता पनि छैन । 

उद्योगले वर्षमा करिब ३० हजार मेट्रिक टन आलु खपत गर्न सक्छ । भविष्यमा हजार मेट्रिक टन आलु प्रशोधन गर्ने लक्ष्य छ । वर्षमा ५ अर्बको फ्रेन्च फ्राइज उत्पादन गर्ने लक्ष्य छ । 

आलु उत्पादनमा नयाँ प्रविधि भित्र्याउन पनि उद्योग लागेको छ । उद्योगले कैलालीमा जग्गा भाडामा लिएर परीक्षण स्वरुप मेसिनबाटै आलु रोप्न थालेको छ । भविष्यमा आलुको उत्पादन बढाएर त्यसैअनुसार उद्योगको उत्पादन र क्षमता पनि बढाउँदै लैजाने योजना छ । 

पौडेलका अनुसार नेपालको आलुको स्वाद अलग छ, त्यसैले विदेशमा नेपाली उत्पादनको माग राम्रो छ । उद्योगी पौडेल भन्छन्, ‘कृषकलाई सबल बनाउँदै नेपालको माग पनि पूरा गरेर विदेशमा फ्रेन्च फ्राइज पठाउने उद्देश्यअनुरुप काम भइरहेको छ ।’

यसको अर्को लाभ पनि छ, भारतबाट हुने आयात घटेको छ । 

नेपालमा ठूला र स्तरीय होटलमा फ्रेन्च फ्राइजको माग उच्च छ । अझ अहिले त घरमा भन्साहरुमा पनि खोजी हुन थालेको छ । लामो समयसम्म भारतबाट आयात हुने गरेको थियो । 

यो उद्योग स्थापनापछि नेपालमा विदेशी फ्रेन्च फ्राइजको बजार खुम्चिएको छ । पौडेलको दाबी छ कि यो उद्योग खुलेपछि विदेशी फ्रेन्च फ्राइजको ७५ प्रतिशत बजार विस्थापित भइसकेको छ । 

दुई वर्षअघिसम्म नेपालमा वर्षमा करिब २५ करोड मूल्यको फ्रेन्च फ्राइज आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यो आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड रुपैयाँको आयात भएको देखिन्छ । यसरी हेर्दा आधा आयात घटेको तथ्यांकमै देखिन्छ । 

यो उद्योगले हिमालयन क्रेस्पी र हाम्रो फ्राइज ब्राण्डका दुई खालका फ्रेन्च फ्राइज उत्पादन गर्छ । 

व्यवसायी पौडेलका अनुसार उद्योगले देशभर ५ वटा आधिकारिक वितरक तोकेको छ । १२ वटा चेन रेष्टुरेन्ट, ४०० भन्दा बढी रेष्टुरेन्टमा सिधै फ्रेन्च फ्राइज पठाउने गरिएको छ । १७१ ठूला मार्ट र १५० सप्लायर्समार्फत पनि खुद्रा बजारमा बिक्री भइरहेको छ । 

फ्रेन्च फ्राइजमा मात्रै हैन, अरु परिकारमा बनाउने उत्पादन सुरु गर्ने योजना बनाएको छ कम्पनीले । उद्योगले आलु टिक्की, बर्गर प्याटी, स्माइली, ह्यास ब्राउन्सको पनि उत्पादन गर्ने र स्वदेशी र विदेशी दुबै बजारमा विक्री गर्ने योजना बनाएर काम गरिरहेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो