नेभिगेशन
एक्सप्लेनर भिडियो

जेनजीका नाममा सुदनले खोजेको सुपर पावर

जेनजी आन्दोलनपछि लाइमलाइटमा आएका एउटा पात्र, जो कहिले राष्ट्रपतिलाई थुत्छु भन्छन्, कहिले केपी ओलीविरुद्ध उजुरी लिएर प्रहरी कार्यालय पुग्छन् । 

हिजोआज भने गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । त्यो पनि एक दुई पटक होइन, श्रृङ्खलावद्ध रुपमा । फेसबुकमा गृहमन्त्रीविरुद्ध बारम्बार लेखिरहेका छन् । 

उनी हुन् सुदन गुरुङ ? किन गृहमन्त्रीमाथि श्रृङ्खलावद्ध रुपमा लागिरहेका छन् ? आखिर के चाहन्छन् उनी ? 

को हुन् सुदन गुरुङ ? 

सुदन गुरुङबारे नेपाली समाजमा अनेक धारणा बनेका छन् । 

उनी भारतीय नागरिक हुन्, उनी तिब्बती नागरिक हुन् भन्ने हल्लाहरु पनि चलेका थिए । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले उनको नागरिकता छानबिन गर्न सरकारसँग माग समेत गरेको छ । 
सुदन गुरुङलाई धेरै अन्तर्वार्तामा उनको राष्ट्रियताबारे पनि सोध्ने गरिएको छ ।

निरन्तर एउटै प्रश्न आउँदा दिक्क लागेर होला, सुदन अब नागरिकता निधारमा टाँसेर हिँड्छु, नागरिकताको प्रिन्ट भएको कपडा लगाउँछु भन्छन् ।  

उनका अनुसार उनको पुर्ख्यौली घर गोरखा हो । जन्म भने काठमाडौंको प्रसुति गृहमा भएको थियो । सानै हुँदा आमा र बाबुको डिभोर्स भयो ।

उनलाई बाजेबज्यैले हुर्काए । होस्टलमा राखेर पढाए । उनले काठमाडौं, धनकुटा, चितवन विभिन्न ठाउँमा स्कुल फेर्दै पढे । ए लेभलसम्म पढेपछि काम गर्न थाले । 

सुरुमा उनले ठमेलका क्लबमा डिजेको काम गरे, धरानमा पनि डिजेको काम गरे । आफैंले रेष्टुरेन्ट पनि सञ्चालन गरे ।

तर २०७२ सालको विनाशकारी भूकम्पले उनको जीवनलाई अर्कै बाटोमा डोर्‍यायो । 

त्यो बेला थुप्रै युवाहरु जस्तै सुदन पनि राहत र उद्दारमा खटिए । त्यसपछि उनी सामाजिक काममा निरन्तर जोडिए । हामी नेपाल नामको संस्था दर्ता गरे । त्यही संस्थामार्फत देशभरि उनको संस्थाले उद्दार र राहतको काम गर्दै आएका छन् । 

२०८० जाजरकोट भूकम्प होस् वा २०८२ असोजको बाढी होस्, उनको टिम राहत र उद्दारमा खटियो ।

धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथितीविरुद्ध घोपा बचाउ आन्दोलन भएको थियो । त्यो आन्दोलनमा सुदन गुरुङ पनि सक्रिय रुपमा लागेका थिए । 

सुदन गुरुङ जेनजी पुस्ताका होइनन्, उनी ३८ वर्षका भए । भदौ २३ गते जेनजी आन्दोलनमा पनि उनको संस्था स्वयंसेवकको रुपमा सहभागी भएको थियो । 

तर जसरी जेनजी आन्दोलनले राजनीतिमा उथलपुथल ल्यायो, त्यसरी नै सुदनले पनि नसोचेको श्रेय पाए । भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए, अनि जेनजीहरुको चाहना अनुसार नयाँ सरकार गठन हुने भयो, एकाएक आन्दोलनकारीको तर्फबाट सुदन गुरुङ नै फ्रन्टमा देखिए । 

सेनाको मुख्यालयदेखि राष्ट्रपति भवनसम्म उनी पुगे । सुशीला कार्कीलाई छिटो प्रधानमन्त्री नियुक्त नगरे राष्ट्रपतिलाई थुतेर ल्याउँछु भन्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिए ।

२७ गते राति सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिँदा हामी नेपालको टिमसहित उनी शपथ समारोहमा थिए । सपथपछि सुशीला कार्कीको खुट्टैमा ढोगे । 

त्यसपछि त जेनजीको नेता भनेकै सुदन, सुदन भनेकै जेनजीको नेता भने जस्तो भाष्य बन्यो । 

उनी कहिले घाइते तथा मृतक परिवारहरुलाई राखेर पत्रकार सम्मेलन गर्थे, भावक भएर रोइदिन्थे । कहिले घाइतेहरुलाई भेट्न अस्पताल पुग्थे, कहिले मन्त्री र प्रधानमन्त्री भेट्न सिंहदरबारमा हुन्थे । जहाँ पुग्थे, अगाडि पछाडि क्यामेराहरु हुन्थे । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै जाहेरी दिन उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौंसम्म पुगे । पुराना दलका नेताहरुलाई भ्रष्टाचार मुद्दा लगाएर चुनाव लड्न दिन्नौं भनेर अन्तर्वार्ता दिइहिड्दा समेत सरकारले सुदनमाथि प्रश्न उठाएन । 

कतिसम्म भने असोज १८ गते अविरल वर्षा र बाढी आएका बेला गृह मन्त्रालयको विपद व्यवस्थापन प्राधिकरणको बैठकमा समेत पुगे । तीन वटै सुरक्षा निकायका उच्च अधिकारीहरुलाई निर्देशन दिए । त्यसको भिडियो बाहिरिएपछि प्रश्न उठ्यो ।

तर सरकारले सुदनको बचाउ गर्‍यो । गृहमन्त्रीले आफूले बोलाएर गएको स्पष्टीकरण दिए ।

तर पछिल्लो दिनमा गृहमन्त्री ओमप्रकाश अर्याल र सुदनको सम्बन्धमा दरार आएको छ । 

सुदनले गृहमन्त्रीको राजीनामा मागेका छन् । गृह छाडेर कानुन मन्त्रालय जान भनेका छन् । 

कात्तिक २० गते त फेसबुकमा ‘अलोकप्रिय गृहमन्त्रीलाई सन्देश’ भनेर गृहमन्त्रीविरुद्ध थुप्रै प्रचार सामग्री राखे । 

गृहमन्त्रीले काम गर्न नसके पद छोड्छु भनेको र त्यो समय आएको जिकिर गरे । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, देशभरबाट हत्यारालाई कारबाही गर, भ्रष्टाचारीलाई कारबाही गर भन्ने आवाज उठ्दा जेनजीलाई कारबाही गर सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्र प्रतिको अपमान हो । 

कात्तिक २८ गते त उनले गृहमन्त्री नियुक्तिबारे पहिलेदेखि नै चित्त नबुझेको बताएका छन् । 

आफूले प्रधानमन्त्री बन्छु भनेर आएका धरानका मेयर हर्क साम्पाङलाई गृहमन्त्री बन्न सहमत गराइसकेको अवस्थामा अर्याल मन्त्री बनेको प्रतिक्रिया दिएका थिए । 

यति मात्र होइन, सुदनले पछिल्लो समय अहिलेकै अवस्थामा चुनाव हुन दिँदैनौं भन्न थालेका छन् । उनले सार्वजनिक रुपमै भन्ने गरेका छन्, जेनजी आन्दोलनका घाइते र शहीद परिवारको माग पूरा हुनुपर्‍यो अनि मात्र चुनाव हुन्छ । 

उनले भनेको घाइते र शहीद परिवारको माग परिपूरण र उपचार मात्र होइन । तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल पक्राउ गर्नुपर्छ भन्ने हो । 

सुदन मात्र होइन, थुप्रै जेनजी अभियन्ताहरु सरकारको कामप्रति पूर्ण सन्तुष्ट छैनन् । उनीहरुको माग छ कि भदौ २३ को दमनका लागि तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्नुपर्छ । 

त्यसका लागि बयान लिन थाल्नुपर्छ । अनि, अघिल्ला सरकारहरुको पालामा सार्वजनिक रुपमा चर्चा भएका भ्रष्टाचार काण्डहरुको छानबिन हुनुपर्छ भन्ने छ । 

तर गृहमन्त्री हटाउने र चुनाव नै हुन नदिने सुदनको अभिव्यक्तिमा पनि उनीहरु सहमत छैनन् । रक्षा बम लगायतका जेनजी अगुवाले त सार्वजनिक रुपमै प्रतिवाद गरेका छन् । 

त्यसो भए किन सुदनले गृहमन्त्री हटाउने र चुनाव रोक्ने कुरा गर्दैछन् त ? 

जेनजी अभियन्ताहरुका अनुसार एउटा समयसम्म सुदनले आवश्यकता भन्दा बढी स्पेश दिइयो । प्रधानमन्त्री, मन्त्रीहरु, सुरक्षा अंग, मिडिया सबै मिलेर सुदनलाई हुँदै नभएको जेनजीको सुप्रिमो बनाए । 

त्यसले सुदनमा सुपर पावरको भ्रम पलाएको हुनसक्छ । उनलाई लागेको हुनसक्छ, प्रधानमन्त्री, मन्त्रीहरु मैले नै छानेको हो । मैले चाहेँ भने उनीहरुलाई हटाउन पनि सक्छु ।

अनि, पछिल्लो दिनमा गृहमन्त्री अर्याल र सुदनको सम्बन्धमा पनि दरार आएको छ ।

अधिवक्ता अर्याल गृहमन्त्री भइपछि गुरुङ नियमितजसो गृह मन्त्रालय गइरहन्थे । उनले गृह मन्त्रालयको कार्यक्षेत्रका काममा निरन्तर हस्तक्षेप गरिरहेका थिए । कतिसम्म भने प्रहरीको सरुवा बढुवामा समेत चासो राख्ने गरेको आरोप छ । 

तर पछिल्लो समय गृहमन्त्री अर्यालले सुदनलाई इन्टरटेन गर्न छाडे । त्यसपछि मन्त्रालयमा उनले हस्तक्षेप गर्न पाएनन् । 

अनि, गृह मन्त्रालयको कामकारबाहीलाई लिएर घाइते र शहीद परिवारको असन्तुष्टि पनि छ । 

भदौ २४ मा भएको तोडफोड र आगजनीमा संलग्न भएकाको आरोपमा थुप्रै मानिस पक्राउ परेका छन् । तर भदौ २३ को दमनमा संलग्न कसैमाथि कारबाही भएको छैन ।  

काठमाडौं महानगरका मेयर बालेन शाहले समेत भदौ २३ का दमनकारीलाई किन पक्राउ नगरेको भनेर सोध्ने गरेका प्रधानमन्त्री स्वयंले स्वीकार गरेकी छन् । त्यही बेला सुदन गुरुङले पनि आफ्नो असन्तुष्टि पोख्न गृहमन्त्रीको राजीनामा मागेका दुबैलाई नजिकबाट चिन्नेहरु बताउँछन् । 

उनीसँग संगत गरेका जेनजी अभियन्ताहरु भन्छन्, सुदन गुरुङको शैली त्यस्तै भए पनि उनको इन्टेन्सन खराब छैन । जेनजी आन्दोलनमा तत्कालिन सरकारले चरम दमन गरेकाले त्यसमा संलग्नलाई कारबाही हुनुपर्छ भन्ने सबै आन्दोलनकारीको साझा मत हो । 

आन्दोलनपछि बनेको सरकारले यो माग पूरा गर्नुपर्छ भन्नु पनि बेठीक होइन । आखिर सुदनले पनि भनेको त्यही हो । जेनजी आन्दोलनपछि सुदन गुरुङले पदको लोभ गरेनन्, आफू सरकारमा गएनन् । त्यसैले सुदन गुरुङलाई नकारात्मक रुपमा हेर्न नहुने जेनजी अगुवाहरुकै मत छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो