कुलमान र बालेन सँगै होलान् ?
कुलमान घिसिङ चुनावी सरकारका भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा गरी तीन वटा मन्त्रालयका मन्त्री ।
बालेन शाह संघीय राजधानी समेत रहेको काठमाडौंको मेयर । कुलमानका तीन वटै मन्त्रालय र मातहतका निकायसँग काठमाडौं महानगरपालिका ठोक्किरहनुपर्छ ।
सडक विभागले खाल्डा नपुरिँदिदा महानगरलाई टाउको दुख्छ । काठमाडौंका सडक उज्यालो बनाउन विद्युत प्राधिकरण र महानगर मिलेर काम गरिरहेका छन् । ६० प्रतिशत लागत महानगर र ४० प्रतिशत प्राधिरकणले ब्यहोर्ने गरी बत्ती जोड्ने काम चलिरहेकै छ ।
अव्यवस्थित बसोबासीको व्यवस्थापन, बञ्चरेडाँडामा फोहोर व्यवस्थापन जस्ता मुद्दामा शहरी विकास मन्त्रालय मातहतका निकाय र काठमाडौं महानगरको सहकार्य चाहिन्छ । बञ्चरेडाँडाका प्रभावित क्षेत्रका बासिन्दाले पछिल्लो महिनामा २ पटक फोहोर रोक्दा कुलमान आफ्नै सक्रिय भएर गाँठो फुकाएका छन् ।
त्यसैले संघीय मन्त्री कुलमान र काठमाडौंको मेयर बालेनको भेट नियमित र स्वभाविक पनि हो ।
तर, यो भेट यतिमा सीमित छैन । अनि, कुलमानले जुन समयमा त्यो भेटको तस्वीर सार्वजनिक गरे र, जे क्याप्सन लेखे, त्यसमा प्रष्ट राजनीतिक सन्देश लुकेको छ ।
यसबारे सबैले थाहा पाउनुपर्ने केही कुराहरु छन् ।
पहिलो : कुलमान र बालेनको भेट आइतबार भएको होइन । स्रोतका अनुसार कुलमानले बालेनलाई शनिबार भेटेका थिए । बालेन निकट स्रोतका अनुसार भेटवार्ता मूलतः राजनीतिक विषयमै केन्द्रित थियो । कुलमानले बालेनसँग वैकल्पिक शक्तिहरुबीच एकताका लागि गरेको प्रयास र देखिएका चुनौतीबारे बताएका थिए ।
तर शनिबार दुबै पक्षले भेटलाई गोप्य राखे ।
आइतबार काठमाडौंमा रास्वपा र विवेकशील साझा पार्टीको एकता घोषणा सभा भयो । रञ्जु दर्शना सहितका नेताहरुलाई पार्टीमा समाहित गराउन पाउँदा रास्वपा नेता कार्यकर्ता हौसिएका छन् । जुन स्वभाविक पनि हो ।
तर घोषणा सभा सकिएको केही घन्टमै कुलमानले बालेनसँग भएको भेटको फोटो सार्वजनिक गरिदिए ।
स्रोतका अनुसार यो पोष्ट गर्दा कुलमान विराटनगरमा थिए । उनी आइतबार दिनभर निर्माणाधीन कोशी प्रादेशिक अस्पतालका साथै विभिन्न आयोजनाको निरीक्षण अनुगमनमा खटिएका थिए । साँझपख त्यहीबाट मेयर बालेनसँग अघिल्लो दिन भएको भेटको फोटो पोष्ट गर्दै लेखे, देश बनाउने अभियानमा सँगै छौं ।
कुलमानको सन्देश
पछिल्लो दिनमा वैकल्पिक राजनीतिक शक्तिहरुलाई एक ठाउँमा ल्याउने प्रयास तिव्र चलिरहेको छ । खासगरी रवि लामिछाने नेतृत्वको रास्वपा, काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङलाई एकै ठाउँमा ल्याउन थुप्रै चरणमा वार्ता भए । बोलनले आफूले पार्टी नखोल्ने, सबै वैकल्पिक शक्ति मिले समर्थन गर्ने सन्देश दिएपछि रास्वपा र कुलमान टिमबीच अनेक प्रस्ताव आदान प्रदान भयो ।
तर कुनै सहमति हुन सकेन । त्यसपछि कुलमानले विवेकशील साझा पार्टीका नेताहरुसँग पनि सम्वाद गरे र, अनुप उपाध्यायको नेतृत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराए ।
नेताहरुका अनुसार त्यसपछि पनि रास्वपा र उज्यालो नेपालका नेताहरुबीच सम्वाद चलिरहेको छ । तर एकतापछि बन्ने पार्टी संरचना र नेतृत्वबारे कुलमानका खास अडानहरु छन् ।
कुलमानले सुरुमा पार्टी सभापति दाबी गरेका थिए, तर रास्वपा नेताहरुले सभापति आयात गर्दैनौं भनिदिए । त्यसपछि रवि र कुलमान दुबै संयोजक बन्ने प्रस्ताव आयो, त्यो पनि रास्वपाले मानेन । भावी प्रधानमन्त्रीका रुपमा कुलमानलाई अगाडि सार्ने गरी पार्टी एकता गर्ने विकल्पमा भएको छलफल पनि टुंगोमा पुगेन ।
रास्वपा २०७९ कै चुनावबाट प्रतिनिधिसभामा २१ सिटसहित चौथो दल भएको शक्ति हो । उसको तलसम्म नै आफ्नो संगठन छ । तर कुलमानको दल गठन प्रक्रियामै छ । त्यसैले रास्वपाले कुलमानहरुलाई पार्टीभित्र ठूलो स्पेस दिन चोहको छैन ।
जबकी कुलमान, नेतृत्वमा समान हिस्सेदारी मात्र होइन, पार्टीको नाममा समेत उज्यालो जोड्न चाहन्छन् ।
पार्टी एकता नभए कम्तीमा एउटै चुनाव चिन्हमा चुनाव लड्ने वातावरण बनाउन दौडधुपमा छन् । त्यसमा पनि उनीहरुको आ–आफनै अडानले गर्दा गाँठो फुकेको छैन ।
अझ विवेकशील साझा पार्टीको विलय पछाडि रास्वपा अझ कठोर हुने संकेत देखिएको छ । जसरी विवेकशील साझा निर्शत रास्वपामा मिसियो, त्यसैगरी कुलमानको उज्यालो नेपाल पनि एकतामा आओस् भन्ने रास्वपाको चाहाना छ ।
तर, कुलमान भने सम्मानजनक एकताको पक्षमा छन् । यदि रास्वपा तयार नभए बालेन र हर्कहरुलाई समेटेर अर्को बलियो वैकिल्पक शक्ति बनाउन सक्ने उनको सन्देश छ ।
रास्वपासँग सम्वादमा रहेको उज्यालो नेपालका पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले त चेतावनीकै भाषामा भनेका छन्, ‘नेगोसियसन स्किल प्रदर्शन नगरेको भए हुने । हामी समय छँदै मिलेनौं भने म्याजिक नम्बर लिएर आफूलाई विक्रीमा राख्दैमा ५ वर्ष जाला । नागरिक प्रतिको जिम्मेवारी पूरा गर्न सकिँदैन त प्रियवर ।’
उज्यालो नेपालका नेताहरुका अनुसार बालेन टिमका सदस्यहरुसँग कुलमान नियमित सम्वादमा छन् । धरान उपमहारपालिकाका मेयर हर्क सम्पाङसँग समेत सम्वाद गर्ने कुलमानको तयारी छ । हुन त साम्पाङले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरिसके । उनले पूर्वी नेपालका जिल्लाहरुमा चुनावी सभा गर्न थालिसके । तर कुलमान, धरानमै पुगेर उनलाई भेट्ने र राजनीतिक सम्वाद गर्ने तयारीमा छन् ।
कुलमान र उनको पार्टीका नेताहरु जेनजी अगुवा सुधन गुरुङहरुसँग पनि सम्वादमा नै छन् । रास्वपा छाडेकी सुमना श्रेष्ठ समेत वैकल्पिक शक्ति बनाउने अभियानमै छिन् । त्यसैले कुलमान र सुमनाहरुबीच सहकार्यको सम्भावना पनि जीवितै छ ।
कुलमानको प्राथमिकता रास्वपा सहित वैकल्पिक शक्तिहरु एक ठाउँमा ल्याउने नै हो । त्यसका लागि उनी रास्वपा नेताहरुमाथि दबाव बढाउन चाहन्छन् ।
ताकि १७ गते उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा अगाडि नै रास्वपासँग ब्रेक थ्रू होस् । सबै वैकल्पिक शक्तिहरु एक ठाउँमा आउने र आसन्न चुनावमा बहुमत ल्याउन सकियोस् ।
तर रास्वपाले विवेकशील साझाको जस्तो विलय खोज्यो भने अरु वैकल्पिक शक्तिलाई एकत्रित गरेर अघि बढ्ने उनको प्रष्ट रोडम्याप छ । र, काठमाडौंका मेयर बालेनको साथ र समर्थन जुटाएर बलियो शक्ति बनाउन सकिने कुलमानको विश्वास छ ।
ओलीलाई आफैंले अध्यक्ष बनाए, अब हटाउन चाहन्छन्
सरुवाले शिक्षकलाई रुवायो
राजनीतिक भ्रष्टाचारमा अख्तियारको आँखा
नेपालको एक असफल परियोजना, कायापलटको सपना अधुरै
अनियमितताले उठ्न नसकेको महानगरको भवन



-1765351207.jpg)


